बेलायत बस्ने नेपाली शरणार्थी बन्ने डर

तेस्रो आँखा संवाददाता

म संवत् २०४० (सन् १९८४) मा भर्ती भएको हुँ । हाम्रो सन्तानकै पहिलो लाहुरे बनें । हाम्रो घर उदयपुर चौदन्डीगढी हो । साबिक बेल्टार–९ मा पनि केही जग्गा छ । बुवा बुद्धिमान र आमा पइमामाया तामाङको ६ भाइ छोरा, चार बहिनी छोरीमध्ये म जेठो हुँ । मेरो जन्म सन् १९६३ जुलाई १ मा भएको हो ।

संवत् ०२८ मा गाउँको शारदा मिडिल स्कुलबाट कक्षा ८ मा जिल्ला टप भएँ । हाइस्कुल पढ्नलाई सप्तरी जिल्लाको कञ्चनपुर, राजविराज या धरान र विराटनगर जानुपथ्र्यो । त्यसैले पढ्ने इच्छा हुँदाहुँदै पनि पढ्न पाइनँ । पढ्न पनि महँगो पथ्र्यो । ठूलो परिवार भएकाले पढाइ बढेन । बाउबाजेले पनि पुग्यो भने । मान्नैपर्यो । मेरो जिल्लास्तरीयमा प्रथम भएको जोश पनि अगाडि बढ्न सकेन । मधेसतिर जाँदा औलो लाग्ने डर पनि थियो । अर्को कुरा जागिर खाने पनि कोही थिएन । तर, मचाहिँ सानैदेखि आफ्नो भाग्य आफैं खोज्नेमा परें कि भन्ने लाग्छ । मलाई यसरी बसेर खान मन लाग्दैनथ्यो ।

घरबाट भागेर ०३३/३४ तिर विराटनगर गएँ । त्यहाँ नेपाल प्रहरीका लागि भर्ना खुलेको रहेछ । उभिएको, छानिएँ । एक हप्ता तालिम पनि गरें । तर, बोजु आइपुगिन् र डाँडापाखाको धनीले पुलिसको जागिर खाने ? उतै हिँड् भनिन् । मधेसमा पनि हाम्रो खेत थियो । माथि पाखोबारी थियो नै । बोजुले पुलिसको जागिर खाँदा कहाँ पुग्छस्, म मर्दा पनि भेट्दैनस्, हिँड् अहिले नै भनिन् । म फर्किएँ । त्यसरी हेर्दा सातदिने पुलिस पनि भइयो ।

त्यसपछि नजिक भागेर जाँदा भेटाइहाल्ने रहेछन् । त्यसैले टाढा जान्छु भनेर इन्डियन लाहुरे हुन ५० रुपैयाँ लिएर भागें । सिलिगुडीमा लोकल भर्ती खुलेको रहेछ । त्यहाँ पुगें । छनोट पनि भएँ । तर, शारीरिक नापजाँचले मात्र भएन । सर्टिफिकेट लोकल चाहिने रहेछ । म बाहिरिएँ । त्यहाँ छनोट गर्नेले लोकल सर्टिफिकेट बनाऊ भनेर पठाए । म बागडुग्रा चिनेकोमा गएँ । बनेन । किनभने डेढ सय आईसी माग्यो तर मसँग त भएको ५० रुपैयाँ पनि केही खर्च भइसकेको थियो । त्यसपछि लेबुङ गएँ । त्यहाँ दंगा भएकाले बन्द थियो । खुल्ने दिन पर्खंदै एक महिना बसें । खुलेन । त्यसपछि घर फर्किएँ ।

घर फर्केलगत्तै जस्तो गाउँकै लघुमाया तामाङसँग मागीबिहे भयो । त्यत्तिकै घरगृहस्थीमा बित्यो । यसैक्रममा ०३९ मा उदयपुरमा पनि गल्ला आयो । त्यसअगाडि त हामीले गल्लाको नामै सुनेका थिएनौं । पहाडमा जहिल्यै साउन–भदौमा मात्र खुल्ने भएकाले कोसी तरेर जान समस्या हुन्थ्यो । त्यतिखेर कटारीका जितबहादुर तामाङले बसाहामा गल्ला ल्याएका थिए । बसाहामा दिदीभिनाजु भएकाले भिनाजुले मलाई लिन राति नै पठाएछन् । म गएँ । पास पाएँ । कटारीमा ‘यारो’ (एआरओ) सेलेक्सनमा गएँ । सबैमा पास भएँ । तर, सेटअपमा फेल भएँ । एक मिनेटमा २२ पटक गर्नुपर्ने १९ भन्दा जान सकेन । त्यसरी फेल भएपछि म खेतीमा लागें ।

खोलानजिकको ऐलानी जग्गामा बेसारघारी थियो । त्यसमा खोलाबाट कुलो ल्याउँदा धान फल्छ भनेर म र एकजनासँग मिलेर कुलो खन्यौं । कुलो पुग्यो । धानखेती सुरु गरें । सात पाथी बीउ जाने खेत बन्यो । करिब २५ मुरी धान फलाएँ । तर, समकक्षी साथीहरूले भर्ती भएपछि चिट्ठी पनि नलेखेकोमा दुःख लागेको थियो । पछि भोग्दामात्र थाहा भयो, कसरी सम्झने पनि फुर्सद नहुने रहेछ ।

फेरि ०४० मा गल्ला खुल्यो । मलाई पहिलेको अनुभव थियो । त्यसैले अभ्यास गरें । सहजै पास भएर धरान गएँ । त्यहाँ तीन सयजनामा १५ जना छानिएका थियौं । त्यसमा म सबैभन्दा थोरै पढ्ने परें । बाँकी सबै एसएलसी र अन्डर एसएलसी थिए । सबै लर्के थिए । तर, म त छोराको बाउ थिएँ । मैले आवेदनमा सबै खुलाएँ । त्यसैले भर्ती लिँदैन भन्ने पनि सुनें । तर, डराइनँ । मलाई आफ्नो भएको बूढी र छोरा छैन भन्न सहज लागेन । त्यसैले लेखें । पढाइ कम भएकाले नलेला कि भन्ने मलाई डर थियो । भाग्यले साथ दिएर होला, म कम पढेको पो लागें । १५ जनामा हामी ६ जनामात्र लाग्यौं ।

त्यहाँ बीएफ्टी फस्र्ट, सेकेन्ड र थर्ड हुँदोरहेछ । सबैमा म पास भएछु । त्यसपछि मैले नम्बर पाएँ ।  म कसरी भर्ती लागें ? भनेर आफैं पनि छक्क पर्छु । किनभने भर्तीका लागि सबैले धर्मको महलमा हिन्दु लेख्नुपर्ने रहेछ । मलाई केही थाहा भएन । मैले त बुद्धिष्ट नै लेखें । पछि बुझ्दा बुद्धिष्टलाई नलिँदोरहेछ । त्यसैले कसरी लागें भनेर आफैं छक्क पर्छु ।

हामीलाई नेपाल वायु सेवा निगमबाट सिधै हङकङ लग्यो । तर, वेदरका कारण ग्वाङझाउ ल्यान्ड हुने भो । सोक्रममा हामीलाई नेतृत्व गरेर लगेका क्याप्टेन भगीरथ लिम्बूले ‘ल केटा हो अब हङकङ बस्न पाइएन, दुस्मनको देशमा बस्दै छौं, अनुशासन अलिकति तलमाथि भएमा गोली हान्छ’ भन्दै डर देखाए । किनभने त्यतिखेर चीन र ब्रिटेनको सम्बन्ध राम्रो थिएन । त्यतिबेला साँच्चै व्यर्थ पो भर्ती गइएछजस्तो पनि भयो । ग्वाङझाउमा तीन घन्टा राख्दा फेरि त्यस्तो केही फरक देखिनँ । दुस्मन महसुस भएन । सबै हामीजस्तै मात्र थिए । भाषा पनि मलाई त नेपाली हो कि तामाङ भाषा बोलेजस्तो लाग्यो । अप्ठ्यारो केही पनि झेल्नुपरेन ।

हङकङमा १० महिना तालिम गरियो । तालिमपछि सेकेन्ड सेभेनमा पोस्टिङ भएर गएँ । यो भनेको लाइमन ब्यारेक अर्थात् पारि हङकङ भन्नेमा गएँ । तर, त्यहाँ दुई वर्षमात्र बस्नुपर्यो । सेकेन्ड सेभेन नै मर्ज भयो । त्यसपछि फेरि पल्टन छान्ने मौका दियो । तर, त्यहाँ पनि भाइबन्धु अत्यधिक हुने भएकाले मैले चाहेको पूर्वेली पल्टन टेन जीआर या सेभेन जीआर जान पाइनँ । पश्चिमको पल्टनमा नाम निकालिदिएछ । चार महिनाका लागि म सेकेन्ड सेभेनमा जान चाहिनँ ।

जुनियरहरूले अर्ली गर्नुपथ्र्यो, कम्पनी कमान्डरको । त्यहीक्रममा गोराको अर्ली म पनि थिएँ । त्यहीक्रममा उसलाई मैले मेरो गुनासो राखें । मैले कुनै पनि च्वाइसमा जान पाइनँ, मलाई चित्त बुझेन, हेरिदिनुपर्यो, मेरो मान्छे कोही छैन भनें । त्यसपछि उसले कहाँ जान चाहने भनेर सोध्दै इन्जिनियरमा जाने प्रस्ताव गर्यो । मैले पनि रिटायर्डपछि धेरै काम लाग्ला भनेर जाने भनें र इन्जिनियरिङमा परें । यो सन् १९८६ को कुरा हो ।

फेरि नयाँ जग्गा नयाँ पढाइ सुरु भयो, इन्जिनियरिङको । त्यसपछि म पहिलो छुट्टी आएँ । तर, त्यसभन्दा अगाडि हामीलाई तालिम निरीक्षण गर्ने सार्जेन्टले मलाई मन पराएका थिए । उनले मलाई तालिमको बिदाइ पार्टीमा ‘युके जाने मान्छेले चार केस बियरमात्र ख्वाउँछौ ?’ भन्दा मैले ‘युके जान पाउने भए डब्बल ख्वाइन्थ्यो,’ भनें । उनले साँच्चै ख्वाउने हो भनेर उक्साए । त्यतिबेला म युके जानेमा पारिएको रहेछु । पछि मात्र थाहा भयो । उनले नै छुट्टीपछि युके जाने जानकारी गराए ।

म छुट्टीपछि पल्टन फर्किएर युके गएँ । त्यहाँ ८७ देखि ९० सम्म ३० महिना बसें । त्यतिखेर इन्जिनियरहरू ६÷६ महिनामा फक्ल्यान्डमा जानुपथ्र्यो । म पनि गएँ । त्यसरी जानेक्रममै हामीभन्दा अघिल्लोपटकका एकजना इन्जिनियर माइन्ड सफा गर्दा विस्फोटमा परेका थिए । हाम्रो पालामा त्यस्तो भएन । ६ महिना बित्यो । बेलायत फक्र्यौं । त्यसपछि नाटोसँग अमेरिकामा संयुक्त अभ्यास गरी हङकङ फर्कें । सन् १९९६ मा हङकङबाटै पेन्सन आएँ ।

हामी जंगल अभ्यासका लागि मात्र मलेसिया गएका थियौं । त्यसैले मलेसिया पूरै बुझ्ने अवसर पाइएन । छुट्टी पनि सिंगापुरमै बसियो । अस्टे«लियामा जंगल अभ्यास नै भए पनि हामीलाई त स्वतन्त्र नै थियो । ओभरसिज एक्सरसाइजमा सबैभन्दा राम्रो भएको थियो । किनभने सेभेन जीआरको हाइवे काण्डका एक सय ११ जनालाई विभिन्न पल्टनमा छरेर राखेका थिए । त्यसमा हाम्रोमा पनि थिए । त्यसैले हाम्रो ओसीले पनि डरले फ्री छाडिदिएका थिए । फलतः कडा अनुशासनमा रहनुपरेन । दुई महिना रमाइलो गरी कट्यो । त्यसपछि मलेसिया गइयो । सिंगापुर, युके, अमेरिका, इराकको लडाइँ हुने बेलामा म ब्रुनाई पोस्टिङ भएँ ।

म रिटायर्ड हुने बेलामा भूपू गोर्खा सैनिकको आन्दोलन सुरु भइसकेको थियो । त्यो आन्दोलन पेन्सन बढाउने आन्दोलन भन्ने हल्ला थियो । त्यसैले पहिले नै कमिट नगरी आएँ । कमिट गर्दा पैसा सुरुमै धेरै पाउने पछि कम पाइने सुनेको थिएँ । त्यसैले गरिनँ । बाहिर जाँदिनँ, नेपालमै केही गरौं भन्ने सोचें । कमिट नगरी आएर पेन्सन थाप्दा त मेरो पेन्सन १९ सय रुपैयाँ मात्र भयो । कमिट गरेको भए १२ सय हुन्थ्यो ।

त्यतिखेर मेरो दुईटा छोरा ज्ञानोदयमा पढ्थ्यो । होस्टेल बस्थ्यो । दुईजनाको प्रत्येक महिना नौ हजार रुपैयाँ तिर्नुपथ्र्यो । घर किनिएको थिएन । घरभाडा चार हजारभन्दा धेरै थियो । खानु पाहुनापाछाको हिसाब नै थिएन ।

केही रकम जम्मा भएको थियो । मेरो छोरा पनि हुर्किसकेको थियो । त्यसैले पढाउन सक्यो भने उसले पनि कमाइ गर्ला भन्ने सोचें । कतिसम्म थाम्ने भन्ने पनि थियो । म पेन्सन जति थाप्थें उति नै लाज र आक्रोशले जल्थें । हामीलाई अन्याय नै परेको हो भन्ने लाग्थ्यो । त्यसैले म गेसोमा लागिहालें । त्यतिखेर गेसोको केन्द्रीय समितिमात्र थियो ।

मलगायत साथीसहित चार–पाँचजना गएर केन्द्रमा सहयोग गर्ने प्रस्ताव राखें । त्यसक्रममा हामीले बागमती अञ्चल समिति गठन गर्यौं । त्यसको अध्यक्ष जितेन्द्र साम्पाङ, सचिवमा फणीन्द्र गुरुङ र कोषाध्यक्षमा म बसें । करिब २३ जना थियौं । त्यसपछि आन्दोलनमा सक्रिय भइयो । यो १९९८ तिरको कुरा हो । यहीक्रममा हाम्रो तलब करिब तीन सय प्रतिशतसम्म बढाएपछि काठमाडौं बस्ने वातावरण पनि बन्यो ।
मैले पनि जीआरयुमा जाउँ कि भनेर आवेदन भरेको थिएँ । तर, ब्लक भएको थियो । खुलेपछि पनि आन्दोलनमा सक्रिय भएकाले मेरो त ब्लक नै भयो । आन्दोलनमा लाग्दै छोराहरू पढाएँ । गोंगबुमा बंगुर पालन व्यवसाय गरें । त्यसलाई सेल गर्नुभन्दा पनि पल्टनमा सिकेअनुसार गरें । पल्टनमा हामी हचुवामा मोल्थ्यौं र डढाएर कालो बनाई पानीले भिजाएर सफा गरेर खाने चलन थियो । त्यहीअनुसार डढाउने हङकङबाट मगाएँ । त्यहीअनुसार शनिवार–शनिवार मासु काट्ने कार्यक्रम गरें । त्यहीं नै बीबीक्यु स्टेन्ड पनि बनाएको थिएँ । गोर्खा सैनिक आवाजमा एउटा विज्ञापन दिएको थिएँ । त्यसपछि गोर्खाली दाजुभाइ परिवारसहित आउन थाले । शनिवार त करिब १४ वटा बंगुर नियमित काट्नुपथ्र्यो । नयाँ प्रविधि अपनाएकाले खाँदा बिसाउँदैनथ्यो । त्यसैले जोड चल्यो । काठमाडौं उपत्यकाका सबैजसो पुग्थे ।

त्यसबीचमा छोरा मेखमान तामाङ भर्ती भएर ब्रिटिस गोर्खा आर्मीमा गयो । ऊ पहिलो छुट्टी आएपछि बिहे गरिदिनुपर्यो । त्यसक्रममा सम्धीखालबाट केहीले नपुगेर कसाहीको काम किन गरेको होला भन्ने टोकेसो आएपछि मैले बंगुर फर्म र बीबीक्यु सबै श्याम राईलाई बेचें । त्यो फर्म मैले ०५३ देखि ०५९ सम्म चलाएँ । त्यसबीचमा म सहकारीमा लागिसकेको थिएँ । त्यसपछि म सुरुदेखि नै गोर्खा मिलेनियम बहुउद्देश्यीय सहकारीको ऋणप्रमुखका रूपमा कार्यरत छु । यो अर्कै मज्जाको ठाउँ रहेछ ।

छोरा भर्ती भएपछि मात्र गोंगबुमा एकतले घर किन्यौं । त्यो पनि छोराको बिहेले साइत जुराइदियो । हामी बसेकै घरछेउमा घर बिक्रीमा रहेछ । बाउछोराको पैसाले त्यो घर किन्यौं । काठमाडौंमा पहिलोपटक ११ आना जग्गामा बनेको एकतले घर २५ लाखमा किन्यौं । केटी माग्यौं असार २ गते २४ गतेको बिहे थियो १३ गते घर किनेर सर्यौं। यो ०५९ को कुरा हो ।

बेलायतमा गोर्खाली समुदाय बस्नु रहरभन्दा बाध्यता हुने देखिन्छ । ब्रिटिस आर्मीमा हुनेको यो मुख्य समस्या हो । प्रत्येक वर्ष आरडीका रूपमा निक्लनेलाई सिभिलियन जागिर दिने भएको छ । त्यसले पनि उनीहरूलाई रोक्न सक्छ । किनभने तागत भएसम्म काम गर्ने कमाउने त सबैको रहर हुन्छ ।

गेसोको आन्दोलनले गर्दा नै उता जाने र बस्ने अधिकार पाएका हुन् । त्यसैले आन्दोलनमा लागेका भूपू साथीहरूलाई घर–जग्गा बेचेर नजान सल्लाह दिन्छु । पाएको अधिकार सदुपयोग गरौं, बिल्लिबाँठ भएर नजाऊँ । बाध्यताले गर्दा नसुनेजस्तो भइरहेको छ ।

भविष्यमा अहिले गएका गोर्खालीलाई भुटानी शरणार्थी भएजस्तै नहोला भन्न सकिन्न । कुनै एक दिन सरकारले त्यसरी नीति लिइदियो भने शरणार्थी हुनुपर्छ । त्यस्तो नहुनका लागि यहाँको घर–जग्गा नबेचौं । सकेर नजाऊँ । कमाउन र घुम्न मात्र जाऊँ । पौरख गरेर आएर यहीं बसौं, यहीँ केही गरौं । यहाँ केही गर्नका लागि साथ दिन हामी सदा तयार छौं । आफ्नो देशको माटो बेचेर नजाऊँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार