संसारभरि दुई लाख ब्वाँसो

मनोज पौडेल

ब्वाँसोको नाम सुन्दै धेरै डराउँछन् । प्राकृतिक स्वच्छताको संकेत गर्ने जन्तु हो भन्दा धेरैले विश्वास गर्दैनन् । हेर्दा सानो डरलाग्दो देखिए पनि यसले पारिस्थितिक प्रणाली सन्तुलन गर्न गतिलो सहयोग पुर्याउँछ ।

ब्वाँसोको रातो खैरो रंगको शरीर, विषेशगरी ढाड, निधार र पुच्छरको टुप्पामा अन्तरमिश्रित काला खैरा रौं हुन्छन् । १५० मिटरदेखि ३,६०५ हजार उचाइसम्म पाइने ब्वाँसोको शरीर सय देखि १३० सेन्टिमिटरसम्म हुन्छ । यसको लामा पुच्छर, ठूलो टाउको र मजबुत दाँत हुन्छन् । १५ देखि २० केजी तौल हुने ब्वाँसो राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित तथा साइटिसमा सुचीकृत जनावर हो ।

पारिस्थितिकीय प्रणालीमा यसको अवस्थिति माथि हुन्छ । त्यसकारण यसलाई हिमाली, पहाडी भेगको स्वच्छ पारिस्थितिक प्रणालीको सूचक प्रजाति भनिन्छ । यसले बिरामी र कमजोर हरिण, मृग, चौंरी, घोडा, ठुटे खरायो र फ्याउ मुसालगायत स्तनधारीलाई आहारा बनाई वातावरण संरक्षण गर्छ । त्यस्तै नाउर, तिब्बती वनगधा र चौंरी पनि खान्छ । यसपछि स्वस्थ्य वन्यजन्तुले प्रजनन गरी खाइलाग्दा सन्तान जन्मनुले पारिस्थितिक प्रणाली राम्रो बनाउँदै लगेको छ । गाउँलेलाई नोक्सान पुर्याउने घरपालुवा जनावर, मुसा र चरालाई सजिलै आहारा बनाउँछ ।

कुनै क्षेत्र वन्यजन्तुलाई स्वस्थ छ/छैन भनेर जान्न सूचकको काम पनि गर्छ । ब्वाँसो उपस्थित क्षेत्र वन्यजन्तुका लागि स्वस्थ मानिन्छ । पारिस्थितिक प्रणालीमा यसको अवस्थिति माथि मानिन्छ । तराईमा बाघलाई हेरिएजस्तै हिमाल र पहाडमा ब्वाँसो संरक्षणमा लाग्दा धेरै वन्यजन्तु संरक्षण हुन्छ । ब्वाँसोले माटोको उर्वराशक्ति बढाउने तथा प्राकृतिक सन्तुलन कायम राख्न योगदान गर्छ । विज्ञहरूका अनुसार नाउर तथा अरू आहार मारेर माटोमा मिसाउँदा नाइट्रोजनलगायतका खनिज प्राप्त हुन्छ । यसले उत्पादन बढाउन सहयोग गर्छ । ब्वाँसो जलवायु परिवर्तन तथा पारिस्थितिकीय सूचक पनि हो ।

ब्वाँसोको व्यवहार मानिसको जस्तै समूह वा समाजमा बस्न मन पराउने हुन्छ । सिकारसमेत समूहमा गर्ने र बच्चासमेत समूहमै हुर्काउने यिनीहरूको मुख्य विशेषता हो । यिनीहरू लजालु र मानवसँग डराउने स्वभावका हुन्छन् । एउटा समूहको सबैभन्दा बलियो भाले र पोथीले जीवनभरिका लागि जोडा बनाउने यिनीहरूको सबैभन्दा रमाइलो पक्ष होे ।

पछिल्लो समय महत्वपूर्ण वन्यजन्तु ब्वाँसो संकटमा पर्दै गएको छ । विदेशीको सहयोग नपाएसम्म वन्यजन्तुप्रति चासो नदिने प्रवृत्ति बढदै जाँदा ब्वाँसो हराउँदै जान लागेको संरक्षणकर्मी राजु आचार्यले बताए । चोरीसिकार र अवैध व्यापारले गर्दा ब्वाँसो लोप हुने अवस्थामा पुगेको आचार्यले बताए । उनका अनुसार हालसम्म अन्नपूर्ण, कञ्चनजंघा र मनास्लु संरक्षण क्षेत्र, ढोरपाटन सिकार आरक्ष, खप्तड र सेफोक्सुन्डो राष्ट्रिय निकुञ्ज, मुगु र हुम्लामा ब्वाँसो भेटिएका छन् ।

आईयुसीएनको राष्ट्रिय रातो सुचीअनुसार नेपालमा ब्वाँसोको संख्या ३० देखि ५० सम्म भएको अनुमान गरेको छ । तर, उक्त संख्या आँकलनमा वैज्ञानिक आधार भने छैन । सर्वसाधारणको अन्धविश्वासका कारण ब्वाँसो संकटमा पर्दै गएको हो । यसका अंगको उपयोगिताको गलत व्याख्याले ब्वाँसो हराउने अवस्थामा पुगेको हो । साथै मानव र वन्यजन्तु द्वन्द्व पनि ब्वाँसो घट्नुको अर्को कारण भएको अनुन्धानकर्ताले बताएका छन् । विभिन्न अन्धविश्वासले ब्वाँसोको सिकार बढाएको वन्यजन्तु विषेशज्ञ प्रा.डा. करणबहादुर शाहले बताए ।

 

नेपालको धेरै ठाउँमा ब्वाँसोलाई सैतानको प्रतीकका रूपमा लिइन्छ । त्यस्तै गाईबस्तुलाई गाली गर्न ब्वाँसोको प्रयोग गरिन्छ । कतिपय पहाडी इलाकामा ब्वाँसो मार्ने व्यक्तिलाई माला र खादा लगाएर गाउँ डुलाउने प्रचलनसमेत रहेको अनुसन्धानकर्ता आचार्यले बताए ।
अन्तर्राष्ट्रिय रूपमा पनि ब्वाँसोप्रति सकारात्मक धारणा छैन । अमेरिका तथा युरोपमा पाइने ब्वाँसोलाई राक्षसको मन पर्ने जीवका रूपमा बुझिन्छ । यसैगरी, ब्वाँसोलाई जनसाधारणमा भगवान्ले नभई राक्षसले बनाएको बुझाइ छ । ब्वाँसोको छाला शरीरमा बेर्दा छारेलगायतका विभिन्न रोग निको हुने विश्वास छ । ब्वाँसोको दाँत माला बनाएर लगाउँदा भुतप्रेत नआउने विश्वास विश्वका कतिपय देशमा अहिले पनि छँदै छ । ब्वाँसोको टाउको रिसानीमुनि राखेर सुत्दा राम्रा सपनामात्रै देखिने अन्धविश्वास विद्यमान छ ।

नेपालमा विभिन्न औषधिजन्य प्रयोग तथा अंगको चोरी सिकारले ब्वाँसोसोको सिकार बढिरहेको बताइन्छ । हिमाली भेगमा ब्वाँसोले चौंरी तथा अन्य विभिन्न घरेलु चौपायासमेत सिकार गर्ने भएकाले मानिससँगको द्वन्द्व चर्केको मानिन्छ ।

संसारमा खैरो, रातो र इथोपियन गरी तीनप्रकारका ब्वाँसो पाइन्छन् । हिमाली क्षेत्रमा पाइने ब्वाँसो बेग्लै प्रकारको हुन सक्ने विश्वास गरिएको छ । ब्वाँसोबारे खासै अध्यनन नहुँदा धेरै कुरा बाहिर आउन सकेको छैन । ६ देखि १० वटाको समूहमा यिनीहरूको दिनचर्या बित्ने गर्छ । यिनीहरू प्रत्येक दिन औसतमा २० किमि दुगुर्ने गर्छन् ।

वैज्ञानिकहरूले ब्वाँसोको रुवाइका आधारमा यिनीहरूको प्रकार र संख्या पत्ता लगाउँछन् । तर, एक ब्वाँसो र अर्को ब्वाँसोको रुवाइ नमिल्ने अनुसन्धानकर्ता आचार्यले बताए । ब्वाँसो युरोप, एसिया, अफ्रिका र उत्तरी अमेरिका गरी चार महादेशमा पाइन्छ । पहिले लोप भएर गएका देशहरू फ्रान्स, जर्मनी, स्वीट्जरल्यान्ड तथा अमेरिकाका कतिपय स्थानमा ब्वाँसो अहिले देखिन थालेको छ । विश्व संरक्षण संघ (आईयुसीएन) का अनुसार, विश्वभरि ब्वाँसोको संख्या दुई लाखको हाराहारीमा भएको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार