जन्मजात काँग्रेसले गठबन्धनमा मतदान गर्दा काठमाडौंमा चर्चा

दीपेन्द्र राई

मंसिर ९ ।
सिनामंगल ओह्रालो पुग्दा जाम सुरु भयो ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि घर जानेको सेवाका लागि सिनामंगल ओह्रालोदेखि कोटेश्वरसम्म बायाँपट्टि लामबद्ध राखिएका बसले छोटो दूरीका सवारीसाधन गन्तव्यतर्फ जान अवरुद्ध गरेको थियो । कोटेश्वरबाट चाबहिल र चाबहिलबाट कोटेश्वरतर्फ जाने बस सहजै अघि बढ्न सकेका थिएनन् ।
यात्रु सबै हतारिएका थिए ।
बिहानको ५ः३० बजे कोटेश्वर पुग्नुपर्ने यात्रु ६ बजेसम्म सिनामंगल ओह्रालोमै थिए ।
बस छुट्न लाग्यो चाँडो गरौं भन्दै सबैका आफन्तले टेलिफोन गरेका गर्यै थिए । बल्लतल्ल बाटो खुल्यो ।
पंक्तिकार कोटेश्वर पुग्दा सबै भेला भइसकेका थिए । चालकसहित १० जना क्षमताको सुमो अघि बढ्यो । निर्वाचनको अघिल्लो दिन (मंसिर ९ गते) परेकाले यात्रु सबै मतदान गर्न घर जाँदै थिए । सुमोका चालक र यात्रु सबै हलेसी–तुवाचुङ नगरपालिकाकै परेछन् । यात्राभरि राजनीतिक गफगाफ भए । विश्लेषण गरिए । दुईतिहाइ नभए पनि बहुमत त ल्याउनैपर्ने हो भन्नेसम्मको अड्कलबाजी काटिए । प्रायः एउटै दलसम्बद्ध भएकाले होमा हो मिलाए ।
एउटै नगरपालिकाका भए पनि गन्तव्यमा पुग्ने यात्रु बीचबीचमा ओर्लंदै गए । कहाँ आइपुग्नुभयो भन्दै आफन्त, शुभचिन्तकले बाक्लै फोन गर्थे । मतदान गर्न नरेन्द्र राई, भोगीराज चाम्लिङ, सइन्द्र राई, कैलाश राई, राजुविक्रम चाम्लिङ, नवीन राई, मविन्द्र राईहरू केही दिनअघि नै घर पुगिसकेका थिए । हामी (जनकराज राई, भूपेन्द्रकुमार राई, दीपेन्द्र राई र तिलक चाम्लिङ) हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम छापडाँडा ओल्र्यौं । साँझ पर्दै गएको थियो । छापडाँडामा परिचित अनुहार भेटिए, देखिए । मौन अवधि सुरु भइसकेकाले होला त्यति चहलपहल थिएन ।
घर पुगियो । खानपिनपछि सामान्य कुराकानी चल्यो । झन्डै १२ बजे ओछ्यान पसें । मौन अवधि भए पनि विभिन्न दलसम्बद्ध टोली ओल्लो, पल्लो, तल्लो र माथिल्लो गाउँ पसेको प्रस्टै थाहा पाइन्थ्यो । निर्वाचनको दुई दिनअघि अर्को पार्टी प्रवेश गर्नेलाई पहिलेकैमा फर्काउँदाको चर्चा छिमेकी वडासम्म चलेको थियो । जुन अस्वाभाविक होइन ।
मंसिर १० ।

हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिमको मतदानकेन्द्र दुर्छिम उच्चमाध्यमिक विद्यालय छापडाँडा परेको थियो । भीडभाड नभए पनि कतिपयले बिहान ७ः३० बजे नै मतदान गरेका थिए । घरायसी काम भएका र नजिककाले त्यसरी मतदान गर्न सजिलो भयो । तर, दुईदेखि तीन घन्टा पैदल हिँडेर मतदान गर्न जाँगर नचलाउने उल्लेख्य थिए । त्यसैले मतदाताको सहभागिता उल्लेख्य देखिएन । झन्डै २,२०० मतदाता रहेको वडामा १,२३७ मत खस्नु भनेको कमै मानिन्छ ।
मतदानकेन्द्रमा ८३ वर्षीया शुद्धमाया राई छोरीसँग भेटिइन् । झन्डै एक घन्टा पैदल हिँडेर राईले मतदान गरेकी थिइन् । उनीजत्तिका पाका (वृद्धवृद्धा) मतदाता कमै देखिए ।
एमाले र माओवादी केन्द्रसम्बद्ध मतदाताले काँग्रेस र जन्मजात काँग्रेसले गठबन्धनलाई मतदान गरेकोमा चर्चा राम्रै चल्यो । हलेसी–तुवाचुङ नगरपालिका–५ भन्ज्याङनिवासी चयन्द्र राईले गठबन्धनलाई मतदान गरेका थिए । राईसँग २५ मत थियो । हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम चुमाखुनिवासी कैलाश राईले सुनाए, ‘मसँग २५ मत छ, कसलाई मतदान गरौं भन्दै चयन्द्र काकाले सोध्नुभयो । मैले गठबन्धनलाई मतदान गर्न अनुरोध गरें । उहाँले स्वीकार्नुभयो । उहाँले त्यसरी स्वीकार्नु भनेको युवापुस्ताले भनेको पनि मान्नुपर्छ है भन्ने मान्यता हो ।’
काका भतिजबीच त्यस्तो समझदारी भए पनि गोप्य मतदान हुने भएकाले विश्वास हुने कुरै भएन । त्यसो भएपछि काकाले भतिजलाई नै मतदान गर्न मतदाता परिचयत्र र मतपेटिका दिए । तर, सम्बन्धित मतदाताका घरभित्रकाले मात्रै मतदान गर्न पाउने सर्वदलीय सहमति भएकाले भतिजलाई मतदान गर्न अनुमति दिँदादिँदै पनि काका चयन्द्र राई आफैंले मतदान गरेका थिए ।
गर्नेले विश्वास नगर्लान् भनेर कतिपय मतदाताले आफूले मतदान गरेको मतपेटिकाको फोटोसमेत खिच्न भ्याए । मतदाताले त्यसो गरेको सुरक्षाकर्मीले देखेनन् वा वास्ता गरेनन् । विश्वास नगर्नु अस्वाभाविक होइन । गठबन्धनअन्तर्गत एमालेले माओवादी र माओवादीले एमाले उम्मेदवारलाई मतदान गर्न गाह्रै हुन्छ भन्ने हल्ला चलाइएको थियो । त्यस्तो आरोपबाट बच्न पनि कतिपय मतदाताले त्यो ‘टुल्स’ प्रयोग गरेको हुनुपर्छ ।
खोटाङको प्रदेश नम्बर १ अन्तर्गत पर्ने हलेसी–तुवाचुङ नगरपालिकामा शान्तिपूर्ण वातावरणमा मतदान चलिरहेको थियो । मतदान चलिरहँदा काँग्रेसतर्फ प्रदेशसभा सदस्य उम्मेदवार सुवासकुमार पोखरेल दुर्छिम आइपुगेका थिए । हलेसी–तुवाचुङ नगरपालिका मेयर इबन राईसमेत देखिए । पोखरेल र राईबाहेक अन्य देखापरेनन् ।
सुरुदेखि नै काठमाडौं र ललितपुरमा मतदान गर्दै आएका समाजसेवी जनकराज राई समेत यसपटक मतदान गर्न दुर्छिम, खोटाङ पुगेका थिए । राईको त्यो जाँगरले सालनाल गाडिएको माटोप्रतिको माया दर्शाउँछ ।
मतदान केन्द्रको पश्चिमपट्टि मतदातालगायत विभिन्न राजनीतिक दलसम्बद्ध व्यक्तिको झुन्ड देखिन्थे । सबै आआफ्नै ध्याउन्नमा थिए । एउटा समूहमा पत्रकार सइन्द्र राई भेटिए । पत्रकार राईले आफूले सुनेको ‘जोक्स’ सुनाए । मतदाताले पहिलोपटक मतपत्र हेर्दै यो रूख हो कि होइन भनेर नियालेर हेरे । सोही मतदाताले यो रूख हो कि होइन भनेर दोस्रोपटक पुनः मतपत्र हेरे । हो भन्ने निष्कर्ष निकालेपछि बायाँहातको बूढीऔंलाले रूख चिह्न छोपेर सूर्यमा मतदान गरेछन् ।
‘जोक्स’ सुनेपछि समूहमा रहेका सबै हाँसे । हाँसो रोकिएको थिएन उनले पुनः अर्को ‘जोक्स’ सुनाए । प्रधानमन्त्री शेरबहादुर देउवालाई कटाक्ष गर्दै भाषण गर्दा कसैले गरेको आलोचना उनले सुनाए, ‘देउवाको टाउकोमा गोबरसम्म भएको भए कमसेकम फूल त उम्रन्थ्यो । तर, गोबर पनि रहेनछ ।’ समूहका सबै फेरि मरीमरी हाँसे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार