सिन्धुलीगढी दक्षिण एसियाकै पहिलो विजयी युद्ध

सञ्जयकुमार दाहाल

‘सिन्धुलीगढी घुमेर हेर्दा सुन्तलीमई
कति न राम्रो दरबार
मार्यो नि मायाले मार्यो’

स्वर्गीय कृष्णविक्रम थापाको यो सुरिलो लोकगीतले बढी चर्चा कमाएको सिन्धुली जिल्ला वास्तवमै रमाइलो र पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण सम्भावना बोेकेको जिल्ला हो । ऐतिहासिक तथा धार्मिक पर्यटनको प्रशस्त सम्भावना बोकेको यस जिल्लाको सिन्धुलीगढीको ऐतिहासिकतालाई व्यापक प्रचार प्रसार र उचित व्यवस्थापन गर्न सके जिल्लामा विकास द्रुत गतिमा अगाडि बढ्ने कुरामा दुईमत रहन्न ।
बहुभाषा, धर्म र संस्कृतिको अपार विविधता रहेको यस जिल्लामा बाहुन, क्षेत्री, तामाङ, नेवार आदिको बाहुल्य रहे पनि आदिवासी जनजातिका रूपमा सूचीकृत सुनुवार, गुरुङ, मगर, दनुवार, माझी, लोपोन्मुख हायू, थामीलगायतको बसोवास रहेको छ । त्यस्तै दमाई, कामी, सार्की, मुसहरलगायतका दलितको मिश्रित बसोवास रहेको यस जिल्लामा मधेसी समुदायको पनि उपस्थिति छ । उनीहरूको साँस्कृतिक विविधताले सिन्धुली जिल्लालाई नारीको गहनाका रूपमा परिचित गरिरहेको छ ।
भौगोलिक विविधता रहेको यस जिल्लामा सबैखाले मौसमको अनुभूति गर्न पाउनु अर्काे महत्वपूर्ण आधार रहेको छ, पर्यटन विकासका लागि । तराई, मधेस, चुरे, भावर, पहाड अनि महाभारत क्षेत्र एउटै जिल्लामा रहनु अर्को विशेषता बोकेको यस जिल्लाबाट देखिने रमणीय हिमशृंखला र महाभारतका लालीगुँरासले जोकोहीको मन लोभ्याउन समय लगाउँदैन ।
ऐतिहासिक र धार्मिक पर्यटनका साथसाथै यस जिल्लाभित्र रहेका अन्य पर्यटकीय क्षेत्रहरू जसको सामान्य मात्र पनि व्यवस्थापन गर्न सके यसले सिन्धुली जिल्लालाई पर्यटकीय नगरीका रूपमा परिचित गराउन धेरै संघर्ष गरिरहनुपर्दैन ।
पर्यटनले मानिसलाई आनन्द र मनोरञ्जनमात्र होइन, नयाँ कुराको अनुभव र जानकारीसमेत गराउँछ । त्यसैले पर्यटन मान्छेका लागि आनन्द यात्रा हो, जसको कहिल्यै अन्त्य हुँदैन । एक्काइसौं शताब्दीको मानिसका लागि त यो विकल्परहित बाँच्ने र रमाउने आधार बन्दै गएको छ । धूवाँरहित उद्योगका रूपमा फस्टाउँदै आएको पर्यटन उद्योग हाम्रोजस्तो विकासोन्मुख देशहरूका लागि मुख्य आर्थिक स्रोत बन्न सक्छ तर गुणस्तरीय रूपमा यसलाई अगाडि बढाउन नसके यसको कुनै औचित्य पनि रहन्न ।
अहिले विकसित देशहरूले पर्यटनलाई आयस्रोत र रोजगारीको नमुनाका लागि प्रयोग गर्न थालेका छन् । त्यसैले अहिले पर्यावरणीय पर्यटन, दिगो पर्यटन, गुणस्तरीय पर्यटन, लक्ष्य निर्धारित पर्यटनलगायतका अवधारणा प्रयोगमा आइरहेका छन् ।
नेपालमा पनि प्रशस्त सम्भावना बोकेको पर्यटन क्षेत्रका लागि पर्यटक, पर्यटन व्यवसायी, सर्वसाधारण र सरकार सवै चेतनशील र सचेत हुनुपर्ने देखिन्छ । ऐतिहासिक पर्यटन, साँस्कृतिक पर्यटन, धार्मिक पर्यटन, प्राकृतिक सम्पदाको संरक्षण गर्दै पर्यावरणीय पर्यटनलगायतका अवधारणलाई आत्मसात् गर्दै यसको दरिलो व्यवस्थापन पक्षलाई अघि बढाउन सके सिन्धुली जिल्लाजस्तो रमणीय क्षेत्रलाई पर्यटकीय केन्द्रबिन्दु बनाउन सकिन्छ ।

 

हरेक क्षेत्र, भूगोल, वर्ण, धर्म र संस्कृतिमा विविधता रहेको सिन्धुली जिल्लामा पर्यटनका लागि आवश्यक पर्ने तत्वहरू राम्रो हावापानी, आकर्षक दृश्य, ऐतिहासिक तथा साँस्कृतिक पक्ष, यातायातको व्यवस्था, रमाइलो ठाउँ, सर्वसुविधा र अतिथि सत्कारको कमी छैन । यद्यपि, त्यसको समुचित व्यवस्थापनमा भने कमजोरी नै छ तथापि यहाँका बहुउपयोगिता र बहुआयामिकताले गर्दा सम्भावना अत्यधिक छ ।
अझ यसभन्दा पनि ऐतिहासिक महत्व बोकेको सिन्धुलीको विकासको मेरुदण्डका रूपमा रहेको ऐतिहासिक सिन्धुलीगढी जो नेपालसँग जोडिएको एउटा गौरवशाली धरोहर हो । जसले आज हामीलाई स्वाभिमानी नेपाली भनी शिर ठाडो बनाउने अवसर प्रदान गरेको छ । सिन्धुलीगढी युद्ध जुन नेपालको राष्ट्रियता र सार्वभौमसँग गाँसिएको छ । यसको गौरवशालीगाथाले हामी नेपालीलाई नतमस्तक बनाउँछ ।
यसको ऐतिहासिक महत्वलाई शासकवर्गले कहिल्यै पनि महत्व नदिएका कारण सिन्धुलीगढी यो कालखण्डसम्म पनि ओझेलमा परिरह्यो । यसको जतिमात्रामा प्रवद्र्धन हुनुपर्ने थियो भएन । सायद जिल्लामा दरिलो राष्ट्रिय नेता नभएर हुन सक्छ । यसो भनिरहँदा बीपी, गिरिजाजस्ता नेता यसै जिल्लाका उत्पादन हुन् तर उनीहरूले पनि यसको महत्वलाई खासै ध्यान दिएनन् भन्दा फरक नपर्ला । पछिका राष्ट्रियस्तरमा नाम कमाएका नेताहरू पनि यस जिल्लाका प्रशस्त छन् भने कर्मचारीस्तरमा पनि माथिल्लो ओहोदामा पुग्न सफल सिन्धुलीका थुप्रै हस्ती छन् । त्यस्तै विभिन्न सामाजिक क्षेत्रमा अगुवाका भूमिका खेल्नेहरूको कमी छैन तर उनीहरूमा आफ्नो मातृभूमिप्रतिको अत्यधिक मायाले गर्दा पनि हुन सक्छ सिन्धुलीगढी ओझेलमा परिरहेको छ ।
सिन्धुलीगढी युद्धको समयमा हाम्रा वीर पुर्खाहरूको अदम्य साहस र वीरता सिन्धुलीगढी युद्धले प्रस्ट्याउँछ । संवत् १८२४ कात्तिक २४ गते इस्ट इन्डिया कम्पनीका कप्तान किनलकको नेतृत्वमा आएको २ हजार ४ सय अंग्रेजलाई राजा पृथ्वीनारायण शाह फौजका वंशु गुरुङको नेतृत्वको नेपाली फौज सिन्धुलीगढीबाट पराजित गरी भगाएको थियो भने त्यसमा झन्डै १ हजार ६ सय अंग्रेज सेनाहरू हताहत भएका थिए । अंग्रेजविरुद्धको यो जित दक्षिण एसियाकै इतिहासमा पहिलो विजय थियो भने अंग्रेजहरूको पहिलो पराजय थियो । विश्वमा आफ्ना साम्राज्य फैलाउँदै हिँडेका अंग्रेजलाई पहिलोपटक युद्धमा ‘ब्रेक’ लगाएको थियो सिन्धुलीगढीको युद्धले । यसकारण पनि सिन्धुलीगढीको युद्ध महत्वपूर्ण छ । युद्धको समयमा नेपालीले प्रयोग गरेको स्थानीय हतियारको प्रसंग झनै रोचक छ । उनीहरूले बारुला बिच्काएर र ढुंगा खसालेर युद्धको अनौठो सीप प्रयोग गरेका थिए । त्यसमाथि जंगलमा भएको सिस्नुले पोलेर अंग्रेजलाई कम सास्ती भएको थिएन । धरैजसो बारुलाले टोकेर भीरबाट खसी ज्यान गुमाएको भन्ने इतिहासमा उल्लेख छ । यदि तत्कालीन अवस्थामा अंग्रेजले गढी पार गरेको भए सायद आज हामी स्वाभिमानी नेपाली हुने थिएनौ । इतिहास ताजा बनाउने उद्देश्यले केही समयअघि देखि नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले कात्तिक २४ गतेलाई विजयोत्सवका रूपमा मनाउने घोषणा गरी उक्त दिन गढी क्षेत्रमा विविध कार्यक्रम गर्ने निर्णय गरेको छ । उनीहरूको नेतृत्वमा केही समयअघि गरिएको कार्यक्रममा सर्वपक्षीय संयन्त्र र सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । सिन्धुलीवासीले कात्तिक २४ गतेलाई विजयोत्सवका रूपमा स्थानीयस्तरमा भए पनि सरकारी बिदा दिनुपर्ने माग सरकारसँग राखेका छन् ।
धेरै कालखण्डमा सिन्धुलीगढीमा भएका घटनाक्रमबारे सामान्य जानकारी दिनु यहाँ सान्र्दभिक देखिन्छ । सिन्धुलीगढीले इतिहासकालदेखि नै धेरै महत्वपूर्ण स्थानको भूमिका निर्वाह गर्दै आइरहेको छ । यो स्थान हिन्दु धर्मावलम्बीको पवित्र स्थल जनकपुर तथा भारतीय तीर्थस्थलहरू सीतामडी, वनारस, अयोध्याबाट काठमाडांै र तिब्बतसम्म आउने जाने मार्गअन्तर्गत तराईका समथर भूमि पार गरिसकेपछि कठिन महाभारत पर्वतको चुलीमा पर्ने हुँदा सामारिक तथा व्यापारिक रूपले महत्वपूर्ण भएको हो । धर्मपालका सन्तान सुधन्वा नेपालका राजा हुँदा उनी शिरध्वज जनक पुत्री सीताको स्वयम्वर हेर्न जनकपुर गएका बखत शिरध्वज जनकका भाइ कुशध्वज जनकसँग उनको खटपट भयो र सुधन्वा स्वयम्वर छोडी फर्किए । भिक्षुले स्वयम्वर त्यागेको देखी शिरध्वज जनकले भिक्षुलाई जसरी भए पनि खुसी बनाएर स्वयम्वरमा ल्याऊ भनी आदेश दिएपछि उनी सुधन्वा पछि–पछि लागे तर सुधन्वा फर्किएनन् । करिब दुई दिन हिँडिसक्दा पनि सुधन्वा नफर्किएपछि दाजुको आदेश पालना गर्न नसकेको आत्मबोधले हतास भएर कुशध्वज जनकले रोसी र कोसी नदीको संगममा देहत्याग गरेका थिए । उनले देहत्याग भएको स्थानमै हाल सिन्धुली जिल्लाको कुशेश्वर महादेव स्थापित भएको हो भनेर मानिन्छ । यो श्रुतीबाट प्राचीनकालमा पनि काठमाडौं र जनकपुरको आतेजाते मार्ग सिन्धुलीगढी हुँदै भएको कुराहरू प्रस्ट हुन जान्छ ।
संवत् १३६७ मा सिम्रौनगढका (डोयहरू) सेनाले काठमाडौंमा व्यापक लुटपाट गरी बनेपा हुँदै फर्कंदा सिन्धुलीगढीको बाटो भएर विदेह राज्य (जनकपुर÷सीतामडी) फर्किएका थिए भन्ने ऐतिहासिक प्रमाणले पनि त्यस समयमा सिन्धुलीगढीको बाटो प्रयोग भएको प्रमाणित हुन्छ । इतिहासका घटनाक्रमको अध्ययन गर्दा डोयहरूको आक्रमणको करिब ४० वर्षपछि जयस्थिति मल्लको पालामा अर्थात् १४०६ को मंसिरमा बंगालका शासक समसुद्दीन इलियासको फौजले काठमाडांैलाई लगभग ध्वस्त बनाई फर्कंदा पनि सिन्धुलीगढीको बाटो हुँदै बंगालतर्फ फर्केका थिए । यो अपार क्षतिबाट विक्षिप्त भएर पुनः आक्रमणको प्रतिरोध एवं बचावटका लागि सिन्धुलीगढीको स्थापना १४११ र १४५२ को बीचमा जयस्थिति मल्लले गरेका हुन् । राजा जयस्थिति मल्लले नै सिन्धुलीगढीको फेदीभन्दा केही पर आफ्ना भाइभारदारलाई सुराकीका रूपमा राखेका थिए ।

काठमाडौंका राजा यक्ष मल्लले अयोध्या र मगधसमेत नेपालमा गाभेपछि विदेशीलाई पुनः प्रत्याक्रमण गर्न नदिन १५१५ तिर सिन्धुलीगढीलाई मजबुत बनाएका थिए । १५५६ तिर राजा शिवसिंह मल्लले सिन्धुलीमा आक्रमण गरी विजय गरेपछि सिन्धुलीगढीलाई आफ्नो अधिकारमा लिएका थिए ।
१७४६ मा कान्तिपुरका राजा भुपालेन्द्र मल्लका भारदारहरू र मोरङका वादशाह इन्द्रविधाता सेन (हरइन्द्र सेन) सिन्धुलीगढीमा भेला भई मैत्रीसम्बन्ध स्थापना गरेका गरेका थिए । १८२४ मा गोर्खाली सेनाले जयप्रकाश मल्लको सहयोगार्थ आएका इस्ट इन्डिया कम्पनी सेनालाई सिन्धुलीगढीमा पराजित गरेको थियो । यसमा २४०० कम्पनी सेनामध्ये १६०० सेनाको हताहती भएको थियो । अंग्रेज सेनाले दक्षिण एसियामा सिन्धुलीगढीमै पहिलोपटक पराजय भोगेका थिए ।
१८७३ मा सुरु भएको नेपाल अंग्रेज युद्घको समयमा सिन्धुलीगढीको सामरिक महत्वलाई बुझेर तत्कालीन जनरल भीमसेन थापाले सिन्धुलीगढीमा कानुनी रूपमा एउटा स्थायी सैन्य छाउनीको व्यवस्था गरेका थिए । १८८६ माघमा नेपालका तत्कालीन जनरल थापा पत्नी भक्तकुमारी देवीसहित सिन्धुलीगढीमा गारद सलामी लिएका थिए । यस्ताखाले विविध घटनाक्रमबाट सिन्धुलीगढीको महत्वलाई अझ बढी प्रस्ट्याएको छ ।
गढीक्षेत्रको हावापानी न धेरै चिसो न धेरै गर्मी छ । जाडोमा यहाँको औसत तापक्रम सूर्याेदयको समयमा ८ देखि १० डिग्री सेल्सियसबीच रहन्छ भने सूर्यास्तको समयमा १० देखि १२ डिग्री सेल्सियसबीच रहन्छ । यसैगरी, गर्मीमा यहाँको औसत तापक्रम सूर्याेदयको समयमा १८ देखि २० डिग्री सेल्सियस र सूर्यास्तको समयमा २५ देखि २८ डिग्री सेल्सियसबीच रहन्छ । यहाँ मध्याह्नदेखि साँझसम्म हावा चल्ने हुनाले पर्यटकले जाडोमा अलि विचार पुर्याउनुपर्ने हुन्छ ।
आडमा भएको किल्लाका तोप हान्ने प्वालबाट हेर्दा तल बीपी मार्ग नागबेली परेर सिन्धुलीतिर झरेको दृश्य अनुपम लाग्छ । माथिका दुई गढीहरू तुलनात्मक रूपमा अलि उचाइमा छन् । यहाँबाट उत्तरतर्फ रामेछाप र दोलखा जिल्लाका चुलिएका लेक र ती लेकको शिरमा गौरीशंकर हिमालका ताँती अत्यन्त सुन्दर लाग्छन् भने दक्षिणतर्फ सिन्धुलीमाढी फाँट, चुरेका खातमाथिका खात र अझ क्षितिजसँग टाँसिएका मधेसका समथर फाँटको दृश्यावलोकन हुन्छ । लामो दिन हुने समयमा मात्र देखिने सूर्यास्तको दृश्य अत्यन्त मनमोहक हुन्छ ।
सिन्धुलीगढीवरपरको सामुदायिक वनले गढी क्षेत्रलाई निकै शोभा दिएको छ । हरियो जंगलभित्र सिन्धुलीगढी लुकेको भान यहाँको सामुदायिक वनले दिलाएको छ । त्यही जंगलमा फागुनदेखि वैशाखसम्म गुराँस फुल्छ । काफल, ऐंसेलु तथा ओखर यहाँका वानस्पतिक प्रजाति हुन् ।
यसर्थ पनि ऐतिहासिक सिन्धुलीगढीलाई ऐतिहासिक पर्यटनसँग जोडेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिन्छ । यद्यपि आन्तरिक पर्यटकको भने अहिले पनि घुँइचो नै लाग्ने गरेको छ । विशेषगरी तराईका जिल्लाबाट धेरैजसो आन्तरिक पर्यटक गढी क्षेत्र घुम्न आउने गरेका छन् तर यसको समुचित संरक्षण र उचित व्यवस्थापन गर्न नसक्दा यसको थप विकास तथा प्रवद्र्धनमा घाटा पुगिरहेको छ ।
सिन्धुली जिल्लाभित्र रहेको अर्को ऐतिहासिक क्षेत्रका रूपमा हरिहरपुरगढी दरबार रहेको छ । सिन्धुलीबाट झन्डै एक दिनको बाटो तय गरी पुगिने उक्त स्थान पनि उत्तिकै रमणीय र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस जिल्लामा उत्पादन हुने रसिलो जुनार र स्थानीय मिनिरल वाटरले मात्र पनि जोकोहीलाई लोभ्याउन काफी छ । त्यसमाथि पनि बीपी राजमार्गको नागबेली सडक हेरेर धितै मर्दैन । जापान सरकारले निर्माण गरिदिएको यस सडक दक्षिण एसियाकै नमुना सडकका रूपमा मानिन्छ, जहाँ तस्बिर खिच्ने र खिचाउनेको कमी छैन । त्यस्तै सुसाउँदै निरन्तर बगिरहने सुनकोसीको मनोरम सौन्र्दयले मन भुतुक्कै पार्छ ।

सिन्धुलीको जुनार टिपेर खाऊँ क्यारे
गढीडाँडा काटेर जाऊँ क्यारे
शनिवारे हाटैमा माडी फाँटैमा…

सिन्धुलीको रमणीयतालाई गीतको माध्यमबाट गीतकार विवश बस्तीको शब्दलाई बालन्द राईले माथिका हरफमा स्वरे भरे । जुन गीत सिन्धुली जिल्लामा प्रख्यात रहेको छ । प्रायः जिल्लाका स्थानीय रेडियोमा गुञ्जिरहन्छ ।
सिन्धुली जिल्ला धार्मिक रूपले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । धार्मिक पर्यटन विकासका लागि पनि प्रशस्त सम्भावना बोेकेको यस जिल्लाको धार्मिक स्थलको व्यवस्थापन र प्रचार प्रसारको भने त्यत्तिकै खाँचो रहेको छ । प्रख्यात र मागेको पुग्ने मन्दिरका रूपमा रहेको कमलामाई मन्दिर जहाँ भाकल गरेको पुग्ने जनविश्वास रहिआएको छ । कमला र गौमती नदीको दोभानमा अवस्थित उक्त मन्दिरमा बर्सेनि माघेसंक्रान्ति मेला लाग्ने गरेको छ । यहाँ नेपालका विभिन्न ठाउँलगायत भारतबाट समेत दर्शानार्थीहरू आउने गरेका छन् ।
त्यस्तै जिल्लाको तात्कालिक हत्पते गाविसस्थित मधुगंगा महादेवको मन्दिर जहाँ साउनभरि दर्शानार्थीको घुँइचो लाग्ने गरेको छ । हरेक वर्ष लाखौंको संख्यामा देशका विभिन्न भू–भाग र भारतको कलकत्ता, मधुवनी, सीतामडी, दार्जिलिङ, सिलगुडी, पटनालगायतबाट दर्शानार्थी आउने गरेका छन् । छोराछोरी नहुनेहरूको यहाँ आई दर्शन गरेपछि माग पूरा हुने विश्वास लिइँदै आएको छ । त्यस्तै कुशेश्वर महादेव मन्दिर दुम्जा, शिद्धबाबा मन्दिर, शिद्ध मन्दिर, गणेश मन्दिर, कालीमाई मन्दिर, कृष्ण मन्दिर, किराँतेश्वर मन्दिरलगायतका धार्मिक स्थल रहेका छन् । जसको प्रचार प्रसार र सम्बद्र्धनको पनि व्यवस्था हुने सके थप धार्मिक पर्यटक भित्र्याउन समस्या हुने छैन ।
पर्यटकीय हिसाबले सिन्धुली जिल्लालाई पर्यटनको बहुअवधारणासँग जोडेर अघि बढ्न सकिन्छ । ऐतिहासिक, धार्मिक साथसाथै साँस्कृतिक रूपमा पनि विविध जाति र धर्मावलम्बीको बसोवास रहेको यस जिल्लामा फरक पहिचान र भेषभूषाका समुदायलाई आफ्नो परम्परा र संस्कृतिलाई जीवन्त बनाउन प्रेरणा दिनुपर्छ । जसका लागि उनीहरूको सचेतनामा सुधार ल्याई पर्यटनको जानकारी गराउन सके घरमै बसेर पनि आर्थिक उपार्जनमा सहयोग पुग्छ । कृषि क्षेत्रमा पनि सुधार गरेर यसलाई कृषि पर्यटनसँग जोडेर पनि विकास गर्न सकिन्छ । अहिले पर्यटन व्यवसायमा नयाँ नयाँ आयाम थपिरहेको छ कि कसरी पर्यटकलाई नयाँ पन दिने भन्नेबारेमा । अहिले नेपालमा खुबै चल्तीमा आएको होमस्टे अवधारणालाई वास्तविकतामा परिणत गर्न सके यसबाट आर्थिक स्थिति सबल बनाउन ठूलो मद्दत पुग्ने देखिन्छ । सिन्धुली जिल्लाका विभिन्न ठाउँमा अर्गानिक कृषिजन्य वस्तु उत्पादनमा वृद्धि गरी राम्रो बजारीकरण गर्न सके यसले ठूलो धनराशि प्राप्त गर्न सक्छ । यसका अलावा जिल्लामा हुने फलफूलमा जुनार, सुन्तला, आँप, लिची, कागती, नासपाती, आँटी, भुइँकटहर अत्यधिक मात्रा हुने गर्छ भने कृषि उत्पादनको हिसाबले धान, मकै, गहुँ, कोदो, फापर, तोरी आदिको खेती गरिन्छ । हावापानी मध्यम भएकाले पनि धेरै प्रकारका कृषि उत्पादन, तरकारी खेती तथा फलफूलको पनि उत्तिकै विविधता पाइन्छ । जसलाई व्यावसायिक रूपमा अँगाल्न सके यसको माध्यमबाट पनि राम्रो प्रतिफल प्राप्त हुन सक्छ ।
पर्यटकलाई जति बढी सेवा दिन सक्यो त्यत्तिकै मात्रामा यसमा वृद्धि हुन्छ । हाम्रोजस्तो विकासोन्मुख देशका लागि पर्यटन क्षेत्र विकल्परहित उद्योगका रूपमा बढ्दै आएको वर्तमान अवस्थामा विषयगत ज्ञानले पनि त्यत्तिकै महत्व राख्छ । अहिले नेपालको प्राकृतिक सम्पदा र कलाले गर्दा नेपाल राष्ट्र नै एक संग्रहालयका रूपमा देखापरेको छ । जसले गदौ पनि विश्वका पर्यटक नेपालप्रति आकर्षित भएका छन् । पर्यटन नेपालको उज्ज्वल भविष्य बोकेको उद्योग बन्दै छ । सरकारले ल्याएको पर्यटन वर्ष २०११ लाई सफल र सार्थक पार्न सिन्धुली जिल्लाको सम्पूर्ण विकासका लागि पर्यटन क्षेत्र महत्वपूर्ण अवसर बन्न सक्छ । तर, यसका लागि थुप्रै चुनौती सामना गर्न उत्तिकै महत्वपूर्ण छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार