काँग्रेस हारे पनि बीपीविचारको जित

चितवन । काँग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनमा काँग्रेस अंकगणितीय रूपमा कमजोर भए पनि बीपीविचारको जित भएको बताएका छन् ।

काँग्रेस, चितवनले गरेको ४२ औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा ‘बीपीको मेलमिलाप र अबको काँग्रेस’ विषयक एकदिने प्रवचन कार्यक्रममा बोल्दै नेता शर्माले काँग्रेसको हार भए पनि बीपीविचारको जित भएको बताएका हुन् ।

बीपीको विचारलाई मनन गर्दै कम्युनिस्ट अघि बढ्न थालेको भन्दै उनले अहिलेको हारबाट काँग्रेस कार्यकर्ता आत्तिनुपर्ने अवस्था नरहेको बताए । बल र बन्दुकबाट सत्ता प्राप्ति हुँदैन भन्ने बीपीको विचारमा कम्युनिस्ट आइरहेको भन्दै उनले काँग्रेस हारे पनि देशले जित्नुपर्ने बताए ।

काँग्रेसले मधेस–पहाड–तराई जोड्न सकेको भन्दै उनले बीपीले देखाएको बाटोमा हिँड्नु अहिलेको आवश्यकता रहेको औंल्याए। बीपीको विचारलाई परिष्कृत गर्दै समाज रूपान्तरण र पार्टी रूपान्तरणमा जानु आवश्यक रहेको नेता शर्माको भनाइ छ ।

काँग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले नेपालको राजनीतिमा अझै मेलमलापको आवश्यकता रहेको बताए । अहिले राजनीतिक मुद्दा सकिएको भन्दै नेता पाण्डेले अब मेलमिलापका माध्यमबाट देशको विकास गर्नु आवश्यक रहेको जिकिर गरे ।

प्रजातन्त्रमा सबैको जित हुने भन्दै उनले सबै दलमा सहिष्णुता आवश्यक रहेको बताए। अब काँग्रेसजनले व्यक्तिगत इच्छा थाती राख्दै पार्टीभित्र आन्तरिक व्यवस्थापन गर्न जरुरी रहेको पाण्डेले सुझाए ।

काँग्रेस चितवन सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, पूर्वसांसद सावित्री बोगटी पाठक, पूर्वसभापति टेकप्रसाद गुरुङ, कृष्णलाल सापकोटालगायतको सहभागिता रहेको थियो ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार