तिलिचो ताल जाने उचित समय कहिले ?

नवीन लामिछाने

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल घुम्नका लागि उचित समय कुन हो ? कहिले जाँदा सहज हुन्छ भन्ने कौतूहल आममानिसमा रहेको हुन्छ ।

बर्खाको सिजनमा लेकाली फूलहरु फुल्ने र तिनीहरुको गन्धले लेक लाग्ने गर्छ । यसका साथै आकाशमा बादल लागेर नखुल्ने हुन्छ भने हिउँदको सिजनमा हिउँ पर्ने र बढी चिसोका कारण जान सकिँदैन ।

आकाश खुलेर वरिपरिका दृश्य अवलोकन गर्नका लागि उपयुक्त सिजन असोज, कात्तिकदेखि मंसिर अन्त्यसम्म बढी उपयुक्त हुने र अर्को सिजन चैत, वैशाखदेखि जेठ अन्त्यसम्ममा उपयुक्त हुने मनाङ जिल्ला पर्यटन विकास संघ अध्यक्ष विनोद गुरुङले बताए ।

तिलिचो ताल आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । ४,९१९ मिटर उचाइमा रहेको यस तालको लम्बाइ ३.९ किलोमिटर रहेको छ भने चौडाइ १.६ किलोमिटर फराकिलो छ ।

कुल ४.८ वर्ग किमिभन्दा बढी क्षेत्रफलमा फैलिएको यस तालवरिपरि सेता टल्किने तिलिचो हिमाल, अन्नपूर्ण रेन्ज र नीलगिरि हिमाल रहेका छन् । हिमालको काखमा रहेको नीलो सङ्लो पानी टलपलाइरहेको दृश्यले जोकोहीको मन लोभिने गर्छ ।

विश्वको भौगोलिक मानचित्रमा महत्वपूर्ण मानिएको यस ताल हेर्नका लागि जुनसुकै समयमा जान सकिँदैन । अक्सर गरेर धेरै अग्लो स्थानमा रहेको र नजिकै रहेका हिमालले गर्दा बढी चिसो र लेक लाग्ने सम्भावना बढी मात्रामा देखिन्छ ।

हिजोआज यस ताल घुम्नका लागि बाह्य पर्यटकभन्दा आन्तरिक पर्यटक बढी मात्रामा आउने गरेका छन् । यस तालमा पुग्न दुई सिजनमध्ये गत असोज, कात्तिकमा मात्रै करिब १२ देखि १५ हजार नेपाली पर्यटकले तिलिचो तालको अवलोकन गरेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङ प्रमुख बाबुलाल तिरुवाले जानकारी गराए ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार