लेख्नेले ध्यान दिनुपर्ने पाँच कुरा


लेखन प्रक्रियाबारे लेखिएका अधिकांश पुस्तकमा लेखनका पाँच चरण हुन्छन् भनिएको छ । ती पाँच चरण भनेको तयारी, मस्यौदा, परिमार्जन, सम्पादन र प्रकाशन हो ।

उल्लिखित चरणलाई एकपछि अर्काेगरी जस्ताको तस्तै पछ्याउनुपर्छ भन्ने छैन । लेख्नेक्रममा प्रायशः अघिल्लो चरणमा पुगिसकेर फेरि पछिल्लो चरणमा फर्कनुपर्ने हुन सक्छ । अर्थात् लेखकले एक वा धेरैपटक पछाडि फर्केर हेर्नुपर्ने हुन्छ । यहाँ उल्लेख गरिएको लेखन प्रक्रिया सबै विषयमा उपयोग गर्न सकिन्छ ।

तयारी

तयारी भनेको विषय छान्ने, जानकारी संकलन गर्ने र विषयबारे चिन्तन गर्ने काम हो । लेखकले विषयका रूपमा उठाउन सकिने यस्तो ‘आकर्षणको केन्द्र’ पत्ता लगाउन कोसिस गर्छन् (एल्बो १९९८) । यसरी उनीहरू आफूले छानेको विषयमा लेख्ने योजना थाल्छन् । यस्तो सोच–विचार गर्न र जानकारी संकलन गर्नका लागि समय लाग्छ ।

मस्यौदा

मस्यौदा गर्नु भनेको आफ्ना विचारलाई प्रारम्भिक रूपमा कागजमा उतार्नु हो । लेखकले आफ्ना विचार कागजमा वा कम्प्युटरमा उतार्छन् । यसो गरेपछि विषयबारे आफूलाई के कुरा थाहा छ र यस विषयबारे आफूले बताउनुपर्ने कुरा के छ भन्ने कुरा देख्न सक्छन् । मस्यौदा गरिसकेपछि उनीहरू पुनर्लेखनको चरणमा प्रवेश गर्न सक्छन् । धेरैजसो युवा लेखक एकपटकभन्दा बढी लेख्दैनन् तर कुशल लेखक धेरैपटक लेख्छन् । उनीहरूका विचारमा ‘लेखन भनेको पुनःलेखन’ हो । मस्यौदाका चरणमा कुशल शिक्षकले लेखकलाई जे मन लाग्छ त्यो लेख्न प्रोत्साहित गर्छन् । यस चरणमा आत्मआलोचक बन्नुपर्दैन । लालित्य र शुद्धता पछिल्लो चरणमा बिस्तारै आउँछ ।

परिमार्जन

लेखिएको कुरालाई अझ परिष्कार गर्न पुनर्लेखन गरिन्छ । यो भनेको व्याकरणलाई शुद्ध पार्ने वा हिज्जे सच्याउने भन्ने होइन । यस चरणमा लेखकले विचारलाई आवश्यकताअनुसार तल–माथि पार्छन्, सविस्तार वर्णन गर्छन्, अनावश्यक कुरालाई हटाउँछन् र आफ्ना विचार प्रस्ट पार्छन् र लेखनमा लालित्य थप्छन् । पुनर्लेखनका चरणमा लेखकले आफूलाई आफूले लेखेको कुराबाट अलग राख्नुपर्छ । अरू लेखक वा शिक्षकसँग छलफल गरेर यसो गर्न सकिन्छ । परिमार्जनको चरणमा लेखकले तयारी वा मस्यौदाको चरणमा फर्कनुपर्ने हुन सक्छ ।

सल्लाह 

विद्यार्थीले लेखेका कुरालाई अरूलाई पढ्न लगाएर आफैं सुने भने धेरै कुरा सिक्न सक्छन् । छलफलका लागि विद्यार्थीको जोडी बनाइदिन सकिन्छ । जसले लेखेको हो उसैलाई उसले लेखेको कुरा अर्काे विद्यार्थीले पढेर सुनाउन सक्छन् । जसले लेखेको हो, उसले आँखा चिम्लेर अर्काे विद्यार्थीले पढेको कुरा ध्यानपूर्वक सुन्छन् । यसो गर्दा उनले शब्द छुटेको, फाल्नुपर्ने कुरा लेखिएको, सिलसिला नमिलेकोजस्ता गल्ती आफैं पत्ता लगाउँछन्, जुन गल्तीहरू परिमार्जनको चरणमा उनले भेटेको थिएनन् । त्यसपछि जसले लेखेको हो, उसले केही समय लगाएर आफूले लेखेको कुरा परिमार्जन गर्छन्, गल्ती सुधार्छन् । यसपछि पहिले अर्काको लेख पढ्ने विद्यार्थीले आफ्नो लेख साथीले पढेको सुन्छन् ।

सम्पादन

सम्पादन भनेको लेखिएको कुरालाई सार्वजनिक गर्नुभन्दा पहिला सार्वजनिक रूपमा प्रस्तुत गर्न योग्य बनाउने काम हो । यस चरणमा कहिलेकाहीं लेखिएका हरफ वा पाना हटाइन्छन् वा थपिन्छन् । सिलसिला मिलाउनका लागि त्यसलाई पुनःसम्पादन गरिन्छ । सामान्यतया, सम्पादन गर्ने बानी बसाउनुपर्छ ।

सम्पादनमा तीन तत्व रहेका हुन्छन् :

(१) लेखिएको कुरा सही बनाउने क्षमता
(२) गल्ती पत्ता लगाउने क्षमता
(३) गल्ती सच्याउन सक्ने क्षमता

(‘विश्लेषणात्मक चिन्तनका लागि लेखाइ र पढाइ’ बाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार