सालिन्दा दुई सयजना सपार्दै दसौं हजारलाई बिगार्ने गोर्खा भर्ती

तेस्रो आँखा संवाददाता

संवत् २०३६ (सन् १९७९) मा धरान घोपा क्याम्पबाट भर्ती भएँ । १० जीआरमा परें । १५ वर्ष नोकरी गरेर सन् १९९२ सालमा नेपाल फर्कें । त्यसपछि केही समयका लागि बु्रनाई जीआरयुमा गएँ तर त्यहाँ धेरै रहिनँ । त्यहाँ ठूलो अभियान ग¥यौं । त्यो ऐतिहासिक आन्दोलन आफ्नो हक र अधिकारका लागि गर्यौं । गोर्खालीमाथिको विभेदविरुद्ध हामी उठ्यौं र आफ्नो मुद्दा स्थापित गर्यौं । त्यसपछि म नेपाल फर्किएँ ।

बु्रनाईमा यही अभियानका कारण हामीलाई फर्काउन खोेजेका थिए । ‘किडन्याप’ गरेर हवाईजहाजबाट ल्याएका थिए । तर, हाम्रो ठूलो शक्तिले त्यसरी सजिलै फर्काउन दिएन । हेडक्वार्टर नै कब्जा गरेर हाम्रा साथीहरूले हामीलाई फर्काउनुभयो । संसारको इतिहासमा ठूलो कामचाहिँ सर्भिसमै भएको लेफ्टिनेन्ट कर्णेललाई हामीले निलम्वन गरायौं । हामीले जित्यौं । ‘सिभिल वार’ थियो भने हाम्रो हातमा सत्ताकब्जा भएको थियो ।

 

बु्रनाई सरकारको राजा सुल्तानले कर्णेल स्कर्टसनलाई हाम्रै आँखाअगाडि पदमुक्त गराए । त्यो हाम्रो जित थियो । हाम्रा धेरै माग स्थापित गरायौं । अहिले हाम्रा साथीहरूले त्यहीअनुसार काम गरिरहेका छन् । सेवा र सुविधा पनि पाइरहेका छन् । त्यतिबेला हामीलाई सेक्युरिटी गार्डका रूपमा लगिन्थ्यो । तर, त्यहाँचाहिँ रेगुलर आर्मीका रूपमा खटाइन्थ्यो । जुन अवैधानिक थियो । हामी सेक्युरिटीमा गएपछि सेक्युरिटी गार्डकै रूपमा बस्न पाउनुपर्छ भन्ने माग थियो । त्यहीभित्र अन्य थुप्रै माग पनि थिए । त्यसपश्चात् म नेपालमै केही गर्नुपर्छ भनेर लागिपरेको छु ।

नेपालमा अधिकांश आदिवासी जनजाति आर्थिक रूपले पछाडि छौं । आर्थिक, शैक्षिक, राजनीतिकलगायतका हरेक क्षेत्रमा हामी पछाडि छौं । त्यसमा आदिवासी जनजाति नै किन पछाडि परे ? त्यसको मूलकारण भन्दा मलाई धेरैले गोरखा भर्तीविरोधी भन्छन् । जुन म होइन । मेरो मान्यता यसको अन्त्य हुनुपर्छ भन्नेमात्र हो । किनभने जबसम्म गोरखा भर्ती अन्त्य हुँदैन तबसम्म यो देशको आदिवासी जनजातिको विकास हुनेवाला छैन । उदाहरणका लागि प्रत्येक वर्ष दुई सयजनालाई ब्रिटिस आर्मीमा लगिन्छ तर १०औं हजारलाई बिगार्छ । त्यसैले गर्दा आदिवासी जनजातिको अहित भएको छ । यो देशको शासकले जानीजानी बिगार्ने काम गरेको छ । त्यसैले विकल्पसहित गोर्खा भर्ती बन्द हुन जरुरी छ । त्यसपछि मात्र आदिवासी जनजातिको विकास हुन सक्छ भन्ने मेरो ठम्याइ छ । त्यसैले मूल जड यही (गोरखा भर्ती) हो ।

आर्थिक रूपमा पनि पछाडि पर्यौं । हामीले दुःख गरेर कमाएर ल्यायौं तर पैसाचाहिँ अर्कै व्यक्तिलाई दियौं । त्यो व्यक्ति तपाईंले चिनिहाल्नुभयो । उनीहरूलाई धनी बनाउने काम मात्र गरियो । पैसा कमाएर धनी हुनु छ भनेर २ सय वर्षदेखि काम गर्यौं । तर, हामी (आदिवासी जनजाति) कहिल्यै धनी भएनौं । जहिल्यै पनि गरिबका गरिब । दुई सय वर्षको इतिहासमा जहिल्यै पनि गरिबै रहे किन ? किनभने हामीले अर्बौं रुपैयाँ कमाए पनि त्यो हाम्रो हातमा रहेन ।

हाम्रो हातमा राख्न आर्थिक क्रान्तिमा जानुपर्छ भनेर हामीले ०५७ मा संस्था स्थापना गर्यौं । यो गोर्खाजमात्र रहेको सम्भवतः पहिलो वित्तीय संस्था हो । किनभने यहाँ (गोर्खा–गोर्खा मिलिनियम) भित्र ९९.९ प्रतिशत सबै गोर्खाज छन् । बाँकी ०.१ प्रतिशत प्राविधिक कारणले मात्र हो ।

देशमा धनी मानिस धेरै छन् । भारतबाट लोटा लिएर पसेकाले देशकै अर्थतन्त्र हाँकिरहेका छन् । तर, यो देशको भूमिपुत्र भनेर छाती फुलाउनेहरू माग्ने स्थितिमा पुगेकोमात्र होइन, मागिरहेका छौं । अझै यसरी नै गयौं भने यस्तै हुन्छौं । कमाउँछौं तर स्थिति दिनप्रतिदिन बिगार्दै छौं । त्यसैले अब धेरै बिग्रन हुँदैन भनेर आर्थिक क्षेत्रमा लाग्न प्रेरित भयौं ।

यसै सन्दर्भमा लागेर गोर्खा विकास बैंक स्थापना भएको हो । तर, दुर्भाग्यवश राम्रो काम गर्दागर्दै नराम्रो भएर जान्छ भनेजस्तै भएको छ । त्यो हाम्रो बुझाइको कमजोरीका कारणले गर्दा त्यसतो हुन्छ । राम्रो ‘मेसेज’ लिएर गइरहेको बेला बीचमा अप्रत्यासित रूपमा संस्थाभित्र ‘क्राइसिस’ आयो । हामीले नजिकबाट हेरिरहेका छौं । साथीहरूलाई मेरो आह्वान छ, ‘कुनै पनि समस्या नआई समस्याका उपाय खोजिँदैन । उपाय पाइन्छ र भेटिन्छ । अहिले गोरखा विकास वैंकको स्थिति पनि यहि अवस्थामा आएको छ । र, यहाँभित्र गोर्खा विकास बैंकलाई समाप्त बनाउने गिरोह पसेकै हुन् । त्यसलाई स्वीकार्नैपर्छ ।

बेलायत पुग्दा सानो सर्भेजस्तो गरें । त्यहाँ बुझ्दा एकाध साथीले एउटा गोर्खाजसँग घर नकिनीकन बसेको छ भने करिब ३० लाख रुपैयाँ सम्पत्ति छ । अर्बौं रुपैयाँ भए पनि देशको अवस्थाले गर्दा चाहेर पनि नेपाल पठाउन सकेका छैनन् । हामीले आदिवासी जनजाति हितका लागि कुरा गर्दा हाम्रो वित्तीय क्षेत्रका विद्वान्ले हामीलाई किन गाइडेड गरेन ? कुनै समयमा हामीलाई ‘गाइडेन्स’ गर्ने मान्छे भएको भए काठमाडौं भ्याली नै हाम्रो हातमा हुन्थ्यो । हामी आज कुन स्थितिमा पुग्थ्यौं ? आज हामी सेकेन्ड र थर्ड करियर भनेर जानुपर्दैनथ्यो । विडम्बना गाइडेन्स अभाव भयो । हामी अनुत्पादक क्षेत्रमा लाग्यौं । किनभने एकतले आवश्यक भए पनि हामी तीनतले घर बनाउनमा लाग्यौं । यदि एकतले घर बनाएर काठमाडौंमा दुई तीन रोपनी जग्गा किनेको भए आज करोडौं रुपैयाँको हुन्थ्यो । त्यो गाइडेन्सको अभावले हो । त्यसैले हामी केही बुझेकाले नयाँलाई डोर्याउनैपर्छ । नयाँ पुस्ताको गालीबाट बाहिरिन हामी काम गरिरहेका छौं ।

सिंगापुरमा लगातार तीन वर्ष गएर वित्तीय क्षेत्रमा कसरी लगानी गर्नुपर्छ भनेर ‘ओरिएन्टेसन’ दिएँ । त्यसरी गर्दा त्यहाँबाट सात सयजना गोर्खा मिलेनियममा आबद्ध भए । त्यहाँबाट करोडौं रुपैयाँ महिनामा आइरहेको छ । यदि ‘ओरिएन्टेसन क्लास’ नचलाएको भए उहाँहरूले त्यो पैसा गोजी–गोजीमै सिध्याउनुहुन्थ्यो । त्यसैले विश्वसनीयतासाथ काम गर्नुपर्छ । मैले आफ्नो अनुभवका आधारमा त्यहाँ उहाँहरूलाई ‘ओरिएन्टेसन’ दिएको थिएँ । त्यसैले मैले जे भनेको थिएँ, त्यो उनीहरूले बुझे । त्यसपछि हाम्रो संस्थामा आबद्ध भए । अब हजारौंको संख्यामा लाग्ने मलाई विश्वास छ । यसरी नै मैले बेलायत, हङकङमा गएर हजारौं साथीहरूलाई आबद्ध गर्न सकेको छु । उनीहरूलाई बुझाउनु सानो योजना नै पर्याप्त छ । ठूलो परियोजना त नबुझ्न पनि सक्छन् । तर, सानो योजना त बुझ्छन् । त्यसैले सानो योजनाबाट पछि ठूलो योजनामा पनि जान सक्छन् ।

अहिले हामीले ‘ग्रामर स्कुल’ सञ्चालन गरेका छौं । त्यहाँ करिब ७ सय विद्यार्थी छन् भने १०५ जनाले रोजगारी पाएका छन् । गोर्खा मिलेनियम सहकारीमा २७ जना रोजगारीमा छन् । यो पनि त ठूलै उपलब्धि हो । यस्तो कुरा हामीले बुझाउँदै लैजानुपर्छ । हामी अब यही माध्यमबाट हाइड्रोपावरमा जाँदै छौं । पीपीए पनि प्राप्त गरिसकेका छौं । त्यहाँभित्रबाट मानिसलाई हुलेर त्यो साइडबाट उद्योगपति बनाउन सकिन्छ । त्यहाँ करोडौं रुपैयाँ लगानी गर्न सक्छन् । हामी खालि कमाउनेमात्रै लागेका छौं । हामीले जीवनभरि कमाएकाले भन्दा एउटा पुलिसको हवल्दारले हाम्रोभन्दा ठूलो घर बनाएका छन् । खै त ? हाम्रो कमाइ । सेकेन्ड करियर भन्दै विदेश गइरहेका छौं । छोराछोरीका लागि भनेर बिदेसिइएका छौं । हामीले त कमायौं कि गुमायौं यो पनि सही विश्लेषण गर्न सकेका छैनौं । तर, व्यक्तिगत हिसाबमा भन्दा धेरै ठूलो कुरा गुमाइरहेका छौं ।

करिब ३० हजारको संख्यामा भूपू गोर्खा सैनिक बेलायत प्रवेश गरे । त्यो सँगै उनीहरूले आफ्नो भाषा, संस्कृति लिएर गए । त्यो सबै गुमाउने र हराउने सम्भावना पनि छ । त्यसैले त्यो आन्दोलन गरेर नै प्राप्त गरेको भए पनि उनीहरू आफ्नो देश फर्कनुपर्छ । देशमै लडाइँ र संघर्ष गर्नुपर्छ । हाम्रै मातृभूमिमा केही गर्नुपर्छ । देश राम्रो भएन भनेर सबैले छोड्दै हिँड्न थाल्यौं भने स्थिति कस्तो होला ? आफ्नो आमाले झुम्रे साडी लगाई, नराम्री भई भनेर अरूको आमालाई आफ्नो आमा भन्यौं भने स्थीति कस्तो होला ? अहिलेको परिस्थितिमा बुझ्न झन् अपरिहार्य छ ।

नयाँ युवापुस्ताले सही परामर्श पाउन जरुरी छ । त्यसका लागि एक–दुईजनालाई भनेरमात्रै हुँदैन । सबैलाई प्रभाव पार्नका लागि विभिन्न जातीय संघ–संगठन छन् । तिनीहरूले आफ्नो कार्यक्रम नै बनाएर ल्याउन जरुरी छ । पेपरबाट भन्दैमा पूर्ण हुँदैन । कार्यक्रमकै रूपमा लैजान त सम्बन्धित जातीय संस्था नै लाग्नुपर्छ । त्यो सबैभन्दा प्रभावकारी हुन सक्छ । त्यसले सबै समुदायलाई परिचालन गर्न सक्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार