एउटाको पैसा खाएकी केटीले अर्कैसँग बिहे गरेपछि रुवाबासी गर्ने बढ्दै

‘एक भाइले एकाबिहानै म्यासेज गर्‍यो,’ समाजसेवी सुष्मा रुपाबुङ राईले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘नाना मैले विदेशबाट पैसा पठाइदेको केटी अर्कैसँग गयो । मैले त्यो पैसा उठाउन पाउँछु कि पाउदिनँ ?’

ब्रुनाइमा रहेकी राईले भाइलाई ती केटीको नम्बर मागिन् । उत्साहित हुँदै भाइले भन्यो, ‘नाना फोनमा पैसा खा’को छैन भन्यो भने प्रमाणका लागि पैसा पठाएको बिलहरू मसँग टन्न छ । म पठाइदिन्छु ।’

उनले भाइलाई भनिन्, ‘पैसा माग्न होइन धन्यवाद दिनलाई ।’ आफ्नो बाबुआमालाई पैसा छैन भन्दै ढाँटेर बिहेअगाडि केटीहरूलाई पैसा पठाउनेहरूले यस्तै सजाय पाउनुपर्छ भन्ने उनको भनाइ छ । ‘त्यो केटीले एकदम ठीक गर्यो । बिहेअघि पैसा खर्च गर्नु भनेको चिठ्ठा खेल्नुजस्तै हो । परेन भनेर टिकटको पैसा फिर्ता माग्न मिल्दैन ।’

‘दुई वर्षअघि म नेपालमा हुँदा स्कुल पढाउने ठाउँनजिकैको एकजना क्षामा मसँग खुब मिल्नुहुन्थ्यो,’ उनले सुनाइन्, ‘दुःखको कुरा सेयर गर्नुहुन्थ्यो । विदेशमा कार्यरत छोराको कम्पनीले तलब दिँदैन रे । अर्को कम्पनीमा सर्न खोज्दै छ रे । कहिलेकाहीँ अत्यावश्यकीय वस्तु किन्नका लागि मलाई थोरै–थोरै पैसा सापट माग्नुहुन्थ्यो । छोराले पैसा पठाएपछि फर्काउँछु भन्नुहुन्थ्यो । म नेपाल बसिन्जेल छोराले कहिल्यै पैसा पठाएको खबर सुनाउनुभएन । मैले पनि पैसा फिर्ता मागिनँ ।’

आज त्यही क्षामाको छोरा भाइले यस्तो म्यासेज गरेपछि उनलाई झनक्क रिस उठ्योे । टाउको दुखेको छ । उनको बुझाइ छ, ‘पैसाले बनाएको सम्बन्ध पैसासँगै सकिन्छ । तर, बाबुआमा भोकै बसे पनि आफ्नो सन्तानको सधैं सुख खुसीको कामना गरिरहन्छन् ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार