पैसा गन्न नजान्नेको वार्षिक आम्दानी ६ लाख

विनोदसिंह विष्ट

पैसासमेत गन्न नजान्ने एक युवकले वार्षिक ६ लाखभन्दा बढी कमाइ गरिरहेका छन् भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । कक्षा ३ सम्ममात्रै अध्ययन गरेका दार्चुला लेकम गाउँपालिका–१ सेजालीका गणेश कार्की मौरीपालन व्यवसाय अपनाएर गाउँमै उदाहरणीय बनेका छन् ।
स्नातकोत्तरसम्म पढेर पनि नेपालमा रोजगारी नै पाइँदैन भनेर विदेश पलायन हुन खोज्नेहरूले कार्कीबाट सिक्नुपर्छ । पाँच वर्ष अगाडिदेखि व्यावसायिक रूपमा मौरीपालन सुरु गरेका उनले यसै व्यवसायबाट आठजनाको परिवार सजिलैसँगै पालिरहेका छन् ।
रिड्स नेपाल नामक संस्थाले सुरुमा दुई घार मौरी उपलब्ध गराएको थियो । त्यही दुई घार मौरीबाट उनले ३०० घार मौरी बनाए । अहिले भने उनीसँग ५० घारमात्रै छ । उनले भने, ‘३०० घार बनाएको भए पनि अरू घार बिक्री गरें । अब ५० घार बाँकी छन् ।’
सेरेना जातका मौरीका लागि उपयुक्त हावापानी, भौगोलिक वातावरण र चरन आवश्यक हुने भएकाले यहाँ मौरीपालन व्यवसायको प्रचुर सम्भावना रहेको उनको भनाइ छ । ‘छोराछोरीको पढाइ गर्न कुनै समस्या छैन,’ उनले भने, ‘घरधन्दा चलाउन कसैसँग हात जोड्नुपरेको छैन ।’
वार्षिक ५० घारजति बिक्री गर्ने गरेको र चार क्वीन्टल मह बिक्री गर्ने गरेको उनले बताए । स्थानीय बजारमा मह प्रतिकिलो ८०० का दरले बिक्री हुने गरेको छ । उनले भने, ‘मौरीसहितको घार बिक्री गर्दा प्रतिघार आठ हजार प्राप्त हुन्छ ।’ मौरीपालन व्यवसायबाट उनको वार्षिक ६ लाखभन्दा बढी आम्दानी हुने गरेको छ ।
मौरीपालन गर्दा सुरुमा केही अप्ठेरो आएको भए पनि अहिले आएर कुनै समस्या नभएको अनुभव उनी सुनाउँछन् । हाल रहेका ५० घार मौरीबाट अबको केही दिनभित्रै २०० घार बनाउने उनको लक्ष्य छ । आउँदो वर्षमा पाँच क्वीन्टल मह बिक्री गर्ने सोच बनाएका ४४ वर्षीय गणेशले मौरी पाल्ने मोह नै आफूमा रहेको बताउँछन् । उनले भने, ‘व्यवसाय गर्न उमेर र पढाइ नभएर रोकिँदैन । काम गर्ने इच्छा हुनुपर्छ जाँगर आफैँ आउँछ ।’
उनलाई मह बिक्री गर्न कुनै समस्या छैन । घरमै मह किन्न ग्राहक आउने उनी बताउँछन् । ‘दार्चुला, बैतडी, डडेल्धुरा तथा छिमेकी राष्ट्र भारतबाट समेत मह किन्न ग्राहक आउँछन्,’ उनले भने, ‘मह तथा मौरी घार बिक्री गर्न कुनै समस्या छैन । ग्राहक घरमै आउने गरेका छन् ।’
मौरी एक उपयोगी कीरा हो । यो कमिला र बारुलासँग नजिकको सम्बन्ध भएको जीव हो । यसले मह तथा मैन उत्पादन गर्नुका साथै परागशेचनमा पनि ठूलो भूमिका खेलेको हुन्छ । यतिमात्र हैन, मौरीले मानिसको स्वास्थ्य र आर्थिक समृद्धिमा ठूलो योगदान पुर्याएको हुन्छ । थोरै लगानीमा वर्षभरि आम्दानी हुने भएपछि यहाँका अरू कृषक पनि मौरीमा लगानी गर्न हौसिएको उनले बताए । मौरी पाल्न खासै अध्ययन आवश्यक नपर्ने उनको अनुभव छ । उनले भने, ‘हातमा सीप भयो भने मान्छेले जे पनि सक्दो रहेछ ।’
एकान्त ठाउँ मन पराउने मौरीको चरनका लागि चिउरी तथा तोरीको बारी आवश्यक हुन्छ । उनले तोरीबारीनजिकै मौरीका घार राखेका छन् । मौरीले बिरुवाको परागशेचनमा सहयोग पुर्याउने भएकाले वातावरण संरक्षणका लागि पनि फाइदा पुग्ने मौरीपालकको भनाइ छ । यसले किसानको उत्पादन बढाउनसमेत सहयोग गर्छ ।
रासायनिक विषादीको प्रयोग बढ्नाले मौरीको चरन क्षेत्र खुम्चिँदै गएको उनको गुनासो छ । उनले भने, ‘चिसो मौसममा चरन क्षेत्र कम हुने भएकाले चिनीको चास्नी खुवाउने गरेको छु ।’
मौरीपालनसँगै गणेश कार्कीले तरकारी खेती र बाख्रापालनसमेत गरेका छन् । बाख्रापालन र तरकारी खेतीबाट समेत उहाँले थप आम्दानी गरिरहेका छन् । तरकारी खेतीबाट पनि मात्रै उनले वार्षिक तीन लाख कमाउँछन् भने बाख्रापालनबाट वार्षिक दुई लाख ।
मौरीपालन व्यवसाय गर्न सके निकै फाइदा हुने भएकाले यस व्यवसायमा लाग्न उनी अरू युवालाई सुझाव दिन्छन् । भने, ‘कम लगानीमा मनग्य आम्दानी गर्न सकिन्छ, बेरोजगार युवाका लागि मौरीपालन व्यवसाय आम्दानीको भरपर्दाे स्रोत हो ।’ मौरीपालन व्यवसायबाट आत्मनिर्भर उनी गाउँकै लागि उदाहरणीय भएको स्थानीय मानबहादुर कार्की बताउँछन् ।
स–सानो लगानीमा थोरैथोरै मह उत्पादन गर्न सकिने भए पनि व्यावसायिक रुपमै मौरीपालन गर्न ठूलो लगानी गर्नुपर्छ । लगानीमैत्री वातावरण, आधुनिक प्रविधिसँगसँगै नेपाली मह उत्पादक कृषकलाई अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच दिलाउने राष्ट्रिय नीति आवश्यक भएको मौरीपालक किसानहरू बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार