बत्ती आए नि, बत्ती गए नि कुलमानकै सम्झना

तेस्रो आँखा संवाददाता

कवि बुद्धिसागरलाई नपढ्ने, नचिन्ने कमै होलान् । युवापुस्ताका चर्चित कविले सामाजिक सञ्जाल फेसबुकमा लेखेका स्टाटस त्यत्तिकै पठनीय, व्यावहारिक र मन छुने हुन्छन् । तपसिलका ३० भनाइ कवि बुद्धिसागर फेसबुकबाट संकलन गरिएको हो । –सम्पादक

(१) मुस्कान अनुवाद नचाहिने अन्तर्राष्ट्रिय भाषा हो ।

(२) धेरै टाढा नजानू । एकान्तमा एक्लो हुँदा खिस्स निस्केको मुस्कानमा खोज्नू मलाई ।

(३) एक्लो मान्छेले बाटोमा हिँड्दाहिँड्दै कसैलाई सम्झेर मुसुक्क हाँस्छ, सबैभन्दा मीठो हाँसो त्यही लाग्छ ।

(४) मुस्कान मित्रलाई अमृत, बैरीलाई विष ।

(५) हाँस्ने मौका मिलेका बेला यसरी हाँसौं कि, लागोस् यो नै संसारको अन्तिम हाँसो हो ।

(६) घरबाट धेरै टाढा हुँदा पनि बच्चा रोएको सुन्दा आफ्नै बच्चा हो कि भनेर झसंग भइने रै’छ ।

(७) साह्रै उजेलोले त आँखा तिर्मिराउँछ । मान्छे त अलिकति छायाँ परेकै राम्रो ।

(८) पिउनुमा पानीको मात्रा र जिउनुमा ‘पनि’ को मात्रा बढे, कति मीठो ।

(९) ‘ममात्र छु’ र, ‘म पनि छु’ कति फरक ।

(१०) एउटा पहाड उक्लिहेर, उक्लिनुपर्ने कैयांै पहाड देखिन्छन् ।

(११) रिसको उल्टो ‘सरि’ पनि हुन्छ । कहिलेकाहीं उल्टो बोल्दा नि फाइदा हुन्छ ।

(१२) भीडको ठूलो आवाजको साँघुरो संसारभन्दा, एकान्तको सानो आवाजको फराकिलो संसार दामी लाग्छ ।

(१३) कति कुरा आँखा चिम्म गरेपछि देखिन्छन् ।

(१४) समय नै यस्तो बेइमान बोले ‘मन्त्र’ हुन्छ, इमान बोले मानहानि ।

(१५) मीठो गीत, फिल्म, साहित्य वा स्मृतिले आँसु झर्छन् भने सम्झिनुस् हृदय ढुंगा भइसकेको छैन ।

(१६) सबैका आ–आफ्ना उचाइ छन् । तर, सबैलाई आ–आफ्नै सगरमाथा अग्लो ।

(१७) देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य कुरा प्रायः देखिँदैनन् ।

(१८) जिन्दगी उज्यालो हुँदा कीरा पनि झुम्मिन आउँछन्,
असल मित्र ती हुन्–
जो आफ्नै छायाँले साथ छाड्ने अँध्यारोमा पनि वरपर हुन्छन् ।

(१९) आकाशलाई प्रेम गर, त्यो सधैं रहन्छ, जता गए पनि, जुन बेला पनि । तारा वा जून त केवल अँध्यारोमा मात्रै चम्कन्छन् ।

(२०) मर्न त सबै मर्छन्, कोही चिहानमा पुग्छन्, कोही लाखौंको हृदयमा ।

(२१) अलिअलि पढेर सिकिन्छ, अलिअलि परेर । सिक्न त जसरी नि सिकिन्छ ।

(२२) सधैं आफ्नो आँखाले मात्र संसार देखिँदैन । कहिलेकाहीं अरूको आँखाबाट पनि हेर्न जान्नुपर्ने रै’छ ।

(२३) पहिला इतिहास घोकिन्थ्यो, अचेल भोगिन्छ ।

(२४) परिवार सानो, खुसी ठूलो ।

(२५) बत्ती आए नि, बत्ती गए नि कुलमानकै सम्झना आउने,
धेरै क्षेत्रमा धेरैको यसरी सम्झना आउने बनाए नि हुने ।

(२६) अरूको सफलतामा पनि खुसी हुन जाने फाइदा हुने रै’छ । किनभने आफूमात्रै सधैं सफल भइरहन सकिँदैन ।

(२७) एक दिन हामी हुने छैनौं । कसैले हाम्रोबारेमा कथासरी सुनाउनेछ । हामी स्वर्गमा होइन, कथाहरूमा हुनेछौं ।

(२८) सबै राम्रो । देशमा घाम उदाएकोे पनि राम्रो । अस्ताएको पनि राम्रो ।

(२९) पशुपतिमा चिहान हेर्दै सोच्छौं, के रहेछ र जिन्दगी,
गौशाला पुगेपछि सोच्छौं, आफ्ना रहर पूरा गरिहाल्नुपर्छ,
गौशाला कटेपछि सोच्छौं, जसरी होस् पैसा कमाइहाल्नुपर्छ ।

(३०) प्रेम कहिल्यै तगारो हुँदैन । प्रेमले तगारो खोल्छ । तगारो लाउने प्रेम नै हुँदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार