हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख राईले भने– नगरवासीले सहज रूपमा सेवा लिन सकून्

सयन्द्र राई

हलेसी (खोटाङ) । हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख इबन राईले सर्वसाधारणले सहज रूपमा आयुर्वेद स्वास्थ्य सेवा लिन सकून् भन्ने उद्देश्यले नगरपालिकाको आर्थिक सहयोगमा पञ्चकर्म सेवा विस्तार गरिएको बताएका छन् ।

हलेसी–तुवाचुङ नगरपालिका नगरप्रमुख राईले हलेसी आयुर्वेद औषधालयद्वारा विस्तार पञ्चकर्म सेवा उद्घाटन गर्दै नगरका विपन्न नागरिकलाई विशेष छुटसहित पञ्चकर्म सेवा थालिएको जानकारी गराए ।

हलेसी–तुवाचुङ नगरपालिका उपप्रमुख बिमला राईले हलेसीमा हलेसी आयुर्वेद औषधालयले पञ्चकर्म सेवा थालेकोमा खुसी व्यक्त गरेकी छन् । नगर उपप्रमुख राईले औषधालय सञ्चालनको सफलतासहित शुभकामना दिएकी थिइन् ।

प्रदेश नम्बर १ का सरकारी आयुर्वेद संस्थामध्ये दोस्रो तथा खोटाङमा पहिलोपटक औषधालयले सेवा विस्तार गरेको हो । उसले शिरोधारा, सर्वाङ्स्वेद, कटिबस्ती, जानुबस्ती, गृवाबस्ती, उरसबस्ती, बालुकास्वेद, पोटलिस्वेद, नस्यकर्म, नाडिस्वेदलगायत सेवा थालेको छ ।
औषधालयमा दैनिकजसो १५ सेवाग्राही लाभान्वित हुनेछन् । हलेसी आयुर्वेद औषधालयप्रमुख राजेन्द्र पोख्रेलका अनुसार आर्थिक अभावले पञ्चकर्म शाखाबाट अतिविपन्न बिरामीले विशेष सहुलियतसाथ उपचार गरिने सुनाए ।

हलेसी–तुवाचुङ नगरपालिका–७ का वडाध्यक्ष तथा हलेसी आयुर्वेद औषधालय स्वास्थ्य सहयोग समिति अध्यक्ष चइन्द्र राईले अध्यक्षता गरेको पञ्चकर्म सेवा कार्यक्रममा निमित्त प्रशासकीय अधिकृत अनिल किराती, नगरका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, स्थानीय संघ–संस्थासम्बद्ध प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी तथा विभिन्न कार्यालयप्रमुखको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार