युवापुस्ता सिर्जना र अध्ययनमा पछाडि, ‘मिडिया स्टन्ट’ बाजीमा अगाडि

अभय श्रेष्ठ, विनोदविक्रम केसी र संगीत श्रोता प्रगतिशील कित्ताका कवि हुन् । श्रेष्ठ, केसी र संगीत श्रोताले साहित्य लेखनसाथसाथै पत्रकारिता गर्दै आएका छन् । तीनैजनाको लेखन धारिलो छ । लेखनमा आ–आफ्नै निजत्व छ । युवापुस्तामा पत्याइएका अभय श्रेष्ठ, विनोदविक्रम केसी संगीत श्रोतासँग दीपेन्द्र राईले गरेको कुराकानी :

नेपाली साहित्यमा युवा साहित्यकारको उपस्थिति कस्तो छ ?

अभय श्रेष्ठ : युवा साहित्यकार संघर्षरत छन् । आफ्नो स्पष्ट पहिचान बनाउन खोज्दै छन् ।

विनोदविक्रम केसी : कवितामा असाध्यै भीडभाडपूर्ण उपस्थिति छ । कथा र उपन्यासमा पातलो छ । ४० वर्षमुनिकालाई युवा मान्ने हो भने नेपाली साहित्यमा युवाको उपस्थिति निराशाजनक छैन ।

संगीत श्रोता : वर्तमान अवस्थाको कुरा गर्ने हो भने युवा साहित्यकारको उपस्थिति उत्साहजनक, हस्तक्षेपकारी र सशक्त सिर्जनशीलतासहितको छ । अहिलेका युवा साहित्यकारले रूपान्तरणकारी सपना नवीन शैलीमा अभिव्यक्त गरिरहेका छन् ।

युवाले पाकालाई कसरी हेरेका छन् ?

अभय श्रेष्ठ : अरूले कसरी हेरेका छन्, म भन्न सक्दिनँ । सच्चा साहित्यकारलाई म सम्मानसाथ हेर्छु । जस्तो गोविन्द गोठाले, मनु ब्राजाकी, पूर्णविराम । अखबारमा पहुँचको भरमा ठूलो नाम बनाएका तर लेखनको सौन्दर्यचेत नभएकाले पनि हामीकहाँ वरिष्ठको दर्जा पाएका छन् । मेरा नजरमा ती केही होइनन् ।

विनोदविक्रम केसी : पाका भनेका कपाल फुलेकामात्रै होइन, ‘ट्रेन्ड सेटर’ वा प्रतिभाशाली हुन् भन्ने युवा साहित्यकारले उनीहरूलाई सम्मानपूर्वक नै हेरेका छन् । त्यहीअनुरूप व्यवहार गरेका छन् ।

संगीत श्रोता : पाका साहित्यकारलाई हेर्ने युवा साहित्यकारका दुई आँखा छन्– पहिलो, युवा लेखकलाई हार्दिकतापूर्वक प्रोत्साहित गर्ने, युवासँग संगत गर्न रुचाउने, युवालाई बाटो देखाउने वा अभिभावकत्व प्रदान गर्ने पाका साहित्यकारलाई श्रद्धा र सम्मानको आँखाले हेर्छन् । दोस्रो, युवा लेखकको अस्तित्व नस्वीकार्ने, युवाका रचनामा समीक्षा–समालोचना गर्न अन्कनाउने, प्रकाशन र प्रवद्र्धनमा निषेध गर्न चाहने, कपाल फुलेको आधारमा मात्रै वरिष्ठ भइटोपल्ने पाका साहित्यकारलाई दयालाग्दो दृष्टिले चिहाउँछन् ।

अनि पाकाले युुवालाई नि ?

विनोदविक्रम केसी : स्नेहपूर्वक हेरेका छन् । तर, उनीहरूले युवा साहित्यकारले गरिखालान् भन्ने विश्वासचाहिँ गरेका छैनन् कि । यो ‘जेनेरेसन ग्याप’ को स्वाभाविक कटुता पनि हो ।

संगीत श्रोता : उनीहरूका पनि दुई आँखा छन्– पहिलो, आलाकाँचा ठिटाठिटीलाई अर्ती उपदेश दिन इसारा गर्ने आँखा र दोस्रो, युवा जोश र जाँगरमा हौसला थप्न आफ्ना अनुभव र सीप बाँड्न उत्सुक आँखा ।

युवापुस्ताले पनि केही गर्न सकिन्छ भनेर पाका पुस्तालाई चुनौती दिएजस्तो लाग्छ ?

अभय श्रेष्ठ : युवापुस्ता त्यस स्थितिमा पुगिसकेको छैन । गोपालप्रसाद रिमाल र भूपी शेरचनका कवितालाई भेट्ने कविता त्यसपछि किन आएनन् त ? आज पनि नेपाली आख्यानकारको नाम लिँदा किन गोविन्द गोठाले, विजय मल्ल, इन्द्रबहादुर राई, रमेश विकल, मनु ब्राजाकी, शिवकुमार राई, ध्रुवचन्द्र गौतममै सीमित हुनुपर्छ ? प्रस्ट छ, युवापुस्ता सिर्जना र अध्ययनमा पछाडि र ‘मिडिया स्टन्ट’ बाजीमा अगाडि छ । यसले धेरै दिन बचाउँदैन । लेखनलाई कठोर तपस्या नमानी दुई दिनको रामरमाइलो मानुन्जेल युवापुस्ताले पाकालाई चुनौती दिन सक्दैनन् ।

विनोदविक्रम केसी : छैन । लेखनभन्दा बढी ‘स्टन्ट’बाजीमा विश्वास गर्न थालेका छौं हामी । उनीहरू लेखनको शक्तिमाथि गर्थे भने हामी लेखनको ‘ग्ल्यामर’माथि विश्वास गर्न थालेका छौं ।

संगीत श्रोता : जस्तो लाग्नेमात्रै होइन, चुनौती दिएकै छ । हरेक नयाँ पुस्ताले पुरानो पुस्तालाई चुनौती दिइरहेको हुन्छ ।

युवापुस्ताको लेखनमा निजत्व कत्तिको छ ?

अभय श्रेष्ठ : हरेक कुराको सिर्जनशील प्रभाव अघिल्लो पुस्ताबाट पछिल्लो पुस्ताले ग्रहण गर्छ । भाषाशैलीमा मात्र होइन, विषयवस्तुलाई लेखकले कसरी प्रस्तुत गरेको छ भन्नेमा पनि निजत्व झल्कन्छ । यसको अर्थ हो, नेपाली युवा लेखक निजी शैली निर्माणमा संघर्षरत छन् ।

विनोदविक्रम केसी : लेखनमा निजत्व हासिल गर्न भाषा राम्रो हुनुपर्यो । समाज र राजनीति बुझ्नुपर्यो । धेरैभन्दा धेरै लेखकका किताब पढ्नुपर्यो । त्यसो गर्ने जाँगर हामीसँग नभएकाले र लेखनलाई ‘सिरियस बिजनेस’का रूपमा नलिएकाले हाम्रो लेखनमा निजत्व अभाव छ ।

संगीत श्रोता : युवापुस्ता आफ्नो मौलिक पहिचानसहित साहित्य लेखनमा सक्रिय छ । पुरानाभन्दा अहिलेका लेखकमा निजत्व र मौलिक पहिचान विविधतायुक्त हुँदै गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार