अनिकाल लाग्दा जापानमा लाटोकोसेराको तस्बिर राखिने

मनोज पौडेल

चराले सबैलाई मनमोहक आनन्द दिन्छ । दीर्घायु र खुसी प्रदान गर्छ । त्यसैले नेपाल चरा पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै छ । नेपालमा ८८६ प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये ७८ प्रजातिका सिकारी चरा पाइन्छ । सिकारी चराका लागि सिकार महत्वपूर्ण हुन्छ । त्यही सिकारले जीविकोपार्जन गर्छन् । तर, सिकारी चराले गर्ने सिकार उनीहरूका लागि जति महत्वपूर्ण छ, त्योभन्दा बढी समाजका लागि छ । उनीहरूले गर्ने सिकारले खाद्यशृंखला सन्तुलित र गतिशील राख्न महत्वपूर्ण भूमिका खेल्छ । पर्यावरणीय चक्र सन्तुलन राख्न योगदान गर्छ । नेपालमा पाइने विश्वका दुर्भल ३५ मध्ये १० प्रजातिका त सिकारी चरा छन् ।

लाटोकोसेरो टाइटोनिडी र स्ट्रागिडी, चील र गिद्ध एक्सिपिट्रडी तथा बाजहरू फाल्कोनिडी परिवारमा वर्गीकरण गरिएका सिकारी चरा हुन् । यिनीहरूमा विभिन्न प्रजाति छ । तीखा र बलिया घुम्रिएका नङ्ग्रा भएका खुट्टाले सिकार समात्छन् । अनि अंकुशजस्तै चुच्चो भएको मुखले खान्छन् । यिनीहरूको बन्दुक भनेकै बलिया खुट्टा हो । खुट्टाले नै जीवजन्तु समात्न माहिर हुन्छन् ।

२९ सेमि लामो बेसरा बाजदेखि १२५ सेमि लामो हिमाली गिद्धसम्म सिकारी चरा हुन्छन् । चील, बाज, लाटोकोसेरो र हुचिल आफैं सिकार गरी मारेर खान्छन् भने गिद्धले आफैं सिकार नगरी सिनो खान्छन् ।

लाटोकोसेरो, बाज र चीलले हानिकारक कीराफट्याङ्ग्रा, भ्यागुता, चमेरा, भ्यागुता र मुसालाई आहार बनाउँछन् । सर्पहारी चील र काकाकुलले सर्प खाएर तिनलाई नियन्त्रण सहयोग गरिरहेका छन् । यसले सनातन खाद्यचक्र गतिशील र पारिस्थितिक प्रणाली सन्तुलित राख्न महत्वपूर्ण भूमिका निर्वाह गरेर प्रकृतिलाई सन्तुलित बनाउने गरेको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । बालीनाली नाशकलाई खाएर सिकारी चरा कृषकको उपयोगी साथी बन्ने गरेका छन् । यसले उत्पादन धेरै भई आम्दानी बढाउनसमेत मद्दत पुग्ने हँुदा सिकारी चरा कल्याणकारी पक्षी बनेको उनले थपे ।

लाटोकोसेरो प्रकृतिको स्वस्थ सूचक काम पनि गर्छ । भारतीय उपमहाद्वीपका वनक्षेत्रमा बस्ने चस्म उलुक धेरै पुराना र मान्छेको आवतजावत एकदमै कम भएका सालका जंगलमा मात्रै बस्छन् । त्यसैले सिकारी चराको उपस्थिति पारिस्थितिकीय स्वस्थताको अनिवार्य आवश्यकता बनेको छ । एउटा लाटोकोसेरोको प्रजातिले फुल पारेर बच्चा हुर्काउने बेलासम्म करिब तीन हजार मुसा खाने भएकाले यिनलाई किसानको साथी पनि भनिने विश्व लाटोकोसेरो कोष स्वयंसेवी नेपाल प्रतिनिधि राजु आचार्यले बताए । तराईदेखि हिमालसम्मै पाइने लाटोकोसेरो आवाज ननिकालीे उड्ने हुँदा रातमा सजिलै सिकार गर्छ । खाद्यचक्रमा सम्पूरकको भूमिका खेल्ने सिकारी चराको अभावमा आश्रित शृंखलामा रहेका अन्य प्राणीको जीवनपद्धतिमा समेत गम्भीर प्रभाव पर्छ । त्यसैले प्रकृतिलाई सन्तुलित राख्न पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनले बताए ।

गिद्धले सिनो र फालेका फोहोरजन्य मासुजन्य पदार्थ खाई वातावरणलाई प्रदूषित र दुर्गन्धित हुनबाट बचाउँछ । त्यसकारण रोगमुक्त बनाउन भूमिका खेल्ने मानव सहयोगी सिकारी चरा गिद्धलाई प्रकृतिको कुचिकारका रूपमा चिनिने संरक्षणकर्मी षडानन्द पौडेलले बताए । यसकै कारण हैजा, रेविज, प्लेग र एन्थ्राक्स महामारी सरुवा रोग फैलनबाट रोकिएको छ । मानिसभन्दा आठ गुण टाढासम्म देख्ने सिकारी चरा गिद्ध सिनो खोज्न तीन सय किमिसम्म उडेर आवतजावत गर्छन् । एउटा गिद्धले एक वर्षमा एक सय २० किलो मासु खान्छन् ।

सिकारी चरा पर्यावरणीय दृष्टिले मात्र नभई धार्मिक र सांस्कृतिक हिसाबले पनि महत्वपूर्ण मानिने स्थलजीवविज्ञ कृष्ण भुसालले बताए । हिन्दु धर्ममा गिद्धलाई शनि देवताको वाहनका रूपमा पुजिन्छ भने रामायणमा रावणले सीताहरण गर्दा रक्षक न्यायिक योद्धाको भूमिका निर्वाह गरेको उल्लेख रहेको उनले बताए । नेपालका हिमाली क्षेत्रमा बस्ने तिब्बतियनमूलका लामाले शव गिद्धलाई खुवाउँछन् । जसको शव गिद्धले राम्ररी खान्छ ऊ धर्मात्मी र स्वर्गमा जान्छ भन्ने धार्मिक जनविश्वास रहेको छ । मुम्बईका पारसी समुदायले पनि मृतकका शव साइलेन्स टावरमा राखेर गिद्धलाई खुवाउँछन् । चीललाई भगवान् विष्णुको वाहन गरुडका रूपमा पूजा गरिन्छ । संसारका धेरै सभ्यतामा लाटोकोसेरोले अन्धकारमा देख्ने शक्तिको अज्ञानता चिर्ने विद्वता र ज्ञानको प्रतिनिधित्व गर्छ । लाटोकोसेरोलाई धनकी देवी लक्ष्मीको वाहनका रूपमा पुजिन्छ । इसाई धर्ममा लाटोकोसेरोलाई प्रभु येशुको ज्ञानको प्रतिनिधि पात्रका रूपमा हेरिन्छ, जुन जीवनको अन्धकार हटाउन महत्वपूर्ण मानिन्छ । जापानका घरमा अनिकाल र महामारीजस्ता प्राकृतिक विपत्तिलाई टाढा भगाउन लाटोकोसेराका तस्बिर राख्ने चलन छ ।

त्यसैले सिकारी चरा खाद्यशृंखलाको संयोजक, जैविक विविधताका महत्वपूर्ण सूचक र वातावरणीय सन्तुलनको व्यारोमिटरमात्र नभई धार्मिक र सांस्कृतिक आस्थाको धरोधर पनि हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार