राणाकालीन दरबारमा ढिँडो पाक्दै

विष्णु नेपाल

राणाकालीन समयमा निर्मित दरबार तथा भवन जीर्ण बनिरहेका छन् । विनाशकारी भूकम्पले यस्ता भवनलाई जीर्णाेद्वारमै समस्या आउनेगरी थिलथिलो बनाइदिएको थियो भने अर्कातर्फ, ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा रहेका जीवन्त पुरातात्विक महत्व बोकेका राणाकालीन भवनलाई मर्मत तथा जीर्णाेद्धार गरी आकर्षक नेपाली मौलक शैलीका होटलका रूपमा रूपान्तरण हुन थालेका छन् ।
तत्कालीन श्री ३ महाराजा जुद्धशमशेर जबराले बालुवाटारस्थित गैरीधारामा निर्माण गरेका दरबारलाई अहिले आकर्षक शैलीमा जीर्णाेद्धार भई रोयल एम्पाएर होटलका रूपमा स्वदेशी तथा विदेशी पाहुनालाई आतिथ्यता दिन थालेको छ ।
युवा व्यवसायी एवम् होटलका कार्यकारी निर्देशक क्षितिज मुनकर्मीले १५ वर्षका लागि सो दरबार भाडामा लिई सात करोड लगानीमा जीर्णाेद्धार गरी होटल सञ्चालनमा ल्याएको जानकारी दिए । करिब चार रोपनी जमिनमा फैलिएको सो दरबार होटलका रूपमा पुनर्जीवन प्राप्त गरे पनि यसको कलात्मकता र मौलिक सुन्दरतामा कुनै कमी आएको छैन ।
जुद्धशमशेरले सो दरबार आफ्ना छोरो ध्रुवशम्शेरलाई दिएको हुनाले सो दरबारको नाम नै ध्रुव रहेको थियो । ध्रुवशम्शेर जबराका छोरा मनोहरशमशेर जबरा हुँदै हाल अमरशमशेर जबराबाट दरबार भाडामा लिइएको उनले जानकारी दिए ।
सिंहदरबार, बागदरबार, केशरमहल, श्रीमहलभन्दा भिन्न आकृति र प्रकृतिको सो दरबार रहेको छ । होटलको भुइँतला, पहिलो र दोस्रो तलामा गरी १५ वटा सुविधासम्पन्न पाहुना कोठा रहेका छन् । यसका साथै करिब २०० जनाको सहभागिता हुने सभाहल तथा अन्य स–साना बैठक कक्षसमेत रहेका छन् । पाहुना रहने कोठा १५० डलरदेखि ३५० डलरसम्मका रहेका छन् ।

नेपाली जनजीवनका जिब्रोमा स्वादिष्ट बनेका विभिन्न खाना ढिँडोदेखि कालो धान भात, परम्परागत थकाली, नेवारीका परिकार भान्सामा बन्नेछन् । भारतीय, चिनियाँ, इटालियन तथा कन्टिनेन्टलको समेत सुविधा रहेको कार्यकारी निर्देशक मुनकर्मीले जानकारी दिए ।
बेलायतमा व्यवस्थापन संकायमा उच्च शिक्षा हासिल गरी स्वदेशमै केही गराँै भन्ने उत्साहसाथ पर्यटन क्षेत्रमा होमिएका युवा व्यवसायी मुनकर्मी भन्छन्, ‘विदेशी पाहुना यहाँका जीवन्त संस्कृति, दरबार, कलादेखि हिमालको अनुपम सुन्दरताको आनन्द लिन आउँछन्, यसलाई संरक्षण गर्न आफूले पुराना दरबार संरक्षण गरी नयाँ कामको सुरुवात गरेको हुँ ।’ घोडचढी, स्टिम, ज्याकुजीलगायत धेरै सुविधा होटलका थप आकर्षक रहेका छन् ।
रेस्टुरेन्ट, बार, साउना, ज्याकुजी, स्टिम, घोडचढीलगायतका करिब दुई दर्जन सेवासुविधा उपलब्ध छन् । दरबारको भित्री कोठा तथा बाहिरी भागलाई जस्ताको त्यस्तै दरबारकै शैलीमा बनाइएको छ । होटलको प्राप्त सुविधा लिन स्वदेशी तथा विदेशीको माग बढेको कार्यकारी निर्देशक मुनकर्मीले बताए ।
केही वर्षअघि बबरमहलस्थित बबरशमशेरको दरबार बबरमहललाई पनि जीर्णाेद्धार गरी बबरमहल रिभिजिटेडका रूपमा होटेल तथा रेष्टुरेन्ट सञ्चालन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार