सिरिया, म फुक्न चाहन्छु शंखध्वनि

आभास

सिरिया !

यतिबेला
हामीभन्दा झण्डै ५४९० किलोमिटर टाढा
तिम्रो छातीमा
बारुदका रूख उमारिरहेछन् अमेरिका,
रुस र तिम्रै काखीमा जमेको तेल रङ्गको मैलो माटो

यता टाढैबाट
धुलाम्य बारुदका रूख हेरेर
निरन्तर टोलाइरहेछु म

मुस्लोका धुमिल हाँगामा
चमेरो झुण्डिए झैँ
झुण्याइएका छन्
तिम्रा अनगिन्ती रगताम्य बालक

कहाली लाग्दो कोलाहल बीच
मौन छन् तिनका निर्वोध ओठ
स्थिर छन्
तिनका चंचले परेलाभित्रका कंचन आँखा

यता निहार्दैछु म
बार्दलीमा उफ्रिरहेको
मेरो पाँचवर्षे छोराको मुहार
र उसले नक्कल गरिरहेको डोरेमन चरित्र

सुकेको छ मेरो ओठ,जिभ्रो र तालु

बाँकी छैन मसँग
एक झमट थुक्नका निम्तिसमेत केही थोपा थुक

निरन्तर
म सम्झिरहेछु उही अमेरिका
र त्यतैतिर हुत्तिन हतार
डिभी भरिरहेका मेरा आफन्त

सिरिया !
साँच्चै
तिम्रा बालकहरूको मृत्युमा
आर्यघाटको डेढ किलोमिटर परको बार्दलीबाट
म फुक्न चाहन्छु
एकोहोरो शंखध्वनि

हो;
मलाई थाहा छ
तिमीसम्म त कुनै हालतमा पुग्ने छैन
मेरो शोक अभिव्यक्तिको
समवेदना युक्त निरसिलो नाद
र यसबाट फैलिएको तरङ्ग

तर थाहा छ ?
अमेरिका र तिनका दौंतरीले भने अवस्य राख्ने छन्
यस्ता मुर्च्छनाकोसमेत फेहरिस्त

किनभने
तिनले हाम्रा भित्तातिर पनि
वर्षौंदेखि टाँसिरहेका छन्
आफ्ना केही जोर कानका प्रतिलिपि !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार