काठमाडौंमा च्छो रोल्पा

देवेन्द्र सुर्केली

काठमाडौंको बौद्धमा रहेको नेपालको सबैभन्दा ठूलो होटल ह्यात रिजेन्सीको ठीक मूलगेट अगाडि ‘छोरोल्पा फास्टफुड’ नामक एक रेष्टुरेन्ट रहेको छ । बौद्ध क्षेत्रमा शेर्पाहरूको विशेष बस्ती रहेको त्यहाँ नेपालको मध्य–उत्तरी क्षेत्रका विविध ठाउँको नाममा व्यावायिक केन्द्र खोलिनु स्वाभाविक नै हो । बौद्ध क्षेत्र तिब्बती मःमः, पुराना मालाका लागि चर्चित छ । च्छो रोल्पा ताल फास्टफुडमा पनि तिब्बती मःमः, खाना, कफीको स्वाद लिन सकिन्छ । तर, यस फास्टफुडमा यतिका लागि मात्र मानिस आउँदैनन्, रेष्टुरेन्टका सञ्चालक फुरलाक्पा शेर्पालाई भेट्न, प्रवास बसाइको सम्झना आदानप्रदान गर्न आउँछन् ।
कतिपयका लागि प्रवासको तीन वर्ष बसाइ पनि तीन महिनाजस्तो हुन्छ । कम्पनी जाने, होस्टल फर्कन, नघुम्नेका लागि तीन महिनाजस्तो हुन्छ । कसैको तीन वर्ष नौ वर्षजतिको पुरानोजस्तै हुन सक्छ । फुरलाक्पा शेर्पा करिब तीन वर्ष मलेसिया बसेर फर्किएका हुन् । तर, उनले धेरै लामो समय बिताएकोजस्तै लाग्छ ।
मलेसियाको उत्तरी राज्य पाहाङको मेन्ताकावमा कुनै बेला तीनजना नेपाली युवाको नाम चर्चामा हुन्थ्यो । मेन्ताकावको विभिन्न कम्पनीमा काम गर्ने ती तीन युवाले कहिले सांस्कृतिक कार्यक्रम गर्ने, पत्रिका प्रकाशन गर्ने गर्थे र चलचित्र निर्माण गर्नेसम्मको हिम्मत पनि गरे । ठूलो सपना बोकेर नेपाल फर्किएका उनीहरूको तीनजनाको समूहमध्ये ओमप्रकाश खापुङले ‘सुनको बिहानी’ नामक चलचित्रको निर्माण गरे । थीरबहादुर दाहाल इटहरीमा व्यवसाय गरेर बसिरहेका छन् ।
फुरलाक्पा शेर्पा दोलखावासी हुन् । दोलखाको मार्वु गाविसको उनको जन्मथलो हो । गौरीशंकर हिमाल रहेको गाविस गौरीशंकरसँगै जोडिएको छ उनको गाविस मार्वु । सँगै जोडिएको छ– चंखु, खारे, स्यामा र रामेछाप जिल्लासँग । त्यस गाविसको वडा नम्बर ७ मा २०४१ को माघमा उनको जन्म भएको थियो । गाविसबाटै बग्ने खानीखोला, घट्टेखोला गौरीशंकर हिमशृंखलाबाट स्रोतिएर बहन्छ । त्यस क्षेत्रबाट गायनमा उदाएका कलाकाहरूले ‘खानीखोला उर्लेर आयो’ भन्दै दोहोरी भाका पनि हालेका छन् ।
प्रारम्भिक शिक्षा मार्वुकै सिक्पाश्वरमा रहेको सरस्वती प्राविबाट सुरु गरेपछि माध्यमिक शिक्षाचाहिँ दोलखाको सदरमुकाममा रहेको चरीकोट कालिन्चोक माविबाट २०६१ मा एसएलसी गर्न पुगे । एसएलसीपश्चात् क्याम्पस पढ्न भनेर काठमाडौं आए । र, पब्लिक युथ क्याम्पसमा ज्वाइनमात्र के हुन पाएका थिए विदेशको रन्कोले उनलाई पनि छोइहाल्यो । त्योबेला छिटोछरितो भिसा लाग्ने भएकाले मलेसिया नै उनको रोजाइमा पुग्यो । तसर्थ, ०६२ मा पाहाङस्थित रोवास इको इन्डष्ट्रिज ग्याल्बोनाइजिङसम्बन्धी काम गर्नका लागि उनी पुगे । मलेसिया पुगेर उनले कम्पनी जाने, होस्टल आउनेमात्र काम गरेनन् । नजिकका नेपाली साथीभाइसँग भ्रातृत्व बढाउने काममा पनि अघि बढे । फलस्वरूप खापुङ र दाहालसँग उनको दोस्ती बढेको हो ।
मलेसियामा एकसमय जिल्लावासी, गाविसवासी, जातिगत रूपमा संस्था बनाउनेको लहडबाजी नै चलेको थियो । उनको जिल्ला दोलखा नेपालका आदिवासी जनजातिले थेगेको जिल्ला । अनि उनले संस्था खडा गरे ‘दोलखा आदिवासी एकता समूह’ । यस संस्थालाई दोलखा जिल्ला सम्पर्क मञ्चजस्तै नाममा पनि खडा गर्न सक्थे । तर, भेटिएका बढी दोलखालीहरू आदिवासी जनजाति मुलकै रहेकाले उनले त्यस्तो नामको संस्था गठन गर्न पुगेको बताउँछन् । फुरलाक्पा त्यस संस्थाको अध्यक्ष बने । संस्था गठन भएपछि उनको गाउँ मार्वुमा अशिक्षा, गरिबी, मृत्युदर बढेकाले गरिबी निवारणका लागि चन्दा उठाउने कार्यमा उनी जुटे र करिब २५ हजार रुपैयाँ गाउँमा पठाउन सके । त्यो रकमले आठ घरजति परिवार लाभान्वित भएको थियो ।
दोलखा आदिवासी समूहका अध्यक्ष तथा प्रवासी नेपाली एकता समाजका उपाध्यक्ष रहेको फुरलाक्पालगायत खापुङ र दाहालको टोलीले एउटा निर्णय लियो, ‘चलचित्र निर्माण गर्ने । चलचित्र निर्माणका लागि टोलीले कलाकार छनोट तथा विविध तयारी पनि गरिसकेको थियो । अन्ततः तीनैजना नेपाल आएपछि त्यो योजना सेलायो ।’
दोलखामा रहेका फुरलाक्पा सोध्दै खोज्दै ओमप्रकाश रहेको ठाउँ काँकडभिट्टा पुगे । र, चलचित्र निर्माणकार्यलाई पुनः जागृत गरे । ‘परदेशको पीडा’ सानो फम्र्याटमा सुरु गरेको चलचित्र अन्तिममा सेल्युलाइड चलचित्र ‘सुनको बिहानी’ मा परिणत भयो । ठूलो बजेटको चलचित्र बनेपछि फुरलाक्पा निर्माण समूहको सानो अंशियारमात्र बनेका छन् ।
नेपाल फर्किएपछि उमा मगरसँग वैवाहिक जीवनमा बाँधिएका फुरलाक्पाले बुवाआमा, एक दिदी, एक भाइ र तीन बहिनीको अभिभावत्व पनि निर्वाह गर्नुपर्ने स्थिति आयो । र, कोसीलाई बर्सेनि आफ्नो वशमा पार्ने च्छो रोल्पा तालको नाम लिएर फास्टफुड खोले । जुन हाल पाँचजना कर्मचारी राखेर चलायमान गतिमा अगाडि बढिरहेको छ । उनको छोरी पाल्मु शेर्पा पनि हुर्कंदै छिन् ।
नेपालमा पैसा के हो भन्ने नबुझेकाले एकपटक विदेश जानुपर्ने उनको धारणा छ । तर, नेपाल फर्किसकेपछि फेरि विदेश जाने होइन, त्यहाँ पनि गर्न सकिने परिश्रम नेपालमा पनि गर्न सके मनग्गे पैसा कमाउन सकिने कुरा उनी बुझाउँछन् । तसर्थ, सकेसम्म उनी फेरि नबिदेसिने तर पनि उमेर बाँकी नै रहेको यसै भन्न पनि नसक्ने बताएका छन् । श्रीमतीले फास्टफुडको व्यवसायलाई सम्हाल्न सक्ने भएकाले फुरलाक्पा भने ठेक्कापट्टाको काममा पनि सक्रिय हुन थालेका छन् । उनको पहिलो ठेक्का हाइड्रोपावरसम्बन्धी रहेको छ । मोबाइलबाट फोटो देखाउँदै भन्छ्न्, ‘मेरो ठेकेदारीमा खनिएको टनेल ।’
फुरलाक्पा शेर्पाले केही वर्ष अघि ‘जस्ट इम्याजिन’ नामक एक गीतिएल्बम लिएर आए । जुन एल्बमको एउटा गीतमा स्वर पनि उनकै छ । अनि दुईवटा रचना पनि । मलेसियामा छायांकन गर्ने भनिएको चलचित्र ‘परदेशको पीडा’का केही गीतहरू पनि यहाँ समावेश छन् । जसका तत्कालीन संगीतकार सुमन राई थिए । मलेसियामा रहेर नेपाली साहित्य क्षेत्रमा धेरै कलम चलाएका रुवेन पुनमगर यस एल्बमका संगीतकार बनेर झुल्किएका छन् । साथै मलेसियामै नेपाली नाटकको मलजल गर्ने गणेश खड्काको गीत पनि समावेश छ ।
भ्याएको खण्डमा स्टेज कार्यक्रममा पुगेका छन् । शेर्पा कल्चर गुथुक ल्होसारले उनलाई बर्सेनि सम्झने गर्छ । जस्ट इम्याजिन मलेसिया, दुबई, कतार, पोर्चुगलसम्म पुगेको जानकारी उनले दिए ।

जस्ट इम्याजिन
फुरलाक्पा शेर्पाको पहिलो प्रस्तुति, ओपेरा म्युजिकले बजार व्यवस्थापन गरेको ‘जस्ट इम्याजिन’मा जम्मा पाँचवटा गीत रहेको छ । ‘खोजी प्रतिभाको’ रियालिटी शोमार्फत उदाएका गायक उत्तमजंग लिम्बू, बालगायिकाबाट नाम कमाएकी श्रेयसी चेम्जोङ, गायक प्रमोद खरेल र सुमन राई इम्याजिनका गायक हुन् । फुरलाक्पा आफैंले पनि एक गीतमा स्वर दिएका छन् ।

‘मेरो नेपाल जिन्दावाद…
बिहानीमा भाले बास्यो मेरो देश व्युँझियो
हिमालमा डाँफे नाच्यो लेकबेंसी रमायो ।’

बोलको राष्ट्रवाद/देशभक्ति गीतको रचना मलेसियामा नेपाली नाटक विधाको मलजल गर्ने गणेश खड्काले रचना गरेका हुन् । मणि ताम्लिङको संगीत र सुमनको राईको स्वर यस गीतमा पाइन्छ । त्यसैगरी ‘जाउँ कान्छी’ बोलको गीतलाई उत्तमजंग लिम्बूले स्वर दिएका छन् । रचना फुरलाक्पा र संगीत पूर्ण परियारको रहेको छ ।
कृष्ण कार्कीको शब्द र सरोज प्याकुरेलको संगीतमा रहेको ‘तिम्रो बोलीले’ बोलको गीतमा प्रमोद खरेलले स्वर दिएका छन् । ‘न यो तिम्रो रहर’ बोलको गीत श्रेयसी चेम्जोङले गाएकी हुन् । यस गीत फुरलाक्पा आफैंले पनि गाएका छन् । जसको रचना हरिशरण डोटेल र संगीत उज्ज्वल लिम्बूको रहेको छ । रुवेन पुनमगर पहिलोपटक संगीतकारका रूपमा झुल्किएको गीत ‘यस्तै रहेछ’ बोलको गीत फुरलाक्पाको रचना र सुमन राईको स्वर रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार