अलैंची आकर्षण : आयुर्वेदिक औषधिदेखि अलैंची पर्यटनसम्म

सीबी अधिकारी

इलामको चिया पर्यटनजस्तै पर्यटकीय जिल्ला ताप्लेजुङमा अलैंची पर्यटनको नयाँ गन्तव्य प्रवद्र्धनका लागि व्यावसायिक पहल थालिएको छ । चर्चित कञ्चनजंघा हिमाल ९८,५८६ मिटरसँगै भौगोलिक विविधताको अनुपम उदाहरणका रूपमा रहेको ताप्लेजुङ मुख्य नगदेबाली अलैँचीको जिल्लाका रूपमा चिनिन्छ ।
कञ्चनजंघा हिमाल आरोहण तथा पदयात्रामा जाने पर्यटकको बसाइँ लम्ब्याउन अलैंची पदमार्गमार्फत ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहकार्यमा ‘कञ्चनजंघा स्पाइस गार्डेन टुरिजम ट्रेल’ नामक पदमार्ग सुरु गरिएको हो । यसमा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोग छ ।
पवित्र तीर्थस्थल पाथिभरा मन्दिरको दर्शनका लागि नेपाल तथा भारतबाट हजारौंको संख्यामा भक्तजन ताप्लेजुङ पुग्ने गर्छन् । अथाह सम्भावना हुँदाहुँदै पनि ताप्लेजुङ अझै पर्यटकीय जिल्लाका रूपमा परिचित छैन । यसैलाई ध्यानमा राख्दै स्थानीयवासीको समन्वयमा पर्यटनसँग सरोकार भएका निकायले ताप्लेजुङमा नयाँ पर्यटकीय उत्पादन ‘प्रडक्ट’ थपिएको छ ।
जिल्ला सदरमुकाम फुङलिङनजिकको फुरुम्बुु र सिकैचामा फैलिएको अलैँची खेती वरिपरिलाई केन्द्र पारी (करिब ३५ किमि दूरी) को पदमार्ग सार्वजनिक गरिएको हो । ताप्लेजुङको प्रमुख उत्पादन अलैँची खेतीलाई कृषि पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित अलैँची पदमार्ग विस्तार गरिरहेको (टान) पूर्वप्रथम उपाध्यक्ष एवम् पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठले जानकारी दिए ।
खासगरी छिमेकी जिल्ला इलाम कृषि उत्पादन चिया र यसको बगैँचालाई पर्यटकीय प्रडक्टका रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटकबीच लोकप्रिय बनेको सन्दर्भमा ताप्लेजुङ पनि अलैँची पर्यटनतर्फ आकर्षित भएको हो ।
टानका महासचिव कर्णबहादुर लामाले अहिले कञ्चनजंघा र पाथिभरा जाने पर्यटकको बसाइ लम्ब्याई अलैंची पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नयाँ पदमार्ग सुरु गरिएको बताए । लामाका अनुसार अहिले केवल बास बस्नमात्र फुङलिङ आउने पर्यटकलाई एक–दुई दिन भए पनि यहाँका रमणीय अलैंची बगैंचा र स्थानीय संस्कृतिमा भुलाउन सकिए बसाइ अवधि लम्बिने अपेक्षा छ । यो पदमार्गमा हराभरा अलैंची खेतीसहित गुम्बा, मठमन्दिर तथा दृश्यावलोकनका साथै स्थानीय रहनसहन र संस्कृति बुझ्न उपयुक्त मानिन्छ ।
प्राकृतिक सम्पदा र भौगोलिक विविधतायुक्त ताप्लेजुङलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय पर्यटकीय प्रवद्र्धनको सामग्रीका रूपमा लैजान अलैंची पदमार्ग रोजिएको पर्यटन बोर्डका वरिष्ठ अधिकृत प्रदीप बस्नेतले बताए ।
ताप्लेजुङमा हाल कञ्चनजंघा सर्किट ट्रेक र पाथिभरा ट्रेकिङ ट्रेल सञ्चालनमा छन् । जहाँ आन्तरिक तथा बाह्य पर्यटकको गतिविधि बढेको छ । ताप्लेजुङ सामुदायिक गुम्बाडाँडा होमस्टे (घरबास कार्यक्रम) की सञ्चालक हिमा गुरुङ पनि सदरमुकाममा आउने पाहुनालाई अलैंची पदमार्ग घुमेर बास बस्न र स्थानीय परिकारको स्वाद लिन व्यावसायिक होमस्टे सेवा सुरु गरिएको बताउँछिन् । फुङ्लिङबाट ४–५ किमि सडक यात्रापछि पुगिने गुम्बाडाँडा र शीतलडाँडामा होमस्टे छन् ।
टानका अनुसार यी पदमार्गभित्र फुङ्लिङ गार्डेन, फुरम्बु गार्डेन र सिकाइचा गार्डेनको रमणीय दृश्यावलोकन गर्न सकिन्छ । यसबाहेक हिमाली दृश्यावलोकन, स्थानीय प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदालाई समेत पदमार्गले समेटेको छ ।
फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराईले अलैँचीको व्यावसायिक प्रवद्र्धनसँगै जिल्लालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योजनाबद्ध कार्यक्रम ल्याइने बताए ।
ताप्लेजुङमा अलैँची खेतीको प्रवद्र्धनका लागि इसिमोडले ‘हिमालिका’ नामक परियोजना सञ्चालन गरेको छ । सोही परियोजनामार्फत व्यवस्थित रूपमा सञ्चालित गार्डेनलाई समेटेर पदमार्गको परिकल्पना गरिएको हो । पदमार्गको नक्सा र मोबाइल ‘एप’ समेत सार्वजनिक गरिएको थियो ।
अलैँची व्यवसायी संघ ताप्लेजुङका उपाध्यक्ष तेज भट्टराईले जिल्लाको प्रमुख उत्पादनका रूपमा रहेको अलैंची खेतीलाई पर्यटनको माध्यमबाट थप पर्यटक आकर्षण गर्नका लागि पदमार्ग उपयोगी हुने उल्लेख गरे । संघका अनुसार जिल्लामा ६० प्रतिशतभन्दा बढी कृषक अलैंची खेतीमा आबद्ध छन् ।
जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङका अनुसार जिल्लाको चार हजार ५०० हेक्टर क्षेत्रफलमा अलैंची लगाइएको छ । अघिल्लो वर्ष दुई हजार ४०० मेट्रिक टन उत्पादन भएको थियो । अलैंची जडीबुटी भएकाले आयुर्वेद औषधिका लागि स्वदेश तथा विदेशमा माग बढ्दो छ ।
सरकारी तथ्यांकअनुसार अलैंची खेती हाल ४० जिल्लामा विस्तार भएको छ । पन्ध्र हजार बढी हेक्टर क्षेत्रफलमा खेती हुने अलैंची वार्षिक पाँच हजार ६०० मेट्रिक टन उत्पादन हुन्छ । वार्षिक २० करोडभन्दा बढी निर्यात हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार