खोटाङका सांसद अग्निपीडितलाई राहत बाँड्न हलेसीमा

हलेसी (खोटाङ) । प्रतिनिधिसभा सदस्य विशाल भट्टराई र खोटाङ क्षेत्र नम्बर १ प्रदेशसभा सदस्य राजन राईले हलेसीका अग्निपीडितलाई राहत वितरण गरेका छन् । काठमाडौंमा रहेका सांसद भट्टराई र प्रदेशसभा सदस्य राईले पुस १९ गते हलेसी पुगेर अग्निपीडितलाई राहत वितरण गरेका हुन् ।

राहत वितरणपछि सांसद भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘खोटाङ हलेसीमा भएको भीषण आगलागीका कारण हुन गएको क्षतिको क्षतिपूर्ति तत्काल असम्भव भए पनि पीडित परिवारलाई प्रारम्भिक राहत वितरण गरियो। सानै भए पनि तत्कालका लागि राहत वितरण गरियो । यो प्रारम्भमात्रै हो । राहत र पुनःस्थापना निरन्तर जारी रहनेछ।’

अग्निपीडित सहयोगार्थ काठमाडौंमा रहेका खोटाङेले समिति बनाएर सहयोग संकलन थालेको छ ।

खोटाङ उद्योग वाणिज्य संघ, नेपाल रेडक्रस सोसाइटी, जिल्ला प्रशासन कार्यालय तथा हलेसी–तुवाचुङ नगरपालिकालगायतको अगुवाइमा जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरू, उद्योग वाणिज्य संघ अध्यक्षलगायतको उपस्थितिमा राहत वितरण गरिएको थियो।

जिल्लाको हलेसी लाँकुरीभन्ज्याङमा गत पुस १८ मंगलवार साँझ साढे बजे आगलागी हुँदा चार घर पूर्ण र तीन घरमा आंशिक क्षति पुगेको थियो । आगलागी हुँदा ५ करोड ११ लाख १५ हजार रुपैयाँबराबरको क्षति भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार