पहिचानजनित खोज पत्रकारिता

कुमार यात्रु

थालनी कुरा

समग्र नेपाली पत्रकारितामा खोज पत्रकारिताको अभ्यास नौलो हो । अझ पहिचानजनित पत्रकारितामा त यसको थालनी नै हुन सकेको छैन भन्दा पनि हुन्छ । त्यसो त पहिचानजनित पत्रकारिता नै नेपाली परिवेशमा स्थापित हुन सकेको छैन । पछिल्लो कालखण्डमा आदिवासी जनजाति पत्रकार संघ (अनिज र परिवर्तित रूपमा फोनिज) को स्थापना र यसका गतिविधिबाट केही सकारात्मक परिणाम देखिए पनि नेपाली पत्रकारितामा स्थापित विषय बन्न सकेको छैन ।

नेपाली पत्रकारितामा पहिचानजनित विषय संवत् २०३६ को दशकबाट सुरु भएको हो । खासगरेर जनमतसंग्रहका कारण राजनीतिक खुलापनका कारण सबैखाले पत्रकारिताको आगमनसँगै कोङ्पी र छहराजस्ता विचारप्रधान पत्रकारिताको प्रवेशले पत्रकारितामा पनि नयाँ दृष्टिकोण, नयाँ क्षेत्रको क्षितिज देखाइदियो । यसैको प्रभावस्वरूप पत्रकारितामा प्रवेश गर्ने आदिवासी जनजातिका युवा पहिचानका कुरा गर्छन् । तर, अभ्यासले के देखाएको छ भने पहिचानजनित पत्रकारिता एकप्रकारको भावनामात्र हो । यसको दिगो विकासको असल अभ्यास कतै देखिएको छैन ।

आजको पत्रकारिता भावनाले होइन, बजारले थेग्ने गर्छ । पत्रकारिता आफैँमा महँगो साधन हो । पत्रिका निकाल्न पैसाको आवश्यकता पर्छ । रेडियो वा टेलिभिजन चलाउन पैसा भएरमात्र हुँदैन । प्रविधिसँग खेल्न सक्ने दक्ष प्राविधिक जनशक्ति आवश्यक पर्छ । यसका लागि दैनिक कार्यसञ्चालन गर्न सञ्चारगृह आर्थिक रूपले सबल हुनुपर्छ । यो सबै कार्यभावनाले चल्दैन । कतै–कतै एक/दुई अंक प्रकाशन गर्न, स्मारिका निकाल्ने काम पत्रकारिता होइन, पत्रकारिता निरन्तर चल्नुपर्छ । पत्रकारिता समाजसेवा होइन, समाजसेवी भावनाले एक/दुई दिन त चल्ला तर त्यसको गुणस्तर र स्थायित्वको पाटो भने खाली नै हुन्छ ।

विकल्प व्यवसायिकता

उदार तथा खुला बजारमुखी अर्थतन्त्रका कारण आजको पत्रकारिता मिडिया उपभोक्ताको हातमा गएको छ । स्वाभाविक हो, मिडिया उपभोक्ता भनेका पाठक, श्रोता तथा दर्शक हुन् । उनीहरूलाई निरन्तर आकर्र्षित गराइरहन खोजपूर्ण सामग्री पस्कनुपर्छ । यसकारण पहिचानजनित पत्रकारितामा प्रवेश गर्न इच्छुक युवाले अनुसन्धानमा आधारित व्यवसायिकतातर्फ आफ्नो दक्षता अभिवृद्धि गर्न सकेमा यो पत्रकारिता पनि दिगो हुन सक्ने देखिन्छ ।

हामी सबैलाई के हेक्का हुनुपर्छ भने अखबार, टेलिभिजन, रेडियो र अनलाइनका लागि बनाइने समाचारजन्य सामग्री खोजेरमात्र तयार हुन्छ । अमूक नेताले ‘यसो भन्नुभयो’ भन्ने प्रकारको समाचार अब समाचार हुन छाडेको छ । यसकारण व्यवसायिकता दिनका लागि खोज पत्रकारितातर्फ धेरै पत्रकारको ध्यान जान थालेको छ । हुन त समग्र पत्रकारिता खोज नै हो । कुनै पनि समाचार नखोजी बन्दैन । तर, सबै समाचारदाताले खोज्ने समाचारभन्दा पहिचानजनित पत्रकारले खोज्ने विषय फरक हुन्छ । घटना एकै भए पनि विषयवस्तुको हेराइमा, भोगाइमा र निष्कर्षमा पहिचानजनित पत्रकारिताले नयाँ र नौलो कुरा उद्घाटन गर्न सकेमा मात्र त्यो पहिचानजनित खोज पत्रकारिताले व्यवसायिकताको आकार ग्रहण गर्छ ।

खोज पत्रकारिता

पहिला–पहिला सबै समाचारदातालाई खोज पत्रकार भन्ने चलन थियो । तर, समय र परिस्थितिले खोज पत्रकारिताको यो परिचयलाई परिवर्तन गरेको छ । सामान्य पत्रकारितामा पनि खोज पत्रकारले अरू पत्रकारले भन्दा बढी अनुसन्धान गर्नुपर्छ, खोजी गर्नुपर्छ । उसले धेरै थरीका मानिससँग कुराकानी गर्नुपर्छ । घटना र प्रक्रिया आफैँले अवलोकन गर्नुपर्छ । खोज पत्रकारले सामान्य समाचारमा समेटिनेभन्दा बढी जानकारी खोतल्नुपर्छ । सबैभन्दा महत्वपूर्ण कुरा त खोज पत्रकारिता गर्न सामान्य समाचारदाताले भन्दा विषयगत जानकारी हुनुपर्छ । यो विशेषता पहिचानजनित खोज पत्रकारमा पनि हुनैपर्छ, यसमा थप कुरा पहिचानजनित सन्दर्भको पनि जानकार हुनुपर्छ ।

नेपाली समाजको समुदायगत विविधतामा भाषिक, सांस्कृतिक, भौगोलिक क्षेत्रको अस्तित्व र राज्यनिर्मित नीति र नियमले त्यस समुदायलाई पारेको असरबारे सामान्य जानकारी राख्न सकिएन भने पहिचानजनित खोज पत्रकारिता सम्भव छैन । यसकारण समाजको आधारभूत चरित्र, राज्यसत्ताको रवैया र त्यसमा पहिचानजनित समुदायको स्थानका विषयकै केन्द्रीय विषयवस्तुमा पहिचानजनित खोज पत्रकारिता हुनुपर्छ । हामीले खोज पत्रकारितालाई ‘पहिचानजनित’ विशेषण थपिरहँदा पहिचानका आधारलाई पनि ख्याल राख्नुपर्छ । समाजमा एउटै व्यक्तिका अनेक पहिचान हुन्छन् । जस्तो, वर्गीय, सामाजिक, राजनीतिक, सांस्कृतिक, भाषिक, सामुदायिक, पेसागत, लैंगिक, क्षेत्रगत आदि–आदि । पहिचाजनित खोज पत्रकारिताको प्रारम्भ बिन्दु त्यो पहिचानको सम्मान र मर्यादाबाट सुरु हुनुपर्छ ।

मूलधारको सन्दर्भमा खोज पत्रकारितालाई कसैले लुकाउन खोजेको विषयलाई खुलासा गर्ने प्रक्रियाका रूपमा खोज पत्रकारितालाई लिने गरिन्छ । तर, बदलिँदो सन्दर्भमा कसैले लुकाउन खोजेको कुरालाई प्रकाशमा ल्याएरमात्र खोज पत्रकारिताको उद्देश्य पूरा हुँदैन । राज्य संयन्त्रले उद्देश्यमूलक ढंगले ध्यान नदिएको क्षेत्र र त्यसले समुदायलाई पारेको असरलाई उजागर गर्नुचाहिँ खोज पत्रकारिताको वास्तविक उद्देश्य हो । विश्वव्यापी रूपमा खोज पत्रकारको ध्यान जाति, भाषा, धर्म, संस्कृति तथा जीवनशैलीमा राज्यसिर्जित भेदभावतर्फ केन्द्रित हुँदै गएको छ । लैंगिक विभेदविरुद्ध खोज पत्रकारको सक्रियता बढ्दो छ । तर, नेपालमा पत्रकार उत्पादन गर्ने कारखानाका रूपमा अगाडि आएका तालिमप्रदायक संस्था यी सन्दर्भमा मौनजस्तै छन् । भएकै विषयमा पनि उनीहरू जानकारी दिँदैनन् । पत्रकारितासँग सम्बन्धित पाठ्यक्रम लेखक र त्यसका गुरुबा पनि उनीहरू आफैँ छन् । यही कारण पनि अन्यभन्दा फरक र खोज पत्रकारिताको दायरालाई फराकिलो बनाउन पहिचानजनित खोज पत्रकारिताको आवश्यकता भएको हो ।

उदाहरणका लागि भन्ने हो भने केही वर्षअगाडि सिन्धुलीका आदिवासी जनजाति ढल्केबर २२० केभी प्रसारण लाइन परियोजनाविरुद्ध डटेर संघर्षमा उत्रिए । यस्तै गोरखाको खानेपानी आयोजनाविरुद्ध पनि संघर्षमा ओर्लिए । केही आदिवासी जनजाति त यो काण्डमा अझै जेलमा छन् । बाग्लुङको ढोरपाटन सिकार आरक्षमा सेना परिचालनविरुद्ध पनि उनीहरू संघर्षमा होमिए । तर, नेपाली पत्रकारिता फाँट यसमा मौन रह्यो । मूलधारका पत्रकार त मौन रहे–रहे, पहिचानमा कलम चलाउने पनि मौन रहे । यसले के पुष्टि गर्छ भने पहिचानको विषय भनेको हामी केवल राज्यको नामकरण, सीमांकनमात्र बुझ्ने गर्छांै । आईएलओ १६९ ले प्रत्याभूत गरेको प्राकृतिक स्रोत र साधनको अग्राधिकार र पूर्वसुसूचित मन्जुरीसहितको परामर्शको प्रयोग कहाँ, कहिले गर्ने भन्ने सवालमा आदिवासी जनजातिका अभियानकर्ता र अझ स्पष्ट शब्दमा भन्दा आदिवासी जनजातिमूलका पत्रकार कम जानकार छौँ । यसका लागि पहिचानजनित पत्रकारिताको क्षेत्रमा धेरै काम गर्नुपर्ने कुराको पुष्टि गर्छ ।

व्यवहारिक कुरो

पहिचानजनित खोज पत्रकारिता पनि सामान्य समाचार संकलनकै एक प्रक्रिया हो । यसमा पनि ६ क (को, कहाँ, के, कहिले, किन, कसरी आदि) को जवाफ खोज्नुपर्छ । तर, खोज पत्रकारले अन्य सामान्य समाचार खोज्ने पत्रकारभन्दा विशिष्ट रूपमा धेरै कुरामा जानकारी राख्नुपर्छ । धेरै मानिससँग कुराकानी गर्नुपर्छ । एउटैमात्र स्रोतलाई सूचनाको आधार मान्दैन । पहिचानजनित खोज पत्रकारिताले समुदायलाई केन्द्रमा राखेर विश्वव्यापी मानवअधिकारको वकालत गर्छ । लोकतान्त्रिक पद्धति र सामाजिक न्यायको पक्षमा उभिएर भेदभाव, बहिष्करण, बेथिति अन्त्य गर्ने लक्ष्यसाथ समाचार सामग्री संकलन गर्छ । र, प्रस्तुत गर्छ । यस्तो सामग्रीले गलत परम्परामा परिवर्तन ल्याउन सक्छ, गलत नीति तथा ऐन, कानुन संशोधन गराउन सक्छ र मानिसका गलत व्यवहार फेरबदल गर्न सक्छ भन्ने कुरामा विश्वास लिन्छ ।

पत्रकारिताको काम सूचना दिनु, शिक्षित पार्नु र मनोरञ्जन गराउनु भन्ने चलन छ । तर, अब यसले मात्र पत्रकारिताको लक्ष्य पूरा हुँदैन । समाजलाई सही दिशा निर्धारण गर्न सहयोग गर्नु पनि पत्रकारिताको काम हो । आममानिसले समाजमा भएका सबै घटना र सबै समस्याबारे थाहा पाउन सम्भव हुँदैन । सञ्चारमाध्यमले छानेर दिएको घटना र समस्यामात्र आममानिसले थाहा पाउँछन् । सामान्यतया मूलधारका सञ्चारमाध्यमले पस्कने समाचार तथा सूचना शक्तिशालीवर्गको आवाज र विचारमा आधारित हुन्छन् । तर, निमुखावर्गको आवाज र समस्या सञ्चारमाध्यममा वास्ता नगरिएका विषयमा पर्छन् । यदि यस्ता घटना आजसम्म त लुकेर नै बस्यो, अब पनि बाहिर नआउने हो भने तिनकाबारे राज्यले पनि वास्ता गर्दैन । यसैकारण सामाजिक, राजनीतिक क्षेत्रमा वास्ता नगरिएका विषयलाई बाहिर ल्याएर सामाजिक र राजनीतिक दिशा परिवर्तन गराउन पहिचानजन्य खोज पत्रकारिताले योगदान दिन आवश्यक छ ।

नेपाली समाजमा वर्गीय, जातीय, भाषिक, क्षेत्रीय, लैंगिक, सामाजिक, सांस्कृतिक, राजनीतिकलगायत विभिन्न विषयमा विभेद र असमानता जीवितै छन् । तिनलाई समाप्त गर्दै भविष्यका सम्भावना र सम्भावित जनआकांक्षालाई व्यवस्थापन गर्न राजनीतिक अभ्यास भएका छन् । तर, राजनीतिक पाटोले मात्र समाजको लामो र जटिल विकास प्रक्रिया सम्भव छैन । अहिलेसम्म हामीले समाजको यो विविधतालाई गहनामात्र भन्यौँ । यहाँ विभिन्न धार्मिक, सामाजिक, सांस्कृतिक र भौगोलिक क्षेत्रबीचमा सम्पत्ति, शिक्षा, स्वास्थ्य, शासनमा पहुँचजस्ता कुरामा असमानता भएको कुरालाई उठाएनौँ । किनभने हामीमाथि शान्ति र अमनचैनमा खतरारूपी खतराको घन्टी झुन्ड्याइएको छ । असमानता कुनै पनि मानवअधिकार र लोकतन्त्र भएको मुलुकका लागि सुहाउने कुरा होइन । तर, हाम्रो मूलधारको पत्रकारिताको ध्यान त्यतातिर जाने गर्दैन । पहिचानजन्य खोज पत्रकारले यस्ता विषयलाई ल्याउन सक्छ ।

शिक्षा र स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षाजस्ता आधारभूत सेवा दिने जिम्मा संविधानतः राज्यको हो । सरकारले यस्तो सेवा प्रदान गर्न विभिन्न सुविधा पनि दिन थालेको छ । उदाहरणका लागि प्राथामिक स्वास्थ्य सेवा केन्द्रमा ८० प्रकारका औषधि निःशुल्क वितरण गरिन्छ । ती सेवासम्म समाजका निमुखाको पहुँच हुँदैन । आदिवासी जनजाति, दलित, सीमान्तकृत समुदाय मधेसी, मुस्लिम, पिछडावर्गले यस्ता कुरा नसुनेका हुन सक्छन् । अर्थात् यसमा बेथिति हुन सक्छ । सरकारी क्षेत्रले प्रदान गर्ने यस्ता सेवा प्रभावकारी भएनन् भने तिनमा समाजका तल्लोवर्ग, समुदायको पहुँच हुँदैन । यस्ता विषयमा खोज पत्रकारिता गरेर निमुखा नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । शिक्षामा पनि प्राथमिक कक्षा निःशुल्क व्यवस्था गरिएको छ । केही विद्यालयमा खाजा व्यवस्था, अभिभावकलाई रोजगारी, मातृभाषामा शिक्षाजस्ता कैयौँ सुविधा गएका छन् । ती विषयको अनुगमन पनि छैन र यसको लेखाजोखा पनि हुँदैन । पहिचानजनित खोज पत्रकारले यी विषयलाई सतहमा ल्याएर सुविधामा पहुँच गराउन सक्छ ।

सार्वजनिक निकाय (जिविस, नगरपालिका, गाउँपालिका) मा विपन्न आदिवासी जनजातिलगायतका समुदायका लागि कार्यक्रम बनाएर कार्यान्वयन गर्नका लागि न्यूनतम १५ प्रतिशत रकम विनियोजन गर्नुपर्ने व्यवस्था छ । तर, यसको चरम दुरुपयोग भएको कुरा आइरहन्छ । तर, मूल प्रवाहको समाचारमा यस्ता विषय प्राथमिकतामा पर्दैन । खोज पत्रकारले मात्र यसलाई उजागर गर्न सक्छ । पहिचानजनित पत्रकारिता अब सेमिनार, गोष्ठी वा बैठकमा होइन, आमनागरिक बस्ने घर, गाउँ र टोल–बस्तीमा पुग्न सकेमा मात्र सार्थक हुन सक्छ ।

र अन्त्यमा,

हामी पत्रकारितामा छौँ तर पत्रकारिता केवल पत्रकारितामात्र होइन, यो अधिकारवादी मान्यतामा आधारित हुन्छ । कुनै संस्थाले रक्तदान गरेको समाचार लेखेर पत्रकारिताको धर्म पूरा हुँदैन । पत्रकारिता त्यसमा पनि पहिचानजनित पत्रकारिता गर्नेले खोज पत्रकारिता त गर्नैपर्छ, थप व्यवसायिकताको साँध, सिमाना पनि बनाउँदै लैजानुपर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार