मेसिनबाट कोठामै उत्पादन गर्न सकिने घाँस

कृष्ण न्यौपाने

विश्वका अधिकांश देशमा आधुनिक प्रविधिबाट ठुल्ठूला कृषि क्रान्ति गरिएका छन् । विश्वको बढ्दो जनसंख्याले गर्दा कमभन्दा कम जमिनबाट अधिकतम लाभ लिन सकिने प्रविधि प्रयोग युरोप, अमेरिका, अफ्रिकालगायत एसियाका केही देशमा उन्नत कृषि तथा पशुपालन गर्न थालिएको छ ।
नेपालकोे अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि तथा पशुपालन व्यवसायको आधुनिकीकरण र प्रवद्र्धन गर्न राज्यको ध्यान जानु जरुरी भइसकेको छ । हरित घाँस (ग्रीन फोडर) आधुनिक तरिकाबाट कोठाभित्रै उत्पादन गर्न सकिने सजिलो प्रविधि हो । थोरै जमिनबाट धेरै आम्दानी लिन सकिने हुँदा यो प्रविधि भित्र्याउनु वाञ्छनीय देखिन्छ । करिब १५ बिघा क्षेत्रफलमा गरिने परम्परागत घाँस खेतीबाट जति उत्पादन हुन्छ, यो प्रविधि अवलम्बन गर्दा एक बिघाबाट त्यति नै बराबरको घाँस उत्पादन गर्न सकिनेछ । पानीको न्यूनतम खपत गरी बढी उत्पादन लिन सकिने हँुदा पानीको हाहाकारबाट समेत मुक्ति पाउन सकिन्छ ।
हरित घाँस उत्पादन आधुनिक तरिकाको तख्ता बनाएर मेसिनबाट उत्पादन लिने प्रविधि हो । यो घाँस सात दिनमा तयार हुन्छ । पशुपक्षी तथा गाईबस्तुले अति मन पराउने र खुवाएपछि दूध बढी आउने पौष्टिक तत्वले भरिपूर्ण हुने हुँदा प्रोटिन, प्याट फाइबर, स्टार्भ तथा अन्य भिटामिन ‘ए’ र ‘ई’ युक्त दूध, अण्डा, मासु आदिको मात्रामा उल्लेख्य वृद्धि भई कृषकले राम्रो प्रतिफल प्राप्त गर्न सक्नेछन् । यो घाँस खाएका पशुको उत्पादकत्व दर बढ्छ र उन्नत नश्लका कारण धेरै उत्पादन लिन सकिन्छ । न्यूनतम श्रमशक्तिबाट उच्चतम प्रतिफल लिन सकिने यस प्रविधिको प्रयोगबाट कम लागतमा धेरै आम्दानी गर्न सकिने जसबाट श्रम, समय र पैसाको अधिकतम बचत हुन्छ । साथै लामो समयसम्म भण्डारण गरेको सुख्खा घाँस, परालबाट हुने बेफाइदाबाट मुक्ति मिल्ने, यो घाँसमा रोग निरोधक क्षमता उच्च हुने हुँदा पशुपक्षी स्वस्थ्य रहनेछन् । कृषकले दूध तथा मासुजन्य पदार्थमा वृद्धि गर्न सक्नेछ । ३६५ दिन नै हरित घाँस खान पाउँदा पशुपक्षीमा रोग निदान क्षमता वृद्धि भई ती पशुबाट १२ महिनै एकैनासको उत्पादन लिन सकिन्छ ।
यो घाँस मेसिनबाट उत्पादन भए पनि यो कृत्रिम होइन, प्राकृतिक उत्पादन हो । यसमा कुनै हानिकारक विषादी प्रयोग गरिँदैन । त्यसैले यो प्रविधि जति छिटो भित्रियो उति नै छिटो राष्ट्रिय अर्थतन्त्रमा कृषिको योगदान थप वृद्धि हुन जानेछ । जनशक्ति कम, पानीको न्यून खपत, कम इनर्जी खर्च, मर्मतसम्हार गर्न सहज, सञ्चालनमा सहजता तथा कम लगानीमा धेरै उत्पादन लिन सकिन्छ ।
नेपाल कृषिप्रधान देश हो । हरियो वन नेपालको धनजस्ता भनाइ धेरै सुनियो र क्रमशः अतीत भइसकेका छन् । हरियो वन विनाशको चपेटामा परेको छ । कृषि विकासक्रमलाई हेर्दा हाम्रो अन्न भण्डार तराईका फाँटहरू कम उर्वर हुँदै गएकाले उत्पादन घट्दै छ । कृषिप्रधान देशमा खाद्यान्न आयातमा ठूलो धनराशि खर्चनुपरेको छ । अधिकांश उर्वर भूमि सहरी विकासको नाममा खण्डीकरण र घडेरी भएका छन् । नेपाली पाखुराले अरबका मरुभूमि हराभरा भएका छन् । ती उद्यमी हातलाई कृषि क्रान्तिमा लगाउनतर्फ राज्यको ध्यानै गएन । दैनिक हजारौं युवाको उर्वर जवानी अरब हराभरा बनाउन पलायन हुँदै छन् । देशमै केही गर्न सकिन्छ भन्ने वातावरण बनिदिएको भए उन्नतशील पाखुरा यही ठोकिन्थे । नेपाल हराभरा हुन्थ्यो ।
विश्वमा जमिनको उर्वराशक्ति घट्दो छ भने जनसंख्याको चाप बढ्दो छ । उत्पादनका तुलनामा खाने मुख अत्यधिक बढी छ । त्यसको परिपूर्तिमा वैकल्पिक र वैज्ञानिक मार्ग अवलम्बन गर्नुपर्छ । नत्र भोकमरीको विकराल समस्या विश्वले बेहोर्नुपर्ने हुन्छ । विश्वमा पशुपक्षीको दानाका लागि करिब ८८० मिलियन टन अन्नपात प्रयोग भएको दानाभन्दा अन्न बढी प्रयोग भएका छन् । यसले खाद्यान्न अभाव गर्नेछ । यसको न्यूनीकरणको उपाय हरित घाँस उत्पादन नै हो । पशुपक्षीका लागि प्रयोग हुने अन्नपातको प्रयोग १० प्रतिशतमा झार्न सकिने हुँदा खाद्यान्न अभाव टार्न हरित घाँस प्रविधि उपयोग उत्तम विकल्प हुन सक्छ । यसबाट भोकमरी कम गर्न मद्दत पुग्छ ।
हामीकहाँ ६५ अर्ब रपियाँभन्दा बढीको मासुजन्य पशुपक्षीको आयात भारतबाट हुने गरेको छ । केही मात्रामा बंगलादेश, भियतनाम तथा अन्य मुलुकबाट आयात हुने गरेको छ । यसका लागि चाहिने दाना तथा औषधि पनि त्यही अनुपातमा भित्रिन्छ । कृषि तथा पशुपालन व्यवसायमा कृषक प्रोत्साहन नीति बनेका भए पनि प्रभावकारी कार्यान्वयन भएका छैनन् । मुलुकको आर्थिक मेरुदण्डको कृषि तथा पशुपालन हो भन्ने संवेदनशीलता नीति निर्णायक तहमा रहनेकामा नरहनु, कृषकलाई सहुलियत ऋण तथा अनुदानको व्यवस्था नहुनु, समयसापेक्ष तालिम, उन्नत दाना तथा बीउका लागि अनुदान तथा बीमाको सहज र सुलभ सुविधा नहुनुले कृषिमा आकर्षण घट्दो छ । उत्पादन लागतभन्दा कम उत्पादन हुने र परम्परावादी प्रणालीबाट उत्पादित वस्तु पनि कम लागतमा बिक्री, वितरण गर्नुपर्ने बाध्यताले कृषकको सहभागिता कम भएको हो । निर्वाहमुखी कृषि व्यवसाय निरन्तर रहिरहने हो भने आगामी राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्न गई राज्यले गम्भीर चुनौती सामना गर्नुपर्नेछ । तसर्थ, कृषि प्रणालीको वैज्ञानिकीकरण र आधुनिकीरणविना कृषिमा आकर्षण बढ्न सक्ने छैन । यस्ता वैकल्पिक प्रविधिको छिटो प्रयोगमा ल्याउन जरुरी भइसकेको छ ।
सरकारले कृषि प्रवद्र्धनमा विशेष सहुलियत व्यवस्था गर्नुपर्छ । हरित घाँसजस्ता प्रविधि भित्र्याउन आवश्यक कृषि औजार, मेसिन आयातमा भन्सार छुट व्यवस्था गरिदिनुपर्छ । हाललाई एक सयमात्र मेसिन भित्र्याई परीक्षण प्रयोग गर्न सके यसप्रति कृषकको आकर्षण बढ्न जान्छ र प्रविधि प्रयोगबाट उन्नत पशुपक्षी तथा कृषि उत्पादनमा उल्लेख्य वृद्धि गर्न सकिन्छ । सयवटा मेसिनबाट उत्पादित हरित घाँस दुई हजार गाईभैंसीलाई दाना तथा घाँस पुग्छ । आठ हजार भेडाm, बाख्रा पाल्न सकिन्छ । एक कृषक एक मेसिन हुँदा पनि दुई सय ५० बाख्रा पाल्न सकिन्छ र १० वर्षभित्रमा आत्मनिर्भरताको बाटो लिन सक्छ ।
कुखुराको दाना बढी महँगो पर्न जान्छ । लागतको अनुपातमा धेरै उत्पादन लिने वैकल्पित उपाय हरित घाँसको उत्पादन हुन सक्छ । कुखुरा किसानका लागि यो घाँस उत्तम दाना पनि हो । कुखुराले अत्यधिक मन पराउने दानाका रूपमा यसको प्रवद्र्धन हुन सक्छ । विश्वका विकसित तथा विकासशील देशले यस प्रविधिमार्फत उत्पादन वृद्धि गरेका छन् । हरित घाँस व्यावसायिक कृषि तथा पशुपालनको गतिलो आधार बनेको छ । नेपालमा पनि उपयोगी हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार