काठमाडौंमा कसरी बस्ने

विवश वस्ती

चपला, अवलाहरू एक सुरमा
गुनकेशरीको फूल ली शिरमा
हिँड्न्या सखी लिकन वरिपरि
अलकापुरी कान्तिपुरी नगरी

काठमाडौं उपत्यकाको महिमागान गाउन चाहनेले आदिकवि भानुभक्त आचार्यद्वारा सिर्जित यी हरफहरू निश्चय नै गुन्गुनाउने गर्छन् । उन्नाइसौं शताब्दीको काठमाडौँ उपत्यकाको सुन्दरता, जनजीवन र मानवीय सम्बन्धलाई पर्गेल्ने शब्दहरू छन्, आदिकविका यो सुन्दर काव्यभित्र । आदिकविले दशकौंअघि व्याख्या गरेको कान्तिपुरी नगरी अब भने तत्कालीन समयजस्तो त रहेन नै, न त केही दशकअघिकै जस्तो छायाँछविबीच कान्तिपुरी नगरीलाई भेट्न सकिन्छ । अझ चपला, अवलाहरू गुनकेशरीको फूल सिउँदोमा सजाएर एक सुर, एक लयमा हिँड्ने कुरा अब त मिथक नै बनिसक्यो ।

वर्तमान पुस्ता गुनकेशरीको फूलसँग परिचित छैन । महानगरका केही उद्यानमा अरू प्रजातिका फूलहरू टन्नै फुलेको देख्न सकिन्छ । सीमित रैथाने र अधिकांश प्रवासी फूलको बाहुल्यबीच गुनकेशरीको फूल लोप हुँदै जानु स्वाभाविकै हो । अतः गुनकेशरी नै नभएपछि चपला, अवलाहरूले शिरमा सजाएर हिँड्नु टाढाको विषय मान्नुपर्ने हुन्छ ।

तर, कान्तिपुर नगरीको समृद्ध कथा र गाथा अब भने कहालीलाग्दो व्यथामा परिणत हुँदै गएको छ । कान्तिपुर नगरी जनघनत्वको भारले थिचिएको छ । रोजगारी, राम्रो स्वास्थ्य सेवा, उच्च शिक्षा र अरू विभिन्नखाले सेवा र सुविधा कान्तिपुर नगरीमै थन्किएको हुँदा मानिसको चाप बढ्नुलाई अचम्म मान्नुपर्ने देखिँदैन । जनघनत्वको मार खेप्दै उँघिरहेको कान्तिपुर नगरी पछिल्लो समय त वातावरणीय दृष्टिकोणले पनि निम्छरो र निरीह महानगरका रूपमा बदलिँदै गएको छ । कान्तिपुर नगरीभित्र व्याप्त वायु प्रदूषणले यो चार भन्ज्याङभित्रको खाल्डोलाई बिस्तारै अँध्यारोतिर धकेल्दै लगिरहेको प्रतीत हुन्छ ।

केही समयअघि, फोटो पत्रकार चन्द्रशेखर कार्कीले आकाशमार्गबाट एउटा तस्बिर खिचेका थिए । काठमाडौँ, धुलिखेल र बनेपाका भू–भागसमेत देखिने सो तस्बिर एक राष्ट्रिय दैनिकमा प्रकाशित भएको थियो । काठमाडौं उपत्यकाकालाई केन्द्रित गरेर खिचिएको उक्त तस्बिरमा काठमाडौंमाथिको आकाशमा जमिरहेको प्रदूषित वायु प्रस्टै देखिन्थ्यो । कचौरामा तातो पानी हाल्दा बाफ उड्न अप्ठेरो मानेजस्तै देखिन्थ्यो कान्तिपुर नगरीभित्र जमेर बसेको प्रदूषित वायु । यसले देशको राजधानीको भयावह पाटोलाई उघार्न मद्दत पुर्याएको ठान्न सकिन्छ ।

विश्वका वायु प्रदूषित राजधानीमध्ये अघिल्लो लहरमै परेको छ काठमाडौं । किन काठमाडौंले मनमस्तिष्कभरि वायु प्रदूषणको मार खेपिरहेको छ ? यसमा राज्यसञ्चालकका अदूरदर्शी नीति र वायु प्रदूषण कम गर्नेतिर देखिएको उदासिनतालाई नै मुख्य कारक तत्वका रूपमा जिम्मेवार ठहर्याउन सकिन्छ । किनकि राज्यसञ्चालकहरूले चाहे भने वायु प्रदूषण कम गर्न कुनै आइतबार कुरिराख्नुपर्दैन ।
जुनसुकै देशको जनसंख्याको ठूलो हिस्सा सहर–बजारमै बसोबास गर्दै आएका हुन्छन् भन्ने सर्वविदितै छ । सेवा, सुविधा आदि कारणले सहर–बजारमा मानिसको बसोबास जम्नुलाई अन्यथा ठान्न सकिँदैन । अझ राजधानीमा जनघनत्व हुनुलाई स्वाभाविक पक्ष मान्न सकिन्छ । देशको राजधानी हरेक सेवा, सुविधा र स्रोतले भरिपूर्ण हुने भएको हुँदा जनघनत्व बढ्नु सामान्य पक्ष हो । जनघनत्वको चाप हुने देशको राजधानीलाई कसरी व्यवस्थित, सुन्दर, आकर्षक, प्रदूषणमुक्त राख्ने भन्नेचाहिँ राज्यको बागडोर सम्हाल्नेकै योजना र दूरदृष्टिमा निर्भर रहने पक्ष हो ।

कान्तिपुर नगरीलाई दिनानुदिन प्रदूषणले च्याप्दै लगिरहेको विषय सबैका निम्ति टाउकोदुखाइ बन्ने गरेको छ । किन यस्तो परिस्थिति सिर्जना भयो त ? त्यो दिशातिर ध्यान पुगेको छ वा छैन भनेर सोच्नु अनिवार्य देखिन्छ । वायु प्रदूषणले राजधानीलाई निचोरेको सबैले अनुभूति गरेको विषय हो । तर, वायु प्रदूषण उत्पन्न हुनुका कारक तत्व के–के हुन् त ? यसलाई पर्गेल्नेतिर कत्तिको चासो पोखिएको छ ? यी पक्षलाई पनि नियाल्नुपर्ने हुन्छ ।

पछिल्लो अवधिमा करिब ४५ अर्बको सवारीसाधन देशभित्र आयात भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले बताउँछ । आयात भएका सवारीसाधनमध्ये अधिकांश काठमाडौं उपत्यकाभित्रका बासिन्दाले खरिद गरेको बताइन्छ । २०७२ को गोरखा भूकम्पले त्रासदीपूर्ण मोडमा उभ्याइदिएको काठमाडौंवासीलाई लगत्तै अर्काे झड्का लाग्न पुग्यो । त्यो झड्का नाकाबन्दी थियो । नाकाबन्दीमा पेट्रोलियम पदार्थ आयात ठप्प भएपछि तेलको अपर्याप्तताका कारण सवारीसाधन गुड्ने र आयात हुनेक्रम घट्न पुग्यो । तर, अहिले सबै पक्ष सहज हुँदै गएका छन् । केही महिनायता सवारीसाधन खरिद गर्नेक्रम अपत्यारिलो रूपले बढ्न पुगेको छ । तसर्थ, बढ्दो सवारी चापसँगै पेट्रोलियम पदार्थको खपतका कारण काठमाडौँ उपत्यकामा वायु प्रदूषणको समस्या उत्पन्न हुँदै गएको देखिन्छ ।

काठमाडौं उपत्यकामा वायु प्रदूषणको ‘ग्राफ’ उकालो चढ्नुमा सवारीसाधनको बढ्दो आयात र चाप रहेको कुरालाई पहिलो नम्बरमा राख्नु अनुचित नहोला । अझ काठमाडौं उपत्यकाभित्र अधिकांश सवारीसाधन पेट्रोल नभएर डिजेलबाट चल्ने गरेको बताइन्छ । डिजेलबाट चल्ने सवारीसाधन प्रदूषणका लागि मुख्य कारक मान्ने गरिन्छ । हुन पनि हो, सरकारले डिजेलका गाडी विस्थापन गरेर ठूला सार्वजनिक सवारीसाधन सञ्चालन गर्नेतिर तदारुकतासाथ पाइला नचाल्दा समस्याले विकराल रूप लिँदै गएकोमा सन्देह देखिँदैन । अर्काेतिर, सवारी चाप कम गर्न र वायु प्रदूषण घटाउन जोर–बिजोर प्रणाली उपयुक्त हुन सक्छ । विगतमा केही समय यस्तो प्रणाली लागू भए पनि त्यसले निरन्तरता भने पाउन सकेन । किन पाएन ? यसको जवाफ खोज्ने झन्झट कसैले पनि बेसाउन चाहिरहेका छैनन् ।

देश लोडसेडिङ समस्याबाट क्रमशः मुक्त हुँदै छ । दशकपछि लोडसेडिङको अनुहार देख्न नपाउने सौभाग्य काठमाडौंवासीले पाएका छन् । तसर्थ, अहिले बन्द अवस्थामा रहेको ट्रली बस र अरू विद्युतीय बस सेवा सञ्चालन गरे वायु प्रदूषणमा स्वतः कमी आउने देखिन्छ । त्रिपुरेश्वरदेखि सूर्यविनायकसम्मको पुरानै रुटमा पुनः ट्रली बस सञ्चालन गर्न सकिन्छ । यसका निम्ति इच्छाशक्ति सल्बलाउनुपर्छ ।
वायु प्रदूषण बढ्नुको अर्काे कारण उपत्यकाभित्र रहेका इँटा कारखानाले उत्सर्जन गर्ने दूषित वायु पनि हो । सरकारले इँटा कारखानाले विद्युतीय प्रणालीबाट इँटा उत्पादन गर्नुपर्ने वा वायु प्रदूषण नहुने अरू उपाय अवलम्बन गर्नुपर्ने निर्देशलाई कडाइपूर्वक पालना गर्न लगाउनु उपयुक्त देखिन्छ । इँटा उद्योग विस्थापित गर्नेभन्दा पनि वायु प्रदूषण कम गराउने उपाय खोज्नु राम्रो हुने देखिन्छ ।

तेस्रो कारण हो, उपत्यकाभित्रको औद्योगिक क्षेत्र । अहिले देशभरि ११ औद्योगिक क्षेत्र छन् । तर, धेरै उद्योग भने उपत्यकाभित्रै बालाजु, पाटन र भक्तपुरमा छन् । उपत्यकाभित्र रहेका तीन औद्योगिक क्षेत्रले पनि वायु प्रदूषण निम्त्याउन उल्लेख्य भूमिका खेलिरहेका छन् । काठमाडौंमा बढ्दो जनघनत्वका कारण र ती औद्योगिक क्षेत्र मानव बस्तीकै बीचमा रहेको हुँदा त्यसलाई स्थानान्तरण गर्नेतिर सरकारले पहलकदमी चाल्ने हो भने पनि वायु प्रदूषणमा कमी आउनेमा निश्चिन्त हुन सकिने आधार देखिन्छ ।

यदि आदिकविले भोगेको कान्तिपुर नगरीमा पुनः चपला, अवलाहरूले शिरमा गुनकेशरीको फूल लिई वरिपरि सखीहरू लिएर हिँडेका दृश्य नियाल्न इच्छा राख्ने हो भने धूवाँ, धूलोले कट्कटिएको काठमाडौंबाट केही चीजलाई छाँट्नैपर्छ । अरू विकल्प देखिँदैन ।

(गोरखापत्र)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार