दैनिक पत्रिका छाड्दै अनलाइनतिर चल्तापुर्जा पत्रकार

कुसुम भट्टराई

पत्रकार मित्र विष्णु सुवेदीले अन्नपूर्णपोस्ट दैनिक छाडेर नेपालतारा डटकम सुरु गरे । बालकुमार नेपाल, केशव खनाल, गोपाल खनाल, बालकृष्ण बस्नेत, सरोजराज अधिकारीलगायतका जल्दाबल्दा पत्रकार ‘प्रिन्ट मिडिया’ छाडेर अनलाइन मिडियामै रमाएका छन् ।

नारायण वाग्ले, अमित ढकालहरूले ‘प्रिन्ट मिडिया’ छाडेको धेरै भयो । उनीहरू अचेल सेतोपाटीमा छन् । प्रतीक प्रधानजी पनि बाह«खरी डटकममा भिडेका छन् । भर्खरै पत्रकार विनिता मरहट्ठा अन्नपूर्णपोस्ट दैनिक छाडेर देशसञ्चार डटकमतिर लागेकी छन् ।

युवराज घिमिरे र मनोज दाहालजीले पनि एपी छाडेर देशसञ्चार डटकम सुरु गरे । अहिले आएर दीपेन्द्र लामाले पनि नयाँ पत्रिकाको ‘गज्जब’ साप्ताहिकको कपी छाडेर फरकधार डटकम सुरु गरेका छन् ।

बडा खुसीको बात छ । कर्पाेरेट ठुला मिडियाले श्रमजीवी पत्रकारलाई अब २०/२५ हजार रुपैयाँमा मजदुर बनाउने दिन गए । अब यसले ट्रेन्डकै रूप लिनेछ । दैनिक पत्रिकामा काम गर्ने पत्रकारकै अभाव हुने अवस्था टड्कारो देखिँदै छ ।

मेरै अनुभव काफी छ । पहिला म अन्नपूर्ण पोस्टमा २५ हजार रुपैयाँ मासिक तलबमा वरिष्ठ उपसम्पादक हुँदा बिहान ११ बजेदेखि राति दुई बजेसम्म कार्यरत हुनुपथ्र्याे । अन्त कुनै मिडियामा काम गर्न पाइँदैनथ्यो । अब दायाँबायाँ नगर्ने भएकाले अतिरिक्त आम्दानी केही थिएन । बाँच्नै धौ–धौ थियो ।

अचेल म केही अनलाइनमा ‘फ्रिलान्स’ ढंगले काम गर्छु । महिनाको ५०/६० हजार रुपैयाँ, त्यो पनि घरै बसीबसी कमाउँछु । दैनिक पत्रिकाका सम्पादक, मालिक र त्यसमा पनि विभागीय हाकिमको चाकडी गर्नुपर्दैन । यही मौकामा म केही पुस्तकको सम्पादन र लेखनमा पनि भिड्न पाइरहेको छु । त्यसबाट पनि आय भइरहेको छ भने म किन कुनै दैनिक पत्रिकाको कामदार बन्ने ?

केही दैनिक पत्रिकाको सम्पादक बडा निरीह पाएँ । उसले हामी श्रमजीवीको हितमा मालिकसँग चुँसम्म गर्न सक्दैन । ऊ एकप्रकारले मालिकको वफादार कारिन्दा न हो । एक÷डेढ लाख रुपैयाँ तलब थाप्ने, गाडी चढ्ने, मालिकको दाबेदारी गर्ने, साँझ दूतावासको ‘दारुपार्टी’ मा जाने, सम्पादकीयसमेत आफूले नलेख्ने र राति मातेर ह्वास्स मुख गन्हाउँदै आएर ‘कुसुमजी यो मनोरञ्जन समाचारमा विद्या बालनको अलि सेक्सी फोटो राख्नुस् न, यो फोटो त अलि भएन’ भनेर बनिसकेको पेज भत्काउन लगाउनेबाहेक केही सम्पादकको हुती मैले खासै देखिनँ । अनि त्यस्ता सम्पादकलाई नमस्कार गरेर बस्न मेरो मनले मानेन र ‘दैनिक पत्रिकामा बाइलाइन छाप्ने रोग’ बाट म मुक्त भएँ ।
देख्दै छु– अचेल मेरा धेरै मित्र त्यो रोगबाट मुक्त हुँदै छन् । साँच्चै, संकटमा छन्, कर्पाेरेट दैनिकहरू ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार