डेढ सय घरको छानो एउटै रङको

दीपेन्द्र राई

khumjungघर बनाउँदा हरियो रङकै छानो छाउनुपर्छ भन्ने छैन । तर, सोलुखुम्बुको खुम्जुङ र खुन्दे गाउँमा घरको छानो हरियो रङकै हुनुपर्छ । यो अनिवार्य सर्त हो ।

स्थानीयले यो सर्त पालना गर्नैपर्छ । र, गर्दै पनि आएका छन् । तसर्थ, खुम्जुङ र खुम्जुङसँगैका सीमावर्ती गाउँ खुन्देवासीका घरको छानो एकै रङका बन्न पुगे । खुम्जुङ र खुन्देमा डेढ सय घर धुरी रहेका छन् । डेढ सय घरका छानो एकै रङको बनेपछि गाउँको रूप बदलिएको छ ।

हरियो रङको छानो भएकाले नै खुम्जुङ र खुन्दे गाउँ लोभलादो देखिन्छ । गाउँभरिका घरको छानो हरियो रङको भएकाले खुम्जुङले ग्रीनभ्यालीको उपमा पाएको हो । ‘ग्रीन भ्यालीका रूपमा चिनिएका खुम्जुङ र खुन्दे सोलुखुम्बुका अन्य गाउँभन्दापृथक र लोभलाग्दो देखिएको,’ खुम्जुङ गाउँ विकास समिति पूर्वउपाध्यक्ष लाक्पानुरु शेर्पाले बताए ।

‘गाउँ लोभलाग्दो देखिएपछि नाम्चे हुँदै तेङ्बोचे जानुपर्ने पर्यटकको पाइला खुम्जुङतिर सोझिन्छ । खुम्जुङलाई ग्रीनसिटीका रूपमा अघि सार्नुको औचित्य भनेको यहाँ आइपुगेका पर्यटकको बसाइ लम्ब्याउनु पनि होे । जानियो भने घरको छानो देखाएरसमेत पर्यटक लोभ्याउन सकिँदोरहेछ,’ स्थानीय तेन्जिङ टासी शेर्पाले भने, ‘अन्ततः यहाँका घरको छानो नै पर्यटक लोभ्याउने शीर्षक बन्यो ।’

यहाँको घरको छानो हरियो भएकाले पर्यटकमात्रै होइन चराचुरुङ्गीसमेत आकर्षित भएका छन् । पहिले–पहिले जङ्गलमा मात्रै देखिने चराचुरुङ्गी अहिले घरका छानोछानोमा चिरबिर–चिरबिर गरिरहेका देखिन्छन् । ‘चराचुरुङ्गीले चिरबिर–चिरबिर गर्दै गाएको गीत सुनिरहूँ लाग्ने,’ स्थानीय खुम्जुङ महिला समूहकी पेमा डोमा शेर्पाले बताइन् । शेर्पाका अनुसार कतिपय चराचुरुङ्गी त गाउँमै बास बस्छन् पनि । त्यसमा पनि कतिपय चराचुरुङ्गीले घर–घरमै गुँड लगाएका छन् ।

गाउँभरिका सबै घरको छानो एकै रङको बनाउने आफूले देखेको सपना गाउँलेलाई सुनाउँदा एकताका स्थानीय तेन्जिङ शेर्पा आलोचित बनेका थिए । आलोचित शेर्पाले देखेका सपना टीएमआई (द माउन्ट) नामक संस्थाले साकार पारेको छ । द माउन्ट र स्थानीयको सहकार्यमा गाउँको रूप बदल्न सहज भएको हो ।

पर्वतारोहीका गाउँ भनेर चिनिने खुम्जुङका ३५ भन्दा बढीले कलिलै उमेरमा सगरमाथा आरोहण गरिसकेका छन् । सगरमाथा आरोहण यहाँका बासिन्दाको मुख्य काम हो । खुम्जुङमा जोकोहीले घर बनाउँदा घरमालिकले घरको छानो हरियो रङको छाउनैपर्छ । खुम्जुङमा घर बनाएर बस्ने रहर गर्नुभएको छ भने तपाईंको रहर पूरा हुने छैन, किनकि जिल्ला (सोलुखुम्बु) बाहिरकालाई यहाँ जग्गा खरिदमा रोक लगाइएको छ । जसले गर्दा तपाईंको रहर अल्पिएर जाने नै भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार