राष्ट्रियसभा गठनमा कानुनविद्बीच फरकमत

काठमाडौँ । राष्ट्रियसभा गठन नगरी सरकार गठन गर्न सकिने/नसकिनेबीचमा कानुनविद्बीच फरकमत देखिएको छ ।

रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा नेपाल बार एसोसियसन अध्यक्ष शेरबहादुर केसीले राष्ट्रियसभा गठन नगरी नयाँ सरकार गठन हुन नसक्ने बताए ।

अध्यक्ष केसीले सरकारले राष्ट्रपतिसमक्ष पेस अध्यादेशलाई जतिसक्दो छिटो स्वीकृत गर्नुको विकल्प नभएको र राष्ट्रपतिले अध्यादेश रोकिराख्दा सरकार गठन हुन नसक्ने जिकिर गरे ।

संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रियसभा गठन नभए पनि सरकार गठन हुन सक्ने तर त्यसका लागि प्रतिनिधिसभा आवश्यक पर्ने बताए । डा. आचार्यले एकल संक्रमणीय निर्वाचन प्रणालीको पक्षमा आफू भएको उल्लेख गर्दै वर्तमान धरातलीय आवश्यकता भएको हुँदा मत खेर जान दिन नहुने धारणा राखे ।

संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले राष्ट्रियसभा गठन नगरी सरकार गठन गर्न नसकिने जिकिर गरे । डा. ज्ञवालीले राष्ट्रियसभा नभएको अवस्थामा बरु प्रधानमन्त्री बनाए पनि संघीय संसद्को समावेशी मन्त्रिपरिषद् गठन गर्न नसकिने स्पष्ट पारे ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएर ताजा जनादेश आइसकेको छ । तर, दलबीच बहुमतीय वा एकल संक्रमणीय निर्वाचन प्रणाली अपनाउने विषयमा सहमति नहुँदा कानुन बन्न सकेको छैन । जसले गर्दा सरकार निर्माण तथा संघीय संसद्को गठन प्रक्रियामा ढिलाइ भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार