खोटाङका दुई स्थानीय तहको नाम परिवर्तन

खोटाङ । जिल्लाका दुई स्थानीय तहको नाम परिवर्तन भएको छ । रूपाकोट मझुवागढी नगरपालिका र दिप्रुङ गाउँपालिकाको नाम परिवर्तन भएको हो ।

रूपाकोट मझुवागढी नगरपालिकाको अगाडि ‘दिक्तेल’ र दिप्रुङ गाउँपालिकाको पछाडि ‘चुइचुम्मा’ थपिएको छ । नगरपालिका र गाउँपालिकाले यसअघि नगरसभा र गाउँसभाको पूर्ण बैठकले नाम परिवर्तनका लागि सिफारिस गरेको थियो ।

नगरसभा र गाउँसभाले सिफारिस गरेबमोजिम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले बुधबार राजपत्रमा प्रकाशित गरेर नाम परिवर्तन भएको जनाएको छ । मन्त्रालयले प्रकाशित गरेको राजपत्रअनुसार अब रूपाकोट मझुवागढी नगरपालिकाको नाम ‘दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका’ र दिप्रुङ गाउँपालिकाको नाम ‘दिप्रुङ चुइचुम्मा गाउँपालिका’ कायम भएको छ ।

यसअघि लामिडाँडा गाउँपालिकाको पनि नाम परिवर्तन गरिएको थियो । तत्कालीन लामिडाँडा गाउँपालिकाको नाम परिवर्तन भएर रावाबेंसी गाउँपालिका भएको थियो भने अन्यको यथावत् राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार