माधवनारायण व्रत बसेकालाई बिरामी हुँदा औषधि सेवन गर्न प्रतिबन्ध

 

पूर्णप्रसाद मिश्र

मनोकांक्षा पूरा गर्ने कामनाले काठमाडौँ उपत्यकाको पूर्वी भेगमा एकमहिने कठोर माधवनारायण व्रत सुरु भएको छ ।

स्वस्थानी व्रत गत सोमवारबाट सरु भए पनि साँखु शालीनदी मेला भने मंगलवारदेखि सरु भएको श्रीमाधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । मेलामा १८८ महिला, १० पुरुष र सात पुजारी सहभागी भएको समिति वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठले जानकारी दिए।

“चार दिनसम्म वर्तालु थपघट हुन सक्छन्, वर्तालुले बिहान ५ बजे स्नान, त्यसपछि गणेशपूजा, नित्य मध्याह्नकालमा महादेव र पार्वतीपूजा, बेलुकी साल्खाटोलदेखि ज्योतिर्लिङ्गेश्वरलगायत साँखु बजार सहस्रधारासहित परिक्रमाको कार्यक्रम हुन्छ,” श्रेष्ठले भने ।

वर्तालुले सोमवार माधवनारायणका मूल पुजारी सुदन राजोपाध्यायसँग बेलुकी जल लिएपछि जुत्ता, चप्पल छुन नहुने र नुन खान नहुने व्रतविधि छ ।

व्रतका नियम

वर्तालुले एक महिनासम्म नुन, माछा, मासु, मरमसला, पशुपक्षी तथा जनावर, जुत्ता, मोजा, मगन्ते, रजस्वला भएकी, जुत्ता, चप्पल लगाएका मान्छेलाई छुन नहुने सनातनदेखिको नियम छ । वर्तालुले दूध र पानीबाहेक अन्य पेय पदार्थ सेवन गर्नुहुँदैन ।

व्रतालुको भोजन

दूध, चामलको भात, घ्यु, चाकु, चिनी, चिउरा, केराउ, सुन्तला, लप्सी, उखु, अदुवा, रातो मुला र पाटने पालुङ्गोमात्र भोजन गर्न हुने नियम रहेको माधवनारायण व्रतविषयमा खोज गरिरहनुभएका इतिहासविद् प्रकाश श्रेष्ठ सक्वले बताए ।

“भीमा एकादशीका दिन वर्तालुले दुईपटक व्रत बस्नुपर्छ, व्रतपछि सुन्तला, उखु, तरुल, पिँडालु, दूधलगायत फलाहारमात्र भोजन गर्ने नियम छ, भोजनमा कपाल, जौ, तिल, कोदो, मकै, गहुँ, भटमास तथा व्रतमा भोजन गर्न वर्जित चीज आएमा भोजन छोड्नुपर्छ, यस्तो अवस्थाका लागि पहिल्यै चिउरा, चाकु, घ्यु आदि नजिकै राखेर अर्कै थालमा बसेको स्थानबाट नउठी खान सकिन्छ,” उनले भने ।

वर्तालुले भोजन गर्दागर्दै उठ्नुहुँदैन । उठेमा सँगै छोएर भोजन गरिरहेका अन्य व्यक्तिले समेत भोजन छाड्नुपर्छ । उठेपछि फेरि भोजन गर्नुहुँदैन ।

औषधि सेवन निषेध

वर्तालुले सवारी चढ्न हुँदैन । बिरामी हुँदा पनि औषधि सेवन गर्न पाइँदैन । आफन्तको जुठो, सुतक बार्नुपर्दैन । साबुन तथा अन्य वस्तु छुन तथा प्रयोग गरी स्नान गर्नुहुँदैन । गोल तथा दन्तमञ्जन प्रयोग गर्नुहुँदैन ।
वर्तालुले उपरखुट्टी लगाएर मेच र खाटमा बस्न पनि हुँदैन । नांगो गोडाले एक महिना हिँडेरै व्रत समापन गर्नुपर्छ ।

परदेश यात्रा

वर्तालुले माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा सुरु गर्छन् । पहिलो दिन शालीनदीबाट वज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत् गर्दै जानुपर्छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट वज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङबाट साँखु बास बसिन्छ । माघ शुक्ल प्रतिपदामा यात्रा सकिन्छ ।

माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बसिन्छ । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ । साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाइन्छ ।

माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन वर्तालुलाई खीर (तस्मी) खुवाउने प्रचलनसमेत छ । माघ शुक्ल एकादशीका दिन साँखुबाट चाँगुनारायण स्थानको यात्रा गरिन्छ । भोलिपल्ट चाँगुबाट साँखु फर्कने परदेश यात्राको नियम छ ।

परदेशमा भोजन स्थान

परदेश यात्राक्रममा भोजन गर्ने स्थान पनि तोकिएको हुन्छ । पशुपतिबाट फर्पिङ जाँदा सानो गौचरन, फर्पिङबाट साँखु आउँदा शंखमुल, पनौतीबाट साँखु आउँदा बनेपा र नालाको मध्यभागस्थित भोखुसीमा तथा चाँगुबाट साँखु आउँदा साँखुमा भोजन गर्ने ठाउँ तोकिएको छ ।

परदेश यात्रामा चिउरा, सुन्तला, चाकु, घ्यु, चिनी, लप्सी, रातो मुला, अदुवा आदि वर्तालुले लैजानुपर्छ । नजिकका आफन्तले निराहार बसी दूध उमालेर लगिदिएमा खान हुने भोजन विधि रहेको स्थानीय सञ्चारकर्मी पवनलाल श्रेष्ठले बताए।

माघ शुक्ल चतुर्दशीका दिन देव निमन्त्रणा गरी पूर्णिमामा अश्वमेध यज्ञ अर्थात् व्रत साङ्गे गरिन्छ । अश्वमेध यज्ञ गरेको भोलिपल्ट वर्तालुले माघ गाउने (मिगा पूजा) गर्छन् । शिवरात्रिका दिन माधवनारायणका वर्तालुले जाग्राम बस्नुपर्ने व्रत विधान छ ।

महिला वर्तालुले पहिरन र टीका पनि रातो लगाउनुपर्छ । पुरुष वर्तालुले भने रातो टीका र वस्त्र लगाउन नहुने विधि छ । नित्य पूजाअघि पुरुषले चन्दनको टीका लगाउनुपर्छ ।

सत्ययुगमा विष्णुको सल्लाहमा पार्वतीले यो व्रत बसी महादेवलाई पतिका रूपमा प्राप्त गरेको शिव, स्कन्दलगायत पुराणमा वर्णन गरिएको छ । पार्वतीको आज्ञानुसार तीनै लोकमा स्वस्थानीको व्रत सुरु भएको विश्वास गरिन्छ ।

स्वस्थानीको व्रतविधि बताउन स्वर्गलोकमा नारद ऋषि र मत्र्यलोकमा सप्तर्षि एवं पाताललोकमा अश्वत्थामालाई पार्वतीले पठाउनुभएको कथा छ । साँखुमा व्रत बसेकाहरू मनोकांक्षा पूरा गर्न तथा परिवारको सुख एवं खुसीका लागि कठिन नियम पालना गरेर बसेको बताउँछन् ।

थलीबाट माधवनारायण व्रत बस्न साँखु पुगेकी प्रभा कुइँकेल मनोकामना पूरा होस् भनी साँखुमै कोठा लिएर बसेकी छन् ।कुइँकेलसँग साथीहरू पुनम रोक्का र सीता रोक्का पनि छन् । व्रत गर्नेको कामना सिद्ध भएकाले आफूहरू पनि नियम पालना गरी आएको उनीहरूले सुनाए।

विष्णुको स्वरुप माधवनारायणको प्रतिमालाई साक्षी राखी यो व्रत प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार