सात प्रदेशको अस्थायी मुकाम प्रस्ताव

काठमाडौँ । सरकारले सातवटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सहरी विकास मन्त्रालयले सातवटै प्रदेशको अस्थायी मुकामको खाका तयार पारेको हो ।

मन्त्रिपरिषद् कार्यालय प्रवक्ता हरिप्रसाद पन्थीले भौतिक पूर्वाधारका आधारमा अस्थायी मुकामको खाका तयार गरिएको बताए। प्रवक्ता पन्थप्का अनुसार प्रदेश नम्बर १ को विराटनगर, प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ३ को भक्तपुरको ठिमी, प्रदेश नम्बर ४ को पोखरा, प्रदेश नम्बर ५ को दाङ, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को धनगढी अस्थायी मुकाम तोकिएको छ । सहरी विकास मन्त्रालयले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुने भएपछि मुकाम राख्न प्रस्ताव गरेको हो ।

मन्त्रालय सहसचिव राजेन्द्र पौडेलको टोलीले प्रत्येक प्रदेशका सबै ठाउँको स्थलगत अध्ययन गरी ती स्थानमा मुकाम प्रस्ताव गरेको हो । “टोलीले स्थलगत अध्ययनपछि ती ठाउँ उपयुक्त हुन्छ भनेर पठाएपछि हामीले खाका तयार पारेका हौँ,” प्रवक्ता पन्थीले भने, “अब आवश्यक अध्ययनपछि मन्त्रिपरिषद्को बैठकले ती प्रस्ताव गरेका मुकामलाई तोक्नेछ ।”

अस्थायी रूपमा तोकिएका ती मुकाम प्रदेश सरकारले पुनः हेरफेर गर्न सक्नेछ । संवैधानिक रूपमा प्रदेश सरकारको दुईतिहाइ बहुमतले तोक्न सक्नेछ । सहसचिव पन्थीले भौतिक पूर्वाधार, कर्मचारीको उपलब्धता, सञ्चार, साधनको उपलब्धता र विद्युत् आपूर्तिको हिसाबले ती अस्थायी सरकारमुकाम तोकिएको बताए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार