उन्मुक्ति दिवस मनाउँदै थारू समुदाय, वर्ष दिनका लागि अगुवा छनोट


काठमाडौँ । थारू समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामसाथ उन्मुक्ति दिवसका रूपमा मनाउँदै छन् ।

पूर्व झापादेखि पश्चिममा कञ्चनपुरसम्मका थारू समुदायले स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी मनाउने गर्छन् । सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारू समुदायको नयाँ वर्ष माघी पर्छ । माघ १ गतेदेखि पाँच दिनसम्म तराई क्षेत्रमा यो चाड धुमधामसाथ मनाइन्छ ।

पुसको अन्तिम दिन रातभरि जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गर्ने गरिएको माघी अध्ययन अनुसन्धानमा लागेका कृष्णराज सर्वहारीले जानकारी दिँदै भने, ‘आफूभन्दा ठूलासँग आशिर्वाद लिई सानालाई आशिर्वाद दिने गरिन्छ । बहिनी र छोरीलाई विशेष दान दिने संस्कृति थारू समुदायमा रहेको छ ।’

संवत् २०५७ साउन १ गते कमैया मुक्ति हुनुअघि माघ १ गतेका दिन मालिकका घरमा काम गर्न बसेकालाई घर फेर्न दिने चलन थियो । यसैले यस चाडलाई उन्मुक्तिको चाड भनेर थारू समुदायमा चिनिन्छ ।

माघ १ गते बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशिर्वाद लिने परम्परा थारू समुदायको छ । बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरूले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरू चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।

तिलले स्नान गर्नु, तिलको तेल घस्नु, पितृलाई तिलयुक्त जल दिनु, तिल हवन गर्नु, तिल दान गर्नु र तिल खाई ६ प्रकारले तिलको प्रयोग जसले गर्छ, त्यो असफल हुँदैन भन्ने विश्वास थारू समुदायमा छ । तिलको तेल घस्नाले शरीरको तापक्रम बढ्न गई जाडो कम हुन्छ वैज्ञानिक मत छ ।

गाउँका मुखिया, महतो, गुरुबा, पुजारी, धामीझाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने सबैले माघीका दिन आपसी सहमतिबाट एक वर्षका लागि अगुवा छनोट गर्छन् । थारू समुदायमा आज गरिएको सहमति एक वर्षका लागि अकाट्य हुन्छ । बीचमा फेरबदल हुँदैन । यस प्रथालाई ‘माघी देवानी’ भनिन्छ ।

नेपालमा लोकतान्त्रिक शासन व्यवस्था प्रारम्भ हुनुअघिदेखि नै थारू समुदायमा माघ १ गते अगुवा चुन्ने प्रचलन थियो । २० वर्षसम्म स्थानीय निर्वाचन नहुँदा पनि थारू बाहुल्य भएका ठाउँ जनप्रतिनिधिविहीन नभएको अध्येता सर्वहारीले बताए । थारू समुदायले वर्षभरि गरेका कामको समीक्षा आजैका दिन गर्छन् ।

विशेषगरी तराईका थारूले चामल र मासको दालबाट बनाइएको खिचडी खाने हुनाले यस चाडलाई तराई क्षेत्रमा खिचडी भन्ने चलन छ । थारू समुदायका मानिसले माघीका दिन खानका लागि पुसकै दिन अनदी चामलको जाँड बनाएर राख्ने गर्छन् । विवाह, यात्रा, बसाइँ–सराइँका लागि माघीका समयमा साइत हेर्न नपर्ने विश्वास पनि थारू समुदायमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार