हलेसीलाई त्रिधार्मिकस्थल बनाउने सांसद विशाल भट्टराईको प्रतिबद्धता

सुनकोसीको बतासेघाटमा पनि मोटरेबल पक्की पुल

दीपेन्द्र राई

काठमाडौं । सांसद विशाल भट्टराईले हलेसीलाई त्रिधार्मिकस्थल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । होलेसुङ समूहद्वारा आयोजित बधाइ, शुभकामना तथा सम्मान कार्यक्रम सम्बोधन गर्दै सांसद भट्टराईले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

‘भौतिकसँगै सामाजिक, सांस्कृतिक र मानवीय विकासमा ध्यान दिनुपर्छ,’ उनको भनाइ छ,‘ त्यो नै दिगो हुन्छ । त्यसका लागि ध्यानपूर्वक काम गर्नेछु ।’

हलेसीको प्राथमिकता भनेको गुरुयोजना पनि हो । उनले थपे, ‘एकपटक हलेसी, दिक्तेल र काठमाडौंमा प्रबुद्ध व्यक्तिसँग छलफल गरी हलेसी गुरुयोजना स्वीकृत गर्न सकिन्छ । स्वीकृतपछि तत्काल कार्यान्वयनमा लैजानुपर्छ । त्यतिबेला अर्बौं बजेट चाहिन्छ । हलेसीमा लगानी गर्नु भनेको शिक्षामा लगानी गरेजस्तै हो । लगानी सजिलै उठाउन सकिन्छ ।’

पूर्वाधार निर्माणमा ध्यान दिन सके रोजगारी सिर्जना गर्न सकिने सांसद भट्टराईको बुझाइ छ । रोजगारी सिर्जना भए जनताको जीवनस्तरसमेत उकासिन्छ । हलेसीमा २०/३० वटा हेलिकोप्टर, एक/दुई हजार गाडी पार्किङ गर्न मिल्ने जग्गा चाहिन्छ । मन्दिरवरिपरि खुला हुनुपर्छ । ‘मन्दिरको गेटमै घर बनाइएको छ,’ उनले दुःखेसो पोखे, ‘तिनैले २०४२ सालमा मुआब्जासमेत खाएका छन् । आज त्यो विषय उठाए ढुंगा हान्न आउँछन् ।’

खोटाङबाट दोस्रोपटक निर्वाचित सांसद विशाल भट्टराईले हलेसी–तुवाचुङ नगरपालिकाका सात वडालाई दृष्टिगत गर्दै खानेपानी व्यवस्था मिलाउन काम सुरु भएकोसमेत जानकारी गराए । सांसद भट्टराईले हलेसी–तुवाचुङ नगरपालिकाका सात वडाको टोलटोलमा खानेपानी पुर्याउन ३३ करोड रुपैयाँको टेन्डर भइसकेको बताए ।

‘प्रत्येक गाउँ/नगरको केन्द्रमा पक्की बाटो पुर्याउने सरकारको प्राथमिकता छ,’ उनले सुनाए, ‘मध्यपहाडी लोकमार्गले छापडाँडालाई छोएको छ । त्यतिले मात्रै पुग्दैन । हलेसी–तुवाचुङ नगरपालिका–५ सुनकोसीमा रहेको बतासेघाटमा पक्की पुल बनाएर अर्को पक्की सडकले जोड्नुपर्छ । बतोसघाटमा पक्कीपुल बनाउन पहल गर्नेछौं । यो काम प्रदेश या केन्द्रले गर्ने प्रस्ट छैन । प्रदेशले गर्ने भए राजनजी (खोटाङ क्षेत्र नम्बर १ प्रदेशसभा सदस्य) हुनुहुन्छ । केन्द्रले हेर्न परे म छँदै छु । जताबाट हुन्छ, त्यतैबाट योजना हाल्नेछौं ।’ उनले कोसी वारीपारि सडक निर्माण भए पनि पुल नभएको खोटाङका सात नाकामा पक्की पुल बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

बतासेघाटमा पक्की पुल बनाउन प्रदेशको भाग परे राजन राई हुनुहुन्छ । केन्द्रले हेर्न परे म छँदै छु : विशाल भट्टराई, सांसद 

यसैगरी, ८०० मेगावाटको दूधकोसी हाइड्रोपावर, हलेसीलाई त्रिधार्मिकस्थल, सगरमाथा स्वर्ण चक्रपथ (सोलुखुम्बु, ओखलढुंगा र खोटाङ जोड्ने रिङरोड) निर्माणकार्य आफूले प्राथमिकतामा राखेको उनले जानकारी गराए । सगरमाथा स्वर्ण चक्रपथका लागि २० करोड बजेट विनियोजन भई सोलुखुम्बुबाट खोटाङको ऐंसेलुखर्क जोड्ने सडक निर्माणका लागि टेन्डर लागिसकेको छ ।

त्यतिमात्रै होइन, जिल्लाका प्रत्येक गाउँपालिका केन्द्रमा अस्पताल, मालपोत, नापी कार्यालय, बैंक स्थापना गरिनेछ । उनले भने, ‘हामीले थाहा नपाएका, नदेखेका र हाम्रो प्राथमिकतामा नपरेका कतिपय विषय होलेसुङ समूहमार्फत जानकारी पायौं । तपाईंहरूद्वारा सुझाइएका विषयवस्तु आफ्नो कामका मार्गदर्शकका रूपमा स्वीकार्छाैं ।’

प्रदेशसभा सदस्य राजन राईले राजनीतिक मुद्दा सकिएकाले विकास निर्माणमा तीव्रोत्तर रूपमा अघि बढ्ने बताए । खोटाङ क्षेत्र नम्बर प्रदेशसभा सदस्य राईले आफ्नो विवेक, सामथ्र्य र जनताको सल्लाह, सुझावका साथै जनसहभागितामा काम गर्ने वाचा गरेका छन् ।
‘नीतिगत कारणले तल–तलका काम प्रदेशसभा सदस्यले गर्न नसक्लान्,’ उनले बाध्यता सुनाए, ‘तर, मुख्य–मुख्य कामको खाका बनाएर अघि बढ्न सकिन्छ ।’

प्रदेशसभा सदस्य राईले हलेसीलाई त्रिधार्मिक स्थल बनाउन साहस गर्नैपर्ने बताए । वाम गठबन्धनको संयुक्त घोषणापत्रको १९ नम्बर पेजमा खोटाङको हलेसी, पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र लुम्बिनीलाई पर्यटकीय स्थलका रूपमा विकास गरिने उल्लेख भएकाले हलेसीलाई त्रिधार्मिकस्थल बनाउन सो घोषणापत्रले आधार तय गरेको तर्क पेस गरे ।

हलेसीलाई त्रिधार्मिक स्थल बनाउन साहस गर्नैपर्छ : राजन राई, प्रदेशसभा सदस्य

हलेसी आइपुगेकाले दर्शन, आध्यात्मिक शान्तिमात्रै नभएर ‘रिफ्रेस’ गराउन सक्नुपर्ने सुझाउँदै उनले संसारबाटै लोप हुन लागेको रेडपान्डा हेर्न खोटाङको फेदी, सुङ्देल र भीरमौरी हेर्दै महको स्वाद चखाउन सुङ्देल, फेदी र दिप्सुङ पुर्याउन सके पलासको फूलमा सुगन्ध हुने सुझाए ।

मुन्धुम अध्येता भोगीराज चाम्लिङले भौतिकभन्दा सामाजिक र सांस्कृतिक विकास होलेसुङ समूहको अपेक्षा रहेको प्रस्ट्याए । मुन्धुम अध्येता चाम्लिङले तपाईंहरू (प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, खोटाङ क्षेत्र नम्बर १ र २ का प्रदेशसभा सदस्यद्वय राजन राई र रामकुमार राई पासाङलाई सम्बोधन गर्दै) को पालामा ‘मेगा प्रोजेक्ट’ सुरु होस् भन्ने समूहले महत्वाकांक्षी अपेक्षा गरेको सुनाए ।

‘विकासको वैकल्पिक मोडालिटीमा सोचिदिनसमेत अनुरोध गर्छौं,’ होलेसुङ समूह सदस्यसमेत रहेका उनले सुझाए, ‘विकासे चक्र उल्टिनेगरी विकासको मोडालिटी परिवर्तन गरे सो मोडालिटी खोटाङ र प्रदेश नम्बर १ का लागि मात्रै नभएर मुलुकलाई कामयावी हुनेछ ।’
सामाजिक र सांस्कृतिक क्षेत्रमा हलेसी १ नम्बर प्रदेशको सांस्कृतिक र आर्थिक गतिविधिको केन्द्र बन्दै छ । ‘हलेसीलाई त्रिधार्मिक स्थल बनाइए १ नम्बर प्रदेशको सांस्कृतिक र आर्थिक केन्द्र बन्ने पक्कापक्की छ,’ उनले सुझाए, ‘हलेसीलाई त्रिधार्मिकस्थलका रूपमा राजकीय मान्यता दिन ऐन–कानुनमै उल्लेख गर्न अपरिहार्य छ । तीन धार्मिक समूहको एउटै आस्थाकेन्द्र विश्वमा कहीं छैन । हलेसीलाई त्रिधार्मिकस्थलका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सके विश्वमा जातीय अधिकारको कुरा उठ्दा र साम्प्रायिक रङ देखिन खोज्दा त्यसलाई चिर्नसमेत हलेसी उदाहरण बन्न सक्नेछ । त्यतिबेला गुफाबाटै ठूलो सन्देश प्रवाह गर्न सकिन्छ ।’

भौतिकभन्दा सामाजिक र सांस्कृतिक विकास होलेसुङ समूहको अपेक्षा : भोगीराज चाम्लिङ, मुन्धुम अध्येता

गीर्वाणयुद्धविक्रम शाहले १८४३ मा मनोहर गिरीलाई पुजारीका रूपमा स्थापित गर्नअघि मथुर र कथुर नाम गरेका दुई किरातीले हलेसी गुफामा पूजा गर्थे । किरातीलाई फापेन वा फाप्दैन भन्ने भएपछि महन्तलाई पुजारी राखिएको थियो । हिजोआज पनि किरातीले हलेसीमा सालिन्दा वैशाखे पूर्णिमा (उँभौली) र मंसिरे पूर्णिमा (उँधौली) मा साकेला नाच्ने र आफ्नै तरिकाले पूजापाठ गर्ने गर्छन् ।

सालिन्दा आठ/दस देशका बौद्ध धर्मावलम्बी हलेसी आउने गर्छन् । खोटाङ र उदयपुरको बतासेघाटमा पक्कीपुल निर्माण गर्न सके भारतका लाखौं हिन्दु धर्मावलम्बी र नेपालदेखि भारतसम्म फैलिएका किरातीलाई हलेसीप्रति आकर्षित गर्न सकिन्छ ।

‘हिजोआजै हलेसीसम्म आउन पर्यटक आकर्षित गरिए त्यही किसिमको सुविधा दिन सकिँदैन । त्यहीअनुसारको सडक सञ्जाल, हवाई सुविधा छैन,’ चाम्लिङले सांसदद्वय भट्टराई र राईसमक्ष अनुरोध गरे, ‘हलेसी आइपुगेका पर्यटकलाई सहज रूपमा व्यवस्थापन गर्न ठुल्ठूला लगानीकर्तालाई हलेसीमा लगानी गर्न पहल गरिदिनुपर्यो । हलेसी आसपासमै विमानस्थल बनाउन सके पर्यटक त्यत्तिकै आकर्षित हुने थिए । हलेसीको लाभ सबैभन्दा बढी खोटाङले लिनेछ ।’

तपाईंहरू (प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, खोटाङ क्षेत्र नम्बर १ र २ का प्रदेशसभा सदस्यद्वय राजन राई र रामकुमार राई पासाङ) को पालामा ‘मेगा प्रोजेक्ट’ सुरु होस् :  होलेसुङ समूह

 

पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेपछि अलपत्र रहेका गढी १ नम्बर प्रदेशमा सयका हाराहारी छन् । ती गढीको पुरातात्विक अध्ययन भएको छैन । १ नम्बर प्रदेशको गढी उत्खनन, पुनःनिर्माण गरी संरक्षण गर्दै नपुगेका गढीसम्म सडक सञ्जाल विस्तार गरी गढीहरूको सडकमार्ग वा पदमार्ग बनाउन सकिने चाम्लिङको भनाइ छ । यो काम थालिएमात्रै पनि मुलुककै लागि उदाहरणीय बन्न सक्छ । पर्यटकीय, सांस्कृतिक तथा सामाजिक हिसाबले उत्तिकै उपयोगी पनि मानिन्छ ।

२००७ मा काँग्रेसको सक्रियता र वामपन्थीको सहयोगमा क्रान्ति भएको थियो । त्यो क्रान्तिको आधारभूमि १ नम्बर प्रदेश भएको इतिहासले पुष्टि गरेको छ । ‘त्यतिबेला भोजपुर केन्द्र बनाएर खोटाङ, ओखलढुंगा, रामेछाप हुँदै दोलखाको चरीकोटसम्म जनमुक्ति सेनाले राणाका फौजलाई लखेटेका थिए,’ चाम्लिङको ठम्याइ छ, ‘जनमुक्ति सेनाले हिँडेको बाटो अध्ययन गरेर क्रान्ति पदमार्ग वा क्रान्ति सडकमार्ग खोलिए त्यसले पर्यटकीय र सांस्कृतिक हिसाबले ठूलो सन्देश प्रवाह गर्न सकिन्छ ।’

विकसित देशमा भौतिक हिसाबले सुविधासम्पन्न ‘रिमोट एरिया’ को शान्त ठाउँमा राजधानी बनाइन्छ । विश्वविद्यायल खोलिन्छन् । १ नम्बर प्रदेशको प्राज्ञिक थलो अर्थात् विश्वविद्यालय खोटाङमा स्थापना गर्न चाम्लिङले खोटाङे सांसदसमक्ष अनुरोध गरे ।

होलेसुङ–जनकराज राई मार्ग कालोपत्रे र बतासेघाटमा पक्कीपुल निर्माणका लागि अनुरोध : जनकराज राई, संयोजक, होलेसुङ समूह

होलेसुङ समूह संयोजक जनकराज राईले सांसदद्वय भट्टराई र राईलाई १३ दशमलव २७० किलोमिटर दूरीको होलेसुङ–जनकराज राई मार्ग कालोपत्रे गर्न अनुरोध गरे । होलेसुङ–जनकराज राई मार्ग ०६९ चैत ५ गते निर्माण सुरु भई २०७२/०७३ निर्माण सम्पन्न भएको थियो ।
होलेसुङ समूह संयोजक राईले हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम गणेशटार र सुनकोसी गाउँपालिकाको साबिक बाँसबोटे गाविसको बतासेघाटमा पक्कीपुलका निर्माणका लागि पहल गरिदिनसमेत निवेदन गरेका थिए ।

‘हलेसीको समृद्धि भनेको खोटाङको समृद्धि हो,’ शिक्षा मन्त्रालयमा कार्यरत शाखा अधिकृत भूपेन्द्रकुमार राईको तर्क छ, ‘खोटाङको समृद्धि १ नम्बर प्रदेशमात्रै नभएर मुलुककै समृद्धि हो ।’

होलेसुङ समूह सदस्यसमेत रहेका शाखा अधिकृत राईले भनाइ छ, ‘बतासेघाटमा पक्कीपुल निर्माण भए १ नम्बर प्रदेश, तराईका अधिकांश जिल्लावासीमात्रै नभएर भारत, श्रीलंका, भुटान, बंगलादेशबाट हलेसी आउने पर्यटकका छोटो दूरीको बाटो हुनेछ । यही बाटो भएर विश्वको सर्वोच्च शिखर सगरमाथासम्म पुग्न सकिन्छ ।’

हलेसीको समृद्धि मुलुककै समृद्धि : भूपेन्द्रकुमार राई,  शाखा अधिकृत, शिक्षा मन्त्रालय

हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम स्थायी घर भई काठमाडौंमा बसोवास गर्दै आएकाले होलेसुङ समूह स्थापना गरेका हुन् । समूह विशुद्ध सामाजिक संस्था हो । उसले स्थापनाकालदेखि सामाजिक काम गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार