नेपालको पहिलो बस्ती

पुष्पलाल

मञ्जुश्रीको आगमनपहिले काठमाडौं उपत्यका ताल हुनाले उनीभन्दा पहिले त्यहाँ बस्ती असम्भव थियो भन्ने कुरा उठ्नु स्वाभाविक हो । यो कुरा साँच्चै जस्तो भए पनि वास्तवमा साँचो होइन । मञ्जुश्री नेपाल आउँदा केरुङ पार गरी नुवाकोटको बाटो हुँदै आएको बोध हुन्छ । नुवाकोटमा उनको पादुका अद्यापि सुरक्षित छ । यो पादुका सरस्वतीस्थान काठमाडौंको भन्दा पुरानो हो भनी श्री सत्यमोहन जोशीले ‘नेपाल लोकसंस्कृति’ मा लेख्नुभएको छ । यसबाट अर्कोतर्फ यो तर्क उठ्छ कि यसतर्फको सत्यासत्यमा पर्नुभन्दा एक तथ्यमा जानु हाम्रानिम्ति उपयोगी सिद्ध हुनेछ ।

हाम्रो देश पहाडी भएको हुँदा विभिन्न नदीहरूका व्याँसीहरूमा बसोबास भएको कुरा इन्कार गर्न सकिन्न । तर, विश्वको सभ्यतामा पनि आँखा दौडाउँदा नदीकिनारको फराकिलो ठाउँहरूमा विभिन्न सभ्यताको जन्म भएको पाउँछौं । यसै कुरा ध्यानमा राखी नेपालको सभ्यताको विचार गर्दा काठमाडौं उपत्यका छोडी नेपालभरिमा यस्तो फराकिलो ठाउँ हामी अन्यत्र कहीं पाउँदैनौ । यसले साबित गर्छ कि काठमाडौं उपत्यका नै हाम्रो सभ्यताको उद्गमस्थल हो । पानी टम्म भरिएको ठाउँमा बस्ती कसरी बस्न सक्छ भन्ने तर्कले यस कुरामा शंका उठाइदिन्छ । त्यसमा शंका गर्नुपर्ने वास्तवमा कारण छैन । यसनिम्ति हाम्रो दिमागमा आजसम्म परेर आएको मञ्जुश्रीको कथाको गलत व्याख्या तथा धारणा हटाउनुपर्छ ।

मञ्जुश्री आएर खड्गका एकै प्रहारले चोभारको डाँडो काटी पानी निकास बनाई बस्ती बसाए भन्ने कुरो सत्य हुनै सक्दैन । यसको धार्मिक आवरण अर्थात् मञ्जुश्रीलाई पारलौकिक शक्तिप्राप्त धार्मिक रूपमा नलिई हामीसरहको नै एक व्यक्तिका रूपमा मानेको खण्डमा, वास्तवमा मान्नु पनि पर्छ, खड्गको एक प्रहारले डाँडो काटियो भन्ने कुरा पत्याउन सकिन्न । पुस्ता र दरपुस्ताले चोभारको डाँडो काट्ने जुन काम नेपालमा सुरु भयो, त्यसमा मञ्जुश्रीको योगदान रहेछ भन्ने कुरा हामीले बुझ्नुपर्छ । नेपाल उपत्यकाको बस्तीको इतिहास हेर्दा यो कुरा सिद्ध हुन आउँछ ।

 

नेपालमा पुराना बस्तीहरू काठमाडौं, पाटन र भक्तपुर होइनन् । काठमाडौं सबैभन्दा कान्छो बस्ती हो । नेपालमा सबैभन्दा पुराना बस्तीहरू तालवरिपरि पहाडको काखमा थिए । थानकोट, इचंगु, भुइँजसी, मनोपुर, साँखु, फर्पिङ, मातातीर्थ आदि चोभारको डाँडोले छेक्न सक्दो पानी छेकिँदा पनि उल्लिखित स्थानमा बस्ती बस्न सक्ने कुरा चोभारको डाँडाको भन्दा ती बस्तीको उचाइ अग्लो भएको कुराले सिद्ध गर्छ । वास्तवमा ती बस्तीको उल्लेख नेपालका वंशावली र पुराना कुरामा पाइन्छ । जसैजसै तालवरिपरि बस्ती बढ्दै गायो, उनीहरूलाई जमिनको बढी आवश्यकता पर्न गयो । अनि क्रमशः उनीहरूले तालको सबैभन्दा होचो र पानी जाने ठाउँ खोतल्न थाले होलान् । यसले गर्दा तालको पानीको घेरा कम हुन थाल्यो होला । अनि बस्ती पनि पहाडको काखबाट तलतलतिर सर्न थाले होलान् । मैले साँखुका मानिसबाट दन्थ्यकथा सुनेको छु । त्यो कथाको सार हो– वज्रयोगिनीका सन्तानले तालको निकास बनाएका हुन् । यस कुराको ऐतिहासिक पुष्टि एक अंग्रेजी इतिहासकारको भनाइबाट साबित हुन्छ । ती लेखकको नाम अहिले मेरो सम्झनामा आइरहेको छैन, सम्भवतः डा. वल्डफिल्ड हुन सक्छन् । उनले भनेको अंग्रेजी वाक्य जहाँसम्म लाग्छ– यही हो– the ancient races of nepal were the descendents of bajra yogini अर्थात् नेपालका आदिशासक वज्रयोगिनीका सन्तान हुन् ।

इतिहासकारको उक्त भनाइले दुई कुरा स्पष्ट गर्छ । नेपाल उपत्यकामा मानव जातिको बसोवास सुरुवात क्रमशः चीन तथा भारतबाट मञ्जुश्री तथा नेमुनिहरू आई बसालिएको हो भन्ने कुरा गलत साबित गर्छ । हाम्रा पूर्वज मञ्जुश्री तथा नेमुनि नभई वज्रयोगिनी हुन आउँछ । वज्रयोगिनीका सन्तान भन्नाले हाम्रो पूर्वजको रेखा पितृसत्तात्मक समाज नभई मातृसत्तात्मक समाजमा जान्छ । वज्रयोगिनी महिलादेवी हुन् । अद्यापि, तिनको मन्दिर मनिचुर–साँखुभन्दा अन्दाजी ५०० फिट माथि डाँडामा पर्छ ।

वज्रयोगिनीमा अद्यापि यो प्रचलन छँदै छ । त्यहाँका अनेनामा आगो कहिल्यै निभ्न दिइँदैन । यस तथ्यले हामीलाई हाम्रो समाजको जंगली अवस्थाको अन्तिम स्वरूपतिर पुर्याउँछ । काठमाडौं उपत्यका ताल हुँदा पनि मनिचुरमा वज्रयोगिनीको नायकत्वमा आदिम साम्यवादी समाज निर्माण भइसकेको थियो । आगोले हामीलाई रैथाने बनायो भने त्यसबखतको तालको पानीले माछोका रूपमा हामीलाई खाना प्रदान गर्यो ।

त्यसपछि बस्ती बढ्नु स्वाभाविकै कुरा भयो । फेरि चारैतिरबाट त्यस ठाउँमा विभिन्न कविलाहरू आउन थाले होलान् । अनि तालको घेराक्रम हुन थालेपछि जमिनको फाँट बढ्न थाल्यो । यस बढ्दो फाँटले गोठको व्यवस्था ल्यायो होला । अनि मञ्जुश्रीले अन्तिम रूपमा ताल समाप्त गरे होलान् र नेमुनिबाट गोपाल वंश सुरु भयो होला । अर्थात् गौ पालपति इति गोपाल भयो होला । इतिहासकारहरूले नेपालमा सुरुदेखि राजाको अस्तित्व थियो भन्ने देखाउनलाई गाई–गोरु पाल्ने गोपाललाई राजा भन्ने संज्ञा दिए पनि वास्तवमा यो कुरा सत्य नभई पितृसत्तात्मक कविलाको कुरा हो ।

(पुष्पलालका छानिएका रचनाहरू, भाग–१ मा संकलित ‘नेपाल मातृसत्तात्मक समाज’ शीर्षक रचनाबाट ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार