ललिपपबाटै मासिक ४५ हजार आम्दानी

स्थानीय महिलाले थोरै लगानीमा ललिपप उद्योग खोलेर मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको पशुपतिनगर, सूर्याेदय नगरपालिकास्थित फिक्कल, पञ्चकन्या, साँखेजुङ, गोदकलगायत गाउँका महिला ललिपप उद्योगमा लागेका हुन् । इलाम ललिपप उद्योग दर्ता गरेर पाँच वर्षदेखि ललिपप बनाउँदै आएकी साँखेजुङकी दुर्गाकुमारी राईले भनिन्, ‘दुई–चार पैसा कमाउन बाहिर जानु पर्दैन । सीप र जाँगर भए स्वदेशमै केही गर्न सकिन्छ ।’

उद्योगमा काम गर्ने सात महिलालाई मासिकसात हजारसम्म तलब दिएर पनि राईले मासिक ४० देखि ४५ हजार रुपैयाँ आम्दानी गर्ने गरेको बताइन् । भनिन्, ‘अधिकांश महिलाले बिहानको घरधन्दा सिध्याएर ललिपप उद्योगमा काम गर्न आउने गरेका छन् ।
‘म आफ्नो काम भ्याएर पनि बजार व्यवस्थापनमा साथ दिएको छु,’ दुर्गाकुमारीका श्रीमान् चन्द्र राईले भने, ‘इलाम, फिक्कल र कुटीडाँडा हाम्रो मुख्य बजार हो । टाढा पठाउन सम्भव छैन ।’ थोरै सामान पठाउँदा फाइदा नहुने र धेरै सामान पठाउँदा एकैपटक बिक्री नहुने भएकाले टाढाको बजार विस्तार गर्न नसकिएको राईको भनाइ छ ।

उद्योगमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयबाट ललिपप बनाउन स्वीकृति लिइएको छ । राई दम्पतीको सो उद्योग उद्योगीमाझ प्रतिस्पर्धी र उत्कृष्ट छ । पूर्वाञ्चलमा भएको खाद्यवस्तु प्रदर्शनीमा उत्कृष्ट र राष्ट्रिय औद्योगिक प्रदर्शनीमा दोस्रो स्थान हासिल गरेको उद्योगलाई घरेलु तथा साना उद्योग विकास समितिले ‘प्याकेजिङ’ गर्ने मेसिन अनुदानमा उपलब्ध गराएको छ । ९० हजार पर्ने उक्त मेसिन ल्याएपछि तयारी ललिपपलाई प्याकेजिङ गर्न सजिलो भएको राईले सुनाए ।

जिल्ला कृषि विकास कार्यालयले पनि ‘प्याक्ट’ परियोजनाअन्र्तगत चार लाख ४५ हजार अनुदान सहयोग गरेको छ । ललिपप बनाउने आधुनिक मेसिन खरिदका लागि प्याक्टले सहयोग गरेको हो ।

पाँच वर्षअघि खुलेको कोसेली ललिपप उद्योगमा मुना आचार्य स्थापनाकालदेखि नै काम गर्दै आएकी छन् । आचार्य सरकारी विद्यालयमा पढिरहेका छोराछोरीलाई ललिपप उद्योगमा कमाएको पैसाले निजी विद्यालयमा अध्ययन गराउने सुरमा छिन् । सो उद्योगमा सातजना महिलाले रोजगारी पाएका छन् ।

इलाममा सहकारी संस्था खोलेर ललिपप उद्योग स्थापना गर्नेक्रम बढेको छ । सहकारी संस्थामार्फत स्थापना भएका ललिपप उद्योगले निजीस्तरबाट खुलेका उद्योगको भन्दा बढी महिलालाई रोजगारी प्रदान गरेका छन् । एक दर्जन उद्योगमा विपन्न महिलाले रोजगारी पाएका छन् ।

सहकारिताको माध्यमबाट स्थापित पञ्चकन्याको उद्योगले २४ महिलालाई रोजगारी दिएको छ । तीन वर्षअघि स्थापित जनहित कृषि सहकारी संस्थाले आफ्नो उद्योगमा दुई महिला कर्मचारीसहित १६ महिलालाई रोजगारी दिएको हो । उद्योगमा रोजगारी पाएका महिलाले मासिक चारदेखि पाँच हजारसम्म पारिश्रमिक पाउने गरेका संस्थाका तोयानाथ भट्टराई बताउँछन् ।

जनहित सहकारी संस्थामा काम गर्ने कतिपय कामदार स्थानीय करफोक विद्यामन्दिरमा प्रवीणता प्रमाणपत्र तहमा अध्ययन गर्दै आएका छन् । बिहान क्याम्पसको कक्षा लिएर दिउँसो संस्थामा काम गर्न जाने गरेको स्थानीय भेषराज आचार्यले बताए । उत्पादित ललिपप बिक्रीका लागि धरान, दमक, विराटनगर र काठमाडौँ पठाउने गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार