कागका लागि पुसमै रोटी तयार

विनोदसिंह विष्ट

बैतडी । बैतडीलगायत सुदूरपश्चिमका अधिकांश जिल्लावासीले कागका लागि रोटी पकाइसकेका छन् ।

सुदूरपश्चिममा माघेसङ्क्रान्तिलाई नरहरि सङ्क्रान्तिका रूपमा मनाइँदै छ । नरहरि सङ्क्रान्तिको अघिल्लो दिन पुस ३० गते राति मीठोमसिनो खाने चलन रहिआएको छ । पुस ३० गते राति खासगरेर चामलको पीठोबाट माँडा पकाउने चलन छ ।

माघ धार्मिक महिना भएकाले यसलाई नरहरि भनिएको पं दयाकृष्ण पन्तले बताए । नर (मानिस) हरि (विष्णु) मा लीन हुने अथवा उपासना गर्ने महिनाको सुरुवात भएकाले माघेसङ्क्रान्तिलाई नरहरि भनिएको पण्डित पन्तले बताए । आज तरुललगायत खानेकुरा खाइन्छ । पकाइएको माँडा सबैभन्दा पहिला कागका लागि छुट्याइन्छ अनि मात्र घरपरिवारका सदस्यले खाने गर्छन् ।

सुदूरपश्चिमका जिल्लामा पुसे तिहार अर्थात् माघेसङ्क्रान्तिमा कागलाई सेलरोटी र अन्य मीठा परिकार खुवाउने चलन छ । सालिन्दा पुस मसान्तमा सेलरोटी पकाउँदा सबैभन्दा पहिला पाकेको रोटी कागलाई दिने गरिन्छ । उक्त खानेकुरा माघेसङ्क्रान्तिका दिन बिहानै नुहाइधुवाइ गरी ‘का कौवा का–का मेरो रोटी खा,’ ‘का कौवा झुनमुने खाइझा’ भनेर बालबालिकाले कागलाई बोलाउँदै खुवाउने प्रचलन छ ।

नरहरि सङ्क्रान्तिमा विवाहिता माइत जाने चलनसमेत रहेको स्थानीय हेमराज गिरीले जानकारी दिए । नरहरि सङ्क्रान्तिको दिन विभिन्न नदी तथा तलाउमा नुहाउने चलन छ । चिसो पानीले नुहाउँदा पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार