प्रचार–प्रसारका कुशल कमान्डर


राजनीतिका उज्याला र अँध्यारा दुवै पाटा छन् । नेपाली राजनीतिका अनेकौं अप्ठ्यारा घुम्ती र मोडका कारण आममान्छेका लागि राजनीति उतिधेरै प्रिय बनिसकेको छैन । नेपाली राजनीतिज्ञहरूप्रति आममान्छे त्यतिधेरै आशावादी बन्न सकिरहेका छैनन् । राजनीति र राजनीतिज्ञहरूले आशाभन्दा बढी निराशा जन्माइरहेका छन् । नेपाली राजनीतिमा औंलामा गन्न सकिने ती थोरैमात्रै नेताहरू छन्, जोप्रति नेपाली आशावादी छन्, उनीहरूलाई आममान्छेले प्रिय मान्छन् । ती थोरै आशाका अनुहार र प्रियमध्ये एक हुन्– ताप्लेजुङले जन्माएको नेता योगेश भट्टराई । एमालेका कार्यकर्ता तथा शुभेच्छुकले मात्रै होइन, अरू पार्टीका नेता–कार्यकर्ता र आमनेपालीले पनि उनको नाम गर्वसाथ सञ्चारमाध्यम÷सामाजिक सञ्जालमा लिइरहेका/लेखिरहेका देखिन्छन् । अझ उनका पुस्ताका अरू पार्टीका युवा नेताहरूले उनको प्रशंसा गरेर सार्वजनिक रूपमै लेखिरहेका/बोलिरहेका पाइन्छन् । कुनै संयोगले होइन, विद्यार्थी संगठनको प्रारम्भिक कमिटीदेखि पार्टीको केन्द्रीय सचिवसम्मको यात्रामा प्रदर्शन गरेको इमान, निष्ठा र समर्पणले उनलाई यो उपलब्धि प्राप्त भएको हो । उनले हिँडेको बाटो र देखाएको उज्यालोका कारण यो सम्भव भएको हो । उनले तय गरेको लामो राजनीतिक यात्राका कारण यो विश्वास र आशा जागेको हो ।
नेता योगेश भट्टराई ताप्लेजुङको साँघुमा आमा महेन्द्रादेवी र बुवा स्व. भीमलालको कान्छो छोरोका रूपमा २१ भदौ २०२३ मा जन्मेका हुन् । मध्यमवर्गीय परिवारमा तीन दिदी, एक दाजुु र एक बहिनीसँग हुर्कन थालेको योगेश दुई वर्षको पनि भएका थिएनन्, बुवाको निधन भयो । बुवाको भौतिक अवसान नाबालक छोराछोरीका लागि वज्रपात नै थियो तर उनको सामाजिक र नैतिक प्रेरणाले छोराछोरीलाई शिक्षाको उज्यालोतर्फ अघि बढ्न प्रकाश दिइरह्यो । बालबालिकालाई शिक्षालय पठाउनुपर्छ भन्ने मान्यताका हिमायती शिक्षाप्रेमी बुवा भीमलालले २००८ मा २० हजार भारु चन्दा दिएको तेह्रथुमको आठराई सक्रान्तिस्थित त्रिमोहन स्कुल अहिले पूर्वकै प्रख्यात शिक्षालयमा पर्छ । उनको आर्थिक सहयोगमा खुलेका अन्य विद्यालय पनि अहिले उच्च माविका रूपमा सञ्चालन भइरहेका छन् । योगेशले ०५१ मा ताप्लेजुङ ढुंगेसाँघुनिवासी विन्दा घिमिरेसँग विवाह गरे ।

मादीको हडतालदेखि केन्द्रीय कारागारसम्म

साँघुकै नारायणी निमाविमा कक्षा सातसम्मको अध्ययन सकेर माध्यमिक शिक्षाका लागि संखुवासभाको मादी माविमा भर्ना भए, जो उनको गाउँबाट दुई दिनको पैदलयात्राको दूरीमा पर्छ । गाउँमा मावि नभएका कारण २०३७ मा मादी आएका हुन् । मादी पुुग्न दुुई दिन पदैल हिँड्नुुपथ्र्यो । ०३६ को विद्यार्थी आन्दोलनको रापताप बिस्तारै गाउँसम्म फैलिँदै थियो । गाउँसम्म अनेरास्ववियुको चर्चा हुँदै थियो । पञ्चायती व्यवस्थाविरुद्ध ०३७ चैत १४ मा पहिलोपटक अनेरास्ववियुले आमहडताल गर्योे । नेपालकै पहिले ऐतिहासिक नेपाल बन्द सफल पार्न सक्रिय सहभागी भए । संगठित हिसाबले राजनीतिक यात्राको आरम्भ पनि त्यही थियो । उनी सम्झन्छन्, ‘आमहडताल भनेपछि अनिश्चितकालका लागि होला भनेर हामीले २० दिनसम्म माविमा हडताल गर्यौं ।’ त्यसो त उनले स्कुलेजीवनका पछिल्ला दिनमा ताप्लेजुङका अगुवा शिक्षकहरू डिल्ली घिमिरे, हरि घिमिरे, बोलिनन्द फागोबाट राजनीतिक सम्पर्क र शिक्षा पाए ।
एसएलसीपछि उच्च शिक्षाका लागि ०४० मा राजधानीको ताहाचलस्थित महेन्द्र–रत्न क्याम्पसमा भर्ना भए । पञ्चायती व्यवस्थाविरोधी आन्दोलनक्रममा विषाक्त दूधविरूद्ध भएको आन्दोलनक्रममा १८ वर्षको उमेरमै पहिलोपटक काठमाडौँको केन्द्रीय कारागारमा थुनिए । सरल, सक्रिय, स्पष्ट र जुझारु स्वभावका कारण महेन्द्र–रत्न क्याम्पसको नेतृत्व लिन खासै समय लागेन । छोटो समयमै क्याम्पसमा लोकप्रिय र जुझारू नेताका रूपमा स्थापित भए । ०४१ मा महेन्द्र–रत्न क्याम्पसको स्ववियु निर्वाचनमा उपसभापति र ०४३ सालमा सभापति पदमा अत्यधिक मतले विजयी भए ।
पोल्यान्डबाट आयातीत विषाक्त दूध बिक्रीविरुद्वको चर्चित आन्दोलन होस् या भारतको मेघालयबाट नेपाली लखेटिँदाको आन्दोलन होस् वा सहिद लक्ष्मी पाण्डे हत्याविरुद्धको आन्दोलन अग्रपंक्तिमा रहेर नेतृत्व गरे । यसरी पञ्चायती व्यवस्था र राजतन्त्रविरुद्ध दृढतापूर्वक अगाडि बढ्दै जाँदा थुप्रैपटक जेलनेल र कठोर यातना भोग्नुपर्यो । जेल बसाइको बेलामा झापा संघर्षका चर्चित अगुवाहरू केपी ओली, आरके मैनाली, मोहनचन्द्र अधिकारीलगायत राजनीतिक बन्दीहरूसँग नजिकबाट अन्तरक्रिया गर्ने अवसर पाए, जसले गर्दा उनको राजनीतिक यात्रालाई अझ निख्खर बनाउन सहयोग पुुग्यो । यहीक्रममा उनले अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीको सदस्य तथा बागमती अञ्चल कमिटी सचिव भएर जिम्मेवारी सम्हाले । त्यहीबीचमा त्रिभुवन विश्वविद्यालयवाट समाजशास्त्र÷मानवशास्त्रमा स्नातकोत्तर गरे । पञ्चायती व्यवस्थालाई समाप्त गर्न पञ्चायती चुनावलाई उपयोग गर्ने पार्टी नीतिलाई कार्यान्वयन गर्ने सिलसिलामा ०४३ मा भएको निर्वाचनमा काठमाडौँबाट वामपन्थी नेता पद्मरत्न तुलाधारलाई विजयी बनाउन काठमाडौँका गल्ली–गल्ली र गाउँ–गाउँमा चुनाव प्रचारकका रूपमा खटे । ०४३ को जनपक्षीय उम्मेदवारको प्रचारक्रममा राति–राति साथीभाइसँग संगठन गर्दै जनताको घर–आँगनमा मकैभटमास खाँदै हिँडेको सम्झना गर्दा उनी आज पनि भावुक बन्छन् । त्यही निर्वाचनमा ताप्लेजुङका लोकप्रिय नेता अम्बिका साँवालाई जनपक्षीय उम्मेदवारका रूपमा विजयी बनाउन ताप्लेजुङका विभिन्न गाउँमा चुनावी प्रचारकका रूपमा सक्रिय भए ।

जनआन्दोलनको जुझारु नेता

योगेश ०४६ को जनआन्दोलनको सक्रिय सहभागी भए । बसाइ कीर्तिपुरको होस्टल थियो र भूमिका अखिलको केन्द्रीय सदस्यको थियो । जनआन्दोलनमा नेविसंघसँग समन्वय गर्ने समितिमा उनी पनि थिए । नारा तय भयो, ‘आजको आवश्यकता संयुक्त संघर्ष, प्रजातन्त्रको निम्ति पञ्चायतको अन्त्य ।’
०४६ फागुन ७ गते काठमाडौंको नयाँसडकमा प्रदर्शन गर्ने कार्यक्रम थियो । उपत्यका कमाण्डरको हिसाबले व्यापक तयारीमा रहेका योगेशलाई ६ गते रातको दुुई बजे पक्राउ गरियो । केही दिनपछि सिन्धुुपाल्चोकका चौतारामा लगेर राखियो । प्रजातन्त्र आएपछि मात्र उनलाई रिहा गरिएको हो । पञ्चायतले चुनौतीका रूपमा राखेको विद्यार्थी नेता भएकै कारण उनलाई आन्दोलनको सुरुमै पक्राउ गरिएको हो । उनी सम्झन्छन्, ‘प्रजातन्त्र पुनर्बहालीपछि २६ गते राति हामीलाई पनि जेलबाट छोडियो । भोलिपल्ट बिहानै गाडीबाट काठमाडौं ल्याइयो । चौताराबाट आउँदा बाटैभरि उत्सवका दृश्य थिए । दोलालघाटमा मान्छेहरू रातो झन्डा बोकेर नाचगान गरिरहेका थिए । पहिलोपटक त्यतिधेरै मान्छेले कम्युुनिस्टको झन्डा बोकेर निस्किएको देख्दा असाध्यै खुसी लाग्यो । हामी सिधै खुलामञ्च गयौं । मनमोहन अधिकारी, साहना प्रधान, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, झलनाथ खनालले बोले । प्रजातन्त्र आएको त्यो दिन हर्ष र गौरवको दिन थियो ।’
०४८ को संसदीय निर्वाचनमा केही समय काठमाडौं र पछिल्ला दिनहरूमा ताप्लेजुङमा सक्रिय रहे । साँघुको सिरानतिर उम्मेदवार अम्बिका साँवाको चुनाव प्रचार गरिरहेको बेला ताप्लेजुङको सिनाममा एमाले कार्यकर्ता रुकमान थेबे र इन्द्र थेबेको हत्याको दुःखद खबर सुन्नुपर्यो । हत्याको खबरले दुःखित बनायो । त्यो खबर सुनेपछि अझ शक्ति आर्जन गर्दै अघि बढिरहे । आफ्नो गाउँबाट झन्डै ७० प्रतिशत भोट सूर्य चिह्नमा खसाएर अम्बिका साँवाको विजयी र्यालीमा सहभागी बनेर काठमाडौं फर्के । त्यो पल सम्झँदा योगेश अहिले पनि रोमाञ्चित बन्छन् ।

जनआन्दोलनदेखि अनेरास्ववियुको केन्द्रीय अध्यक्षसम्म

०४६ देखि अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गर्नुभएका योगेश संगठनको कार्यालय सचिव, प्रचार विभाग प्रमुख, सचिव र महासचिव हुँदै ०५१ देखि ०५६ सम्म अध्यक्ष रहे । ०४८ मा गठित कांग्रेस सरकारले गरेका जनघाती तथा राष्ट्रघाती कदमविरुद्ध काठमाडौँ उपत्यकामा भएका सडक संघर्षको नेतृत्व गरे । जननेता मदन भण्डारी र जीवराज आश्रितको रहस्यमयी हत्याविरुद्धको आन्दोलनमा अगुवाइ गरे । यसरी अनेक आन्दोलनबाट खारिँदै, माझिँदै युवा जोश र उत्साहसाथ अघि बढिरहेका योगेशले खासगरी ०५०÷०५१ तिर शिथिल नेपाली विद्यार्थी आन्दोलनलाई पुनर्जीवित गराए । उनी अनेरास्ववियु अध्यक्ष भएको बेला स्ववियुमा अखिलले ऐतिहासिक सफलता हासिल गरेको थियो । उनी सम्झन्छन्, ‘हाम्रो पालामा पहिलोपटक ७३ प्रतिशत कलेजमा स्ववियुु चुनावमा जित्यौं । विद्यार्थी आन्दोलनलाई शैक्षिक ऐजेन्डातिर केन्द्रित गर्यौं ।’

राष्ट्रियताको आन्दोलनको नेतृत्वकर्ता

योगेशको व्यक्तित्व नेपाली राष्ट्रियताको पक्षमा संगठित ढंगले आवाज बुलन्द गर्ने एक देशभक्त तथा प्रखर राष्ट्रवादी नेताका रूपमा स्थापित छ । भारतद्वारा अतिक्रमित भूमि कालापानीसम्म विद्यार्थी मार्चको अगुवाइ गरेर योगेशले अखिललाई मुलुकको राष्ट्रवादी आन्दोलनको अगुवा शक्तिका रूपमा स्थापित गराए । ०५५ जेठमा काठमाडौंदेखि दार्चुलाको कालापानीसम्म भएको ऐतिहासिक काठमाडौं–कालापानी मार्चको नेतृत्व गरेर आफ्नो राष्ट्रवादी छविलाई झन् अग्लो पार्न सफल भए । त्यही मोडबाट कालापानी मुद्दा राष्ट्रिय बहसको प्रमुख विषय बनेको हो ।
०५५ जेठमा काठमाडौंदेखि दार्चुलाको कालापानीसम्म भएको ऐतिहासिक काठमाडौं–कालापानी मार्च भयो । नेपालका ६२ स्थानमा भारतले सीमा अतिक्रमण गरेको प्रमाण सार्वजनिक गर्दै पूर्व पाँचथरको च्याङथापुदेखि सुस्ता र टनकपुरसम्मको सीमा सुरक्षा अभियानको अगुवाइ उनकै नेतृत्वमा भयो । त्यस्तै ०७१ मा भारतले नेपालमाथि लगाएको नाकाबन्दीविरुद्ध पार्टीका नेताका रूपमा आन्दोलनको अगुवाइ गरे । नेपालको सार्वभौम, स्वतन्त्रता, नेपाली नेपालीबीचको एकताको पक्षमा उनले सम्झौताहीन संघर्ष गर्दै आएका छन् ।

अप्रिल क्रान्तिका उपत्यका कमान्डर

योगेशले ०६२/६३ मा सम्पन्न ऐतिहासिक जनक्रान्तिमा नेकपा (एमाले) को काठमाडौं उपत्यका कमिटीको सचिवका रूपमा आन्दोलनको संयोजन र परिचालनमा कमान्डरको भूमिका निर्वाह गरे । उपत्यकामा आन्दोलनको उभार ल्याउनमा उनको नेतृत्वदायी भूमिका थियो । आन्दोलनमा उपत्यकाभित्र अन्य राजनीतिक दल, नागरिक समाज १२बुँदे सहमतिपश्चात् तत्कालीन माओवादीलाई समेत समन्वय गर्न अग्रणी भूमिका खेले ।

प्रचारका कुशल कमान्डर

पार्टीको नवौं राष्ट्रिय महाधिवेशन (२०७१ असार १९ साउन १) बाट सचिव पदमा निर्वाचित भएपछि उनले पार्टी प्रचार विभागको जिम्मेवारी सम्हालिरहेका छन् । प्रचार विभागको जिम्मेवारी सम्हालेपछि बदलिएको आमसञ्चार र प्रविधिअनुसार प्रचारलाई व्यवस्थित बनाएका छन् । पार्टीको आधिकारिक वेबसाइट छिनछिनमा अपडेट हँुदै आएको छ । नवयुगको ग्राहक विस्तारलाई अभियानकै रूपमा चलाइयो । प्रचार विभागका भेलाहरू पटक–पटक भएका छन् । पार्टीको आधिकारिक फेसबुक पेज सञ्चालनदेखि सामाजिक सञ्जालमा कार्यकर्ता र आमजनतालाई जोड्न व्यवस्थित हिसाबले अभियान नै चलाइएको छ । आज यो माध्यमबाट लाखौं–लाख जनता एमालेसँग जोडिएका छन् । स्थानीय तह निर्वाचन, ०७४ को क्रममा प्रचार कामलाई यति आक्रामक र सिर्जनशील बनाइयो कि विरोधीहरूसमेत एमालेको नक्कल गर्न बाध्य भए । उनको खुलेर प्रशंसा गरे । नेपाली कांग्रेसको समीक्षा बैठकमा एमालेको प्रचार सबैभन्दा बढी प्रभावकारी र बलशाली भएको निष्कर्ष निकालिएको थियो । एमालेले देश र जनताको पक्षमा गरेका राम्रा काम जनताबीचमा लैजान सिर्जनशील तरिकाले भिडियो, अडियो र प्रचार सामग्री निर्माण गरिएको थियो । निर्वाचनक्रममा पार्टी कार्यालयमा सञ्चार डेस्क स्थापना गरेर रातो सूर्य डटकम अपडेट, फेसबुकमा लाइभ अन्तर्वार्ताजस्ता प्रभावकारी काम उनकै नेतृत्वमा भएका हुन् ।

देश/विदेशका यात्रा

राजनीति गर्ने मान्छेले आफ्नो देशको भूगोल, इतिहास र संस्कृतिको न्यूनतम ज्ञान राख्नुपर्छ भन्ने मान्यता बोक्ने योगेशले नेपालका ७२ जिल्लाको भ्रमण गरिसकेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध र ज्ञान पनि उत्तिकै छ । देशभित्रमात्रै होइन, अन्तर्राष्ट्रिय सम्बन्धको पनि विशाल सञ्जाल तयार पारिसकेका छन् । भारत, चीन, अमेरिका क्युबा, दक्षिण अफ्रिका, बेल्जियम, पोर्चुगल, जर्मनी, लग्जम्बर्ग, फ्रान्स, बेलायत, जापान, कोरिया, मलेसिया, सिंगापुर, न्युजिल्यान्ड, स्वीट्जरल्यान्ड, चेक, अस्ट्रिया, रुस, ब्राजिल, कतार, साउदी अरब, दुबई, बहराइन, साइप्रसलगायत देश पुगेर त्यहाँको पद्धतिसँग केही मात्रामा भए पनि परिचित भएका छन् ।

पार्टीजीवन

०३९ देखि तत्कालीन नेकपा (माले) सँग राजनीतिक सम्पर्कमा रहेर पार्टी काममा संलग्न रहेका योगेशले पार्टीको सेल कमिटी हुँदै जिल्ला, अञ्चल र केन्द्रीय कमिटीसम्म काम गरेका छन् । ०६५ फागुनमा बुटवलमा सम्पन्न नेकपा (एमाले) को आठौँ महाधिवेशनमा उपत्यकाबाट अत्यधिक मत ल्याई केन्द्रीय कमिटीमा निर्वाचित भए । उनी पार्टीको नवौं महाधिवेशनबाट पार्टीको सचिव पदमा निर्वाचित भए । हाल उनी पार्टीको प्रचार विभाग प्रमुख छन् । माक्र्सवादी सिद्धान्तमा विश्वास गर्ने योगेश मदन भण्डारी, नेल्सन मन्डेला र मार्टिन लुथर किङलाई आफ्नो आदर्श मान्ने उनी अहिंसावादी हुन् ।

अब आर्थिक क्रान्ति

नेकपा (एमाले) भित्र पनि सुस्पष्ट विचार र दृष्टिकोण भएका नेताका रूपमा परिचित छन्– योगेश । पार्टीको पाँचौँ महाधिवेशनमा जननेता मदन भण्डारीले अघि सारेको नेपाली क्रान्तिको सिद्धान्त जनताको बहुदलीय जनवादको विचारलाई स्थापित गर्न उनले अनेरास्ववियुको तत्कालीन नेताको हिसाबले महत्वपूर्ण भूमिका निर्वाह गरे । राजनीतिक दलहरूको लोकतान्त्रिक रूपान्तरणका लागि दबाबमूलक काम गर्दै उनी पार्टी र समाजमा युवा पुस्ताको निर्णायक उपस्थिति हुनुपर्छ भन्ने मान्यता राख्छन् । उनी पार्टीमा प्रौढहरूलाई सम्मान तथा युवाहरूलाई जिम्मेवारी दिनुपर्छ भन्ने मान्यता स्थापित गर्न चाहनुहुन्छ । यो मान्यतालाई स्थापित गर्न उनी विभिन्न पार्टीका युवाबीच अन्तरपार्टी सञ्जाल बनाएर विभिन्न क्रियाकलापमा सक्रिय छन् ।
शान्तिपूर्ण अप्रिल क्रान्तिले लोकतान्त्रिक राजनीतिक क्रान्तिका मुख्य कार्यभार पूरा भएकाले अब आर्थिक क्रान्तिलाई मूल मन्त्र बनाएर राष्ट्रको आर्थिक/सामाजिक समृद्धिका लागि सिंगो राष्ट्र एकताबद्ध भएर लाग्नुपर्छ भन्ने उनको दृष्टिकोण छ । देशबाहिर पोखिएको नेपाली युवाको रगत र पसिनालाई नेपाली माटोमै एकाकार गराउनुपर्ने कुरामा उनको जोड छ । ‘सम्पूर्ण नेपाली नागरिकले श्रम गर्दै उत्पादनका काममा लाग्नुपर्छ । राष्ट्रिय पुँजी र उद्योगको विकासमा प्राथमिकता दिनुपर्छ । सबैले अनिवार्य कर तिर्नुपर्छ । अनि मात्र देशभित्र रोजगारीका अवसर सिर्जना हुन्छ । युवालाई विदेश पलायन हुनबाट रोक्न सकिन्छ,’ उनको मन्त्र छ ।

जिल्लाको असल अभिभावक

उतिखेर साँघुमा माध्यमिक शिक्षासमेत थिएन । त्यही कारण उनी संखुवासभाको मादी हुँदै काठमाडौं आए । तर, ताप्लेजुङसँगको सामिप्यता र ताप्लेजुङवासी जनताको सम्बन्ध भने सधैं कसिलो रह्यो । देशको आशाको अनुहार त छँदै छन्, ताप्लेजुङको जनताको असल अभिभावकको भूमिकासमेत निर्वाह गरिरहेका छन् । ताप्लेजुङको विकास र समृद्धिका लागि काठमाडौंमा हुने अभियानमा मात्रै होइन, जिल्लामै भएका अभियानमा समेत सक्रिय सहभागी भए । ताप्लेजुङको समग्र विकासका निम्ति उनकै सक्रियता र अगुवाइमा ०६४ मा ‘ताप्लेजुङ सरोकार केन्द्र’ स्थापना भयो । उनी त्यसका संस्थापक महासचिव थिए ।
ताप्लेजुङमा आगलागी हुँदा होस् वा पहिरो जाँदा अथवा कुनै प्राकृतिक विपत्ति आइलाग्दा उनी सधैं जनताका साथी बने । विपत्मा परेका ताप्लेजुङका जनताको राहत र उद्धारको अगुवाइ गर्दै आए । पढ्न नपाएका गरिबका छोराछोरीलाई स्कुल खोजिदिनेदेखि उपचार नपाएकालाई अस्पतालसम्म उपचारका लागि लैजानमा समेत गरिरहे ।

ताप्लेजुङका लागि अवसर

पार्टी र देश निर्माणको स्पष्ट दृष्टिकोण त छँदै छ, सँगै आफ्नो जन्मभूमि ताप्लेजुङको समृद्धिका लागि ठोस योजना पनि छ कमरेड योगेशको । प्राकृतिक सम्पदाको हिसाबले समृद्ध ताप्लेजुङलाई देशकै सुन्दर बगैँचाका रूपमा विकास गर्न सकिन्छ भन्ने उनको विश्वास छ । देशमै समृद्धिको अध्याय सुरु गर्ने हो देशले नै आशा गरेको एउटा युवा नेतालाई आफ्नो प्रतिनिधिका रूपमा पठाउनु ताप्लेजुङको ऐतिहासिक जिम्मेवारी पनि हो । सिंगापुरको इतिहास हेरौं, उपेक्षित टापुको देशलाई ली क्वान युले एकै पुस्तामा संसारको हीरा बनाए । आज संसारको सबैभन्दा समृद्ध र सुन्दर देश चीनलाई हेरौं । राजनीतिक क्रान्तिपछि चीनको भविष्यमाथि संसारले प्रश्न गरिरहेको बेला देङ सियाओ पिङले चीनलाई विश्वको समृद्ध देश बनाए । डा. महाथिर मोहम्मद जसको नेतृत्वमा मलेसियामा तीव्र आधुनिकीकरण र आर्थिक विकास सम्भव भयो ।
अब अरू देशको उदाहरण पढ्ने र आफ्नो देशको अवस्था देखेर कुण्ठित भएर बस्ने समय हामीसँग पनि छैन । देश निर्माणको सार्थक पहल गर्न सक्ने नेतृत्व चुन्न सकेमात्र हामीले सचेत नागरिकको भूमिका पूरा गरेको ठहर्नेछ । सबैको सहमति, समझदारी र सहकार्यमा ताप्लेजुुङलाई समृद्ध र ताप्लेजुङवासी जनतालाई सुखी बनाउने उनको ध्येय छ । ताप्लेजुङको जनप्रतिनिधिका रूपमा ताप्लेजुङको कृषि, पर्यटन, जलस्रोत, व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, रोजगारीको क्षेत्रमा नेतृत्व गर्दै जिल्लाको आर्थिक समृद्धिमार्फत न्याय र समतामूलक समाज निर्माण गर्ने उनको प्रतिबद्धता छ । देशले आशा गरेको नेता ताप्लेजुङको जनप्रतिनिधिका रूपमा विजयी हुनु ताप्लेजुङका लागि सुखद र गर्वको विषय हो । योगेशलाई कुनै पार्टीको मात्र होइन, पूरै ताप्लेजुङ र सिंगो देशको प्रतिनिधिका रूपमा अघि बढाउनु हाम्रो कर्तव्य हो । यो कुनै पार्टीको होइन, जिल्ला र देशलाई माया गर्ने हरेक नागरिकको कर्तव्य हो । जिल्लावासीका लागि ऐतिहासिक अवसर पनि हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार