बतासेघाटमा पक्की पुल बन्ने

तेस्रो आँखा संवाददाता


खोटाङ । हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम गणेशटार खोटाङ र सुनकोसी गाउँपालिका साबिक बाँसबोटे गाविस उदयपुरको बतासेघाटमा पक्की पुल बन्ने भएको छ ।

पक्की पुल निर्माणका लागि मन्त्रालयले तोक आदेश गरिसकेको छ,’ सुनकोसी गाउँपालिका अध्यक्ष मेजरकुमार राई भन्छन्, ‘हाम्रो प्रस्ताव मन्त्रालयको तोकपछि सडक विभाग हुँदै राष्ट्रिय योजना आयोगमा पुल निर्माण प्रक्रिया पुगेको छ ।’

प्रस्तावित लिम्चिङबुङ गाउँपालिका अध्यक्ष राईका अनुसार बतासेघाटमा पक्कीपुल निर्माणपछि उदयपुरको गाईघाट, मुर्कुची, पुवारे, भालेबास, माझखर्क, सुनकोसी गाउँपालिकाको बतासेघाटबाट खोटाङको होलेसुङ–जनकराज राई मार्ग हुँदै हलेसी जोड्ने प्रादेशिक सडक हुनेछ ।

‘बतासेघाटमा पक्कीपुल निर्माण हाम्रो सपना हो,’ उनको भनाइ छ, ‘पुल निर्माण दुई जिल्लाका जनताको समृद्धिसँग सम्बन्धित छ ।’

शिक्षा मन्त्रालय शाखा अधिकृत भूपेन्द्रकुमार राईले तर्क छ, ‘बतासेघाटमा पक्कीपुल निर्माण भए १ नम्बर प्रदेश, तराईका अधिकांश जिल्लावासीमात्रै नभएर भारत, श्रीलंका, भुटान, बंगलादेशबाट हलेसी आउने पर्यटकका छोटो दूरीको बाटो हुनेछ । यही बाटो भएर विश्वको सर्वोच्च शिखर सगरमाथासम्म पुग्न सकिन्छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार