किसान धनी बनाउने १० उपाय


‘बीस वर्षमा नेपाललाई अर्गानिक देश बनाउँछु,’ ललितपुरको जाउलाखेलमा रहेको डीएनएन गेष्टरुममा कृषिविद् मदन राईले उत्साहित हुँदै सुनाए, ‘म त्यसको जिम्मेवारी लिन्छु । दस वर्षमै अर्गानिक देश बन्छ । तर, २० वर्षमा नेपाल विश्वकै पहिलो अर्गानिक देश बन्नेछ ।’ पहिलो अर्गानिक देश हुनेबित्तिकै सालिन्दा पाँच करोड पर्यटक नेपाल आउँछ । सर्वोच्च शिखर सगरमाथा नेपालमै छ । नेपाल धर्मको त्रिवेणी पनि हो । पाँच करोड पर्यटक भित्रिनेबित्तिकै १० करोड मानिसले रोजगारी पाउँछन् । नेपालमा तीन करोड जनसंख्या छ । कामदार नपुगेपछि विदेशबाट झिकाउनुपर्छ । रासायिक मल र कीटनाशक औषधि बिक्री गर्ने नेपालकै पहिलो अधिकृत तथा कृषिविद् मदन राईसँग ‘किसानलाई धनी कसरी बनाउन सकिन्छ’ भनेर  दीपेन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

‘प्रतिशतका आधारमा संसारमा सबैभन्दा बढी किसान भएको देश नेपाल होला,’ कृषिविद् राईले दाबी गरे, ‘नेपाल अनपढ किसानप्रधान देश पनि हो । पढ्यो भने हलो जोत्न पर्दैन भन्ने मान्यता छ । पढ् है पढ्, पढिनस् भने हलो जोत्ने होलास् भन्नेको बाहुल्य छ । अनि कसरी शिक्षित व्यक्ति खेतीकिसानमा आकर्षित होलान् ?’

हलो जोत्नु भनेको उब्जाउने संकेत हो । वनस्पति तथा धातुको उत्खनन÷सम्भार गरेर त्यहाँबाट उत्पादित उब्जनीबाट मानिसले ज्यान बचाएका छन् । पढेलेखेकाले हलो जोत्न नहुने भएपछि ५० काटेका, त्यो पनि अनपढले मात्रै खेतीकिसानी गर्ने भए । अनपढ किसानको संख्या दिनदिनै घट्दै छ । यसैले सालिन्दा खेतबारी बाँझिदै गएका छन् । पछिल्लो समय वैदेशिक रोजगारीमा गएकाहरू स्वदेश फर्केपछि कृषितिर आकर्षित छन् । उब्जाएर देशलाई धनी बनाउन कृषिभन्दा अर्को आधार नभएको राईको जिकिर छ ।

कोठामा बसेर किताब पढ्ने ८४ लाख नेपालीलाई भात खान आउँछ, पकाउन आउँदैन । लुगा लगाउन आउँछ, बनाउन आउँदैन । उब्जनी नगरी उपभोग गर्न पाइँदैन । राणाकालदेखि नै उब्जाउने र उपभोग गर्नेबीच स्तर निर्धारण गरियो । उब्जाउने काम त्यति सजिलो छैन । उब्जाउनेलाई सानो र बसिखानेलाई ठूलो बनाइयो । मानिसले उब्जाउने चीज ८० प्रतिशत वनस्पति हुन् । २० प्रतिशत धातुले ओगटेको छ । उद्योग वनस्पतिमा आधारित छन् । उद्योग भनेको खेती हो । खेती भनेको वनस्पतिको स्याहार, सम्भार गरेर मानिसलाई काम लाग्ने वस्तु उब्जनी गर्ने हो । चाउचाउ, बिस्कुट, राइस मिल, फ्लावर मिल, जाँड–रक्सीदेखि चुरोट, कपडा, कागज कारखानालगायत सबै वनस्पति हुन् ।

उद्योगधन्दाका आधार भनेको कृषि नै हो । तिनीहरूका लागि कच्चा पदार्थ उत्पादन भएन भने उद्योग चल्दैन । कृषि भनेको मानिसको समृद्धिको मूल आधार हो । कृषिका लागि नेपाल सम्भावनै सम्भवाना बोकेको मुलुक हो । यहाँको हावा त्यत्तिकै राम्रो छ । हावा भनेको चिसो र तातो अवस्था हो । हामीसँग न्यानो पनि छ । करिब १८ प्रतिशत भू–भाग तराई–मधेस छ । करिब ६० प्रतिशत पहाडै पहाड छ । जहाँ चिसो हावा पाइन्छ । त्यसपछि अत्यधिक चिसो हुने हिमाली क्षेत्र पनि हामीसँग छ । वनस्पतिले अत्यधिक चिसो, ठिकठिकै चिसो र न्यानो मन पराउने हुन्छन् । पृथ्वी भनेको न्यानो, चिसो र अत्यधिक चिसो ठाउँ न हो । यस हिसाबले नेपाल सिंगो पृथ्वी हो । त्यतिमात्रै होइन, नेपालमा पिउनेपानी त्यत्तिकै छ । जमिन त्यत्तिकै राम्रो छ । जमिन गरा–गरा (ट्यारेस) परेको छ । नेपाल गराको देश पनि हो । पुर्खाले हजारौं वर्ष मिहिनेत गरेर बनाएको गरा त्यत्तिकै सुन्दर छन् ।

२० रोपनीभन्दा कम जमिनमा खेती गर्नेलाई किसान भन्न अनुचित

माटो, पानी र हावा प्रयोग गरेर हामीले खेती गरेपछि देश कृषिप्रधान बन्नेछ । ‘खेतीकिसानीका लागि माटो, पानी र हावा चाहिने न हो,’ उनको तर्क छ, ‘जल र मल अभाव छैन । केवल प्रयोग गर्न जान्नुपर्छ । म त भन्छु मल र जल आधारभूत कुरा हुन् ।’ किसानले निम्नलिखित भूमिका निर्वाह गरे धनी बन्न समय लाग्दैन ।

(१) जमिन

उत्पादनको पहिलो सर्त जमिन हो । हिजोआज एक रोपनी जग्गा हुने पनि किसान, दुई रोपनी जग्गा हुनेलाई पनि किसान नै भनिन्छ । सरकारले ७५ रोपनीभन्दा बढी जमिनमा खेतीपाती गर्न दिँदैन । धेरै खेती गर्छु भन्नेलाई समेत बन्देज लगाएको छ । २० रोपनीभन्दा थोरै जमिनमा खेती गर्नेलाई किसान भन्न उचित हुँदैन । त्यति जग्गाबाट उत्पादित अन्नबालीले सम्बन्धित किसानको परिवारलाई खानसमेत पुग्दैन । पहाडमा ५० रोपनी र तराईमा पाँच बिघा नभई किसानलाई व्यावसायिक खेती गर्न प्रोत्साहित गर्न हुँदैन । किसानले भाडामै लिएर भए पनि जग्गाको प्रशस्त व्यवस्था गर्नैपर्छ । भाडामा पाइएन भने खेती गर्ने–गर्नेबीच मिलेर खेती गर्न सकिन्छ । ‘कोअपरेटिभ फार्मिङ’लाई प्रोत्साहित गर्नुपर्छ । यन्त्रको उपलब्धता हेरेर जमिनको हदबन्दी तोक्नुपर्छ । जमिनको क्षेत्रफल ठीक भएन भने नाफा हुँदैन । मिहिनेत गरे पनि फाइदा हुँदैन ।

(२) पानी 

पानी भनेको सम्पत्तिको खानी हो । सुन र पेट्रोलभन्दा हजार गुना बढी पानीको महत्व छ । पानीले नै पेट्रोल निकाल्ने हो । पेट्रोल भनेको वनस्पति न हो । वनस्पति पानीविना हुँदैन । नेपालमा पानी नभएको ठाउँ छैन । कम्तीमा पनि तीन÷चार महिना पानी भइहाल्छ । बर्खामा वर्षा हुन्छ । बाह्रैमास पानी नहुने ठाउँमा बर्खाको पानी संकलन गरेरसमेत खेतीपाती गर्न सकिन्छ ।

(३) मल 

हामीसँग मल प्रशस्त छन् । त्यो पनि अर्गानिक । नेपालका पहाड र तराईमा धानलाई मल हालिँदैन । तर पनि उत्पादन घट्दैन । त्यो भलपानीको देन हो । बर्खाको भलपानी मलिलो हुन्छ । त्यही भलपानी खेतमा हालिन्छ ।

हामी भलपानी छेक्न जाँगर चलाउँदैनौँ । चैत, वैशाखको भलपानी छोपियो भने १० मुरी उब्जनी हुने खेतबारीमा २० मुरी हुन्छ । भलपानी कसरी छोप्ने ? ‘सजिलो छ,’ कृषिविद् राईले सुझाए, ‘बाटोभरि गोबर, पत्कर, सुली हुन्छ । पानी पर्दा बगेर जान्छ । त्यो कहाँबाट बग्दै छ, पहिचान गरी सम्बन्धित किसानले आफ्नो बारीमा डोर्याउनुपर्यो । बारी भिरालो भए पनि खेतैजस्तो बनाउनुपर्दैन । प्रत्येक गरामा भलपानी जम्न सक्ने भयो भने पुग्छ ।’ भलपानी जम्नबित्तिकै जोतिहाल्नुपर्छ । नत्र उडेर जान्छ । जोतेपछि माटोमा मिसिन्छ । त्यसपछि फेरि एकपटक भलपानी हाल्न सके बारीमा समेत मल हाल्न पर्दैन ।

गोरु जोतेर व्यावसायिक खेती गर्न सकिँदैन

खेतमा त झन् सजिलो छ । कुलो, नहरबाट भलपानी डोर्याएर खेतमा हाले भइगयो । पानी पर्यो भनेर हात बाँधेर घरभित्र बस्न भएन । पानी पर्नासाथ भलपानी छेक्ने संस्कार विकास गर्ने हो भने साबिक जमिनबाट उत्पादन दोब्बर हुन्छ ।

मलका लागि पत्कर, सोत्तर त्यत्तिकै उपयोगी मानिन्छ । हिमाल, पहाड र तराईमा त्यत्तिकै खेर गइरहेको छ । नेपालमा ५५ लाख भैँसी, ७५ लाख गाई छन् । भैँसी र गाईले मात्रै एक दिनमा कम्तीमा आठ करोड लिटर पिसाब निकाल्छ । त्यति पिसाबले मात्रै हजारौँ हेक्टर जमिनलाई मल पुग्छ । हामी संकलन गर्दैनौ । सबै उडेर जान्छ । सबै मिथेन र नाइट्राइट भएर आकाश डढिरहेको छ । गोबर पनि त्यत्तिकै मात्रामा हुन्छ । एक दिनको कम्तीमा पाँच करोड किलो मल पनि घामले तताएर उडाइरहेको छ । सोलिडलाई हिट गरे लिक्विड हुन्छ । लिक्विड हिट गरे ग्यास बन्छ । गोबरमा ९० प्रतिशत पानी हुने भएकाले त्यो लिक्विड हो । गोबरमा भएको नाइट्रोजन उडेर गएपछि काम लाग्दैन । काम लाग्ने चीज उडेर गएपछि मल नभएर छोक्रामात्रै बाँकी रहन्छ । त्यो पनि बारीमा लगेर महिना दिन त्यत्तिकै राखिन्छ । त्यसो भएपछि मलले मलको काम गर्दैन । गोबर, सोत्तर र पत्करमिश्रित मल एक नम्बर हुन्छ ।

पत्करले नेपालका हजारौँ हेक्टर वन डढेलो लगाउँछ । खरानीजति हिन्दमहासागरमा पुग्छ । एक हेक्टर वनमा झन्डै दुई टन पत्कर निकाल्न सकिन्छ । पत्करलाई कम्पोस्ट मल बनाउन सकियो भने खेती सप्रिनुका साथै डढेलो रोक्न सकिन्थ्यो । यसैगरी, दैनिक गाई, भैँसीको पिसाब र गोबरमात्रै संकलन गरी प्रतिहेक्टर २० टन गोबर मल र २० टन पिसाब मल प्रयोग गरेमा १० टन अन्नबाली उत्पादन हुन्छ । ५० टन तरकारी सजिलै फलाउन सकिन्छ । उत्पादनमा यति धेरै सम्भावना हुँदाहुँदै पनि किसानले ध्यान दिएका छैनन् ।

(४) यन्त्र 

किसानलाई यन्त्र नभई हुँदैन । गोरु जोतेर खेती गर्दा मानिस पनि गोरु हुन्छ । गोरुले एक दिनमा तीन रोपनीभन्दा बढी खेतबारी जोत्न सक्दैन । सानो ट्याक्टरले दैनिक नौ रोपनीसम्म जोत्न सक्छ । गोरुलाई घाँसपानी खुवाउनुपर्छ । जोतिसकेपछि ट्याक्टरलाई बन्द गरेर राखे पुग्यो । पहाडमा कसरी सम्भव होला सानो ट्याक्टर प्रयोगमा ल्याउन ? उनी भन्छन्, ‘हिजोआज सानो ट्याक्टरसमेत निर्माण भइसकेको छ । पार्टपार्ट खोलेर पहाड पुर्याउन सकिन्छ । रोबोर्टमात्रै होइन, ड्रोन टेक्नोलोजी आइसकेको समयमा पहाडमा सानो ट्याक्टर प्रयोग गर्न असम्भव छैन ।’

गोरु जोतेर खेती गर्दा मानिस पनि गोरु बन्छ

‘पहाडमा समेत सानो ट्याक्टरलाई व्यापकीकरण गर्नुपर्छ,’ उनको मान्यता छ, ‘यो राज्यको काम हो । अहिलेसम्म उपलब्ध प्रविधि परिमार्जन गरेर हिमाल, पहाड र तराईमा यन्त्र प्रयोग गर्नुपर्छ ।’ हुन पनि हो– पछिल्लो समय पोर्टेबल यन्त्र आइसकेका छन् । रोप्ने, गोड्ने र काट्ने फरक–फरक यन्त्र बनेका छन् । तसर्थ, गोरु जोतेर व्यावसायिक खेती गर्न सम्भव छैन । ‘गोरु जोत्नुपर्छ,’ कृषिविद् मदन राईको तर्क छ, ‘तर, पर्यटकलाई देखाउनमात्रै । निश्चित ठाउँमा ५÷६ रोपनी जग्गामा संग्रहालय बनाएर साँच्चिकै गोरु जोतेको दृश्य देखाइयो भने लाखौं पर्यटक हेर्नचाहिँ आउलान् ।’ विकसित देशमा किसानले ट्याक्टर छाडेर रोबर्टले जोत्न थालिसके ।

(५) बीउ 

बीउको जात छान्न जान्नुपर्यो । उखान छ– हुलमुलमा जिउ जोगाउनू, अनिकालमा बीउ । बीउ नै उत्पादनको स्रोत हो । हामी सबै बीउ हौँ । खेती भनेको बीउ हो । तसर्थ, बीउ अत्यन्तै महत्वपूर्ण मानिन्छ । सर्वप्रथम शुद्ध बीउ हुनुपर्यो । बीउ भनेको जात हो । रोप्न लागेको जात, धेरै फल्ने जातमा विचार पुर्याउनुपर्छ ।

(६) पुँजी

सम्बन्धित किसानले पुँजीबारे ध्यान दिनुपर्छ । पुँजी कहाँ पाइन्छ ? पुँजीविना केही काम सम्भव छैन । ट्याक्टरदेखि बीउ किन्नसम्म पुँजी चाहियो । ढुवानी गर्न पुँजी चाहियो । पुँजीको सहज व्यवस्था कहाँ छ ? सरकारमा कि सहकारीमा छ, पहिचान गर्नुपर्यो । पुँजी छैन भने माग्नुपर्यो । पुँजी नभई यन्त्रीकरण सम्भव छैन, यन्त्रीकरणविना उत्पादन सम्भव छैन, उत्पादनविना समृद्धि सम्भव छैन ।

(७) व्यवस्थापन/योजना

सबै कुरा चुस्त–दुरुस्त भए पनि व्यवस्थापन ठीक भएन भने किसानलाई धनी बनाउन सकिँदैन । ५० रोपनीमा तरकारी, ५० रोपनीमा किबी, ५० रोपनीमा माछापालन र ५० रोपनीमा गाईपालन गरेँ भने मेरो उत्पादन यति हुन्छ । उत्पादित वस्तु त्यहाँसम्म लगेर बेच्छु, यस्तो तरिकाले बेच्छु भनेर योजना बनाउनैपर्छ ।

२० रोपनीभन्दा कम जमिनमा खेती गर्नेलाई किसान भन्न अनुचित

व्यवस्थापनमा प्राविधिक ज्ञान जरुरी छ । प्राविधिक ज्ञानबारे सम्बन्धित किसान निरन्तर ‘अपडेट’ हुनुपर्छ । के–कस्ता प्रविधि भित्रिइरहेका छन् भनेर खोजी गर्नुपर्छ । उत्पादन, व्यवस्थापनदेखि बजारसम्मको प्राविधिक ज्ञानबारे पूर्ण जानकारी हुनैपर्छ । अर्को किसानले त्यही उत्पादन प्याकेजिङ गरेर बजार पुर्याइसक्यो तर आफ्नो उत्पादन राम्रो हुँदाहुँदै बारीमै छ भने उसले गरिखाँदैन ।
यसैगरी, सम्बन्धित किसानले खेती लगाएपछि पानी र मल कहिले हाल्ने, रोग, कीरा लागेको छ कि छैन भनेर समय–समयमा विचार पुर्याउनैपर्छ । हिजोआज पनि कतिपय किसानले ‘भए होस्, नभए नहोस्’ भन्ने गर्छन् । व्यावसायिक किसानले त्यसो गर्नुहुँदैन ।

(८) बजार

किसानले बजारबारे जान्नैपर्छ । बजारसम्म कसरी पुग्ने ? बजारको मागसमेत बुझ्न जरुरी हुन्छ । उदाहरणका लागि पूर्वी पहाडबाट मोरङको विराटनगरमा काउली थुप्रियो । २० रुपैयाँ केजी नबेचे आफूलाई फाइदा हुँदैन । किन्नेले दुई रुपैयाँ केजी पनि हाल्दैनन् । परेन आपत । स्थानीय खोलामा फालौँ फोहोर भयो भन्दै उल्टै कारबाहीमा परिएला भन्ने डर । त्यसो भएपछि पुनः ढुवानी गरेर अर्को ठाउँ लैजानुको विकल्प हुँदैन ।

त्यही काउली सिलगुडीमा ५० रुपैयाँ केजी बिक्री भइरहेको छ भन्ने पूर्वजानकारी भएमा उसले पहिल्यै त्यतै लैजान्छ । व्यावसायिक खेती गर्नेले ‘मार्केट इन्टेलिजेन्स/इन्फर्मेसनबारे जानेन भने दुःख पाउँछ । त्यसपछि नजानी नहुने भनेको मूल्य साङ्लो ‘भ्यालु चेन’ हो । ‘भ्यालु चेन’ लाई सिधा तरिकाले यसरी बुझ्न सकिन्छ । जस्तै, माछा व्यवसायीले माछा पाल्यो । तर, ग्राहक किन्न आएनन् भनेर चिन्ता मान्नु पर्दैन । त्यसो भए बजारसम्म पुर्याएर जिउँदै बेच्दा कि पकाएर बेच्दा बढी मूल्य आउँछ ? त्यो थाहा पाउनु भनेको ‘भ्यालु चेन’ हो ।

(९) रोग/कीरा 

बिरुवा प्राणी भएकाले उसलाई रोग/कीरा लाग्छ । रोग/कीराले आक्रमण गरिरहन्छ । गोलभेँडा व्यवसायीले खेती गर्नअघि गोलभेँडामा कुन–कुन रोग लाग्छ भनेर पहिल्यै थाहा पाउनुपर्छ । रोग लाग्न नदिन के गर्ने भनेर पहिल्यै सचेत हुनुपर्छ ।

पछिल्लो समय गोलभेँडा खेती गर्ने र कुखुरा पाल्नेहरू सम्बन्धित व्यवसायबारे अज्ञानताले लगानी डुबाइरहेका छन् । ‘नयाँ जग्गामा पहिलोपटक टनेल बनाएर गोलभेँडा लगाउनुभयो भने सय प्रतिशत नाफा दिन्छ,’ कृषिविद् राईको बुझाइ छ, ‘त्यही टनेलमा दोस्रोपटक गोलभेँडा लगाउनुभयो भने नाफा ५० प्रतिशतमा झर्छ । तेस्रोपटक लगाउँदा ३० प्रतिशत नाफा होला । तर, त्यही टनेलमा चौथोपटक गोलभेँडा लगाउँदा नाफा होइन लगानीसमेत उठ्दैन ।’ कारण ? पहिलोपटक लगाउँदा त्यहाँ रोग/कीरा केही थिएन । तसर्थ, १०० प्रतिशत नाफा भयो । दोस्रोपटक त्यहीँ गोलभेँडा लगाउँदा पहिल्यै केही रोग/कीरा पसिसकेका थिए । त्यसले आक्रमण गर्ने नै भयो । तेस्रोपटक लगाउँदा रोगैरोग, कीरैकीरा भएपछि उसले गोलभेँडा लगाउनसाथ आक्रमण गर्न थालेपछि उत्पादनमा ह्रास आउने नै भयो ।

कुखुरापालकको समस्या पनि गोलभेँडासँग मेल खान्छ । कुखुरापालकले लेयर एक र ब्रोइलर भए तीन लट उत्पादन गरेपछि गोठ सारिहाल्नुपर्छ । नत्र रोग लाग्न थालिहाल्छ । रोग लागेपछि औषधि दिँदादिँदा कुखुरा विषालु हुन्छन् । रोग त निको पार्न सकिएला तर खर्च बढ्छ । खानेकुरासमेत विषालु हुन्छ ।

(१०) सुरक्षा 

बाली सुरक्षा त्यत्तिकै महत्वपूर्ण मानिन्छ । चोरी, डकैतीबाट बाली बचाउनैपर्छ । बाली राम्रो हुनासाथ चोरी, डकैती हुन सक्छ । किसानले जुन ठाउँमा खेती गर्दै छ, उसले सरकारलाई जानकारी गराउनुपर्छ । किसानले बाली सुरक्षार्थ बीमा गर्नुपर्यो । बीमा गर्न खर्च लाग्ला तर पाँच लाख आम्दानी हुने ठाउँमा दुईदेखि १० हजार रुपैयाँसम्म खर्च गरे फरक पर्दैन ।

प्रकृति हाम्रा लागि वरदान हो र अभिसाप पनि । घाम नभई हुँदैन, धेरै घाम भयो भने खडेरी लाग्छ । पानी नभई हुँदैन, धेरै भयो भने बगाउन बेर लगाउँदैन । विशेषगरेर रोग/कीरा र मौसम परिवर्तनले गर्दा किसानलाई मर्कामा पार्न सक्छ । तसर्थ, उसले खोजीखोजी बीमा गर्नुपर्छ । खेती गर्नुअघि कुन–कुन खेतीको बीमा छ भनेर बुझ्न आवश्यक छ । नभएको बालीको बीमा व्यवस्था गरिदिनुपर्यो भनेर सरकारलाई घचघच्याउन पछि पर्नुहुँदैन ।

किसानले यति भूमिका निर्वाह गरेपछि लगाएको बालीनालीले उत्पादन नदिने कुरै छैन । वनस्पति, पशु, पक्षी, कीरा वा कीटाणुले आम्दानी दिन्छ दिन्छ । खेती भनेको बिरुवा हो । दोस्रो पशु हो । तेस्रो पन्छी । कीरा भनेको मौरी हो । कीटाणु भनेको च्याउ । जल भनेको माछा भयो । यी सबैले बिरुवा खान्छन् । आधार त बिरुवा हो । त्यसकारण बिरुवा जान्न जरुरी छ । बिरुवा जान्नेमात्रै सक्कली किसान हुन् । उनै त हुन्– धनी बन्न सक्ने ।

(रातोपाटी डटकमबाट)
तस्बिर सौजन्य : रातोपाटी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार