४० रुपैयाँमा लाहुरे

तेस्रो आँखा संवाददाता

 

मेरो बाजे वीरहाङ तुम्बाहाङ्फे इन्डियाको सुबेदार हुन् । उनले पहिलो विश्वयुद्धमा इटालीतिर लडे छ । उनले सन् १९१६ मा सुबेदार पेन्सन पाएका हुन् । बुवाचाहिँ लाहुरे होइनन् । बुवाको नाम पहलमान तुम्बाहाङ्फे र आमा जयरानी लिम्बू हो । आठ भाइ छोरा चार बहिनी छोरीमध्ये म माइला हुँ । मेरो जन्म २००४ मा ताप्लेजुङको साबिक नाल्बो गाविस–६ मा भएको थियो । त्यस गाउँलाई पहिले मेवाखोला तुमाङ्खे गाउँ भनेर चिनिन्थ्यो ।
गाउँको माहोल नै भर्ती जानेखालको भएकाले बुवा पनि गए । तर, गाउँको सुब्बा भएकाले बाजे बुवाको काका दार्जिलिङको डिपोटमा रहेका सुबेदारले, ‘तिमी एक्लो छोरो त्यसमाथि हाम्रो सुब्बा पनि हो, तिमी भर्ती नजाऊ’ भनेर दार्जिलिङबाट फर्काइदिए । त्यसपछि फेरि जाने प्रयत्न गरेनन् । तर, मचाहिँ साथीभाइको लहैलहैमा २०२२ मा भर्ती लागें ।
गाउँमा २०१९ मा स्कुल स्थापना भयो । त्यहीं तीन कक्षासम्म मात्र पढ्न पाएँ । तर, २०१२ तिर नै बुवाले पण्डितहरू ल्याएर गाउँका केटाकोटी पढाउँथे । त्यसैले म क, ख, तमसुक लेख्न सक्ने भएको थिएँ । स्कुल खोल्दा एकैपटक एक कक्षामा भर्ना भएँ ।
मेरो बुवा भर्तीविरोधी थिए । उनले गाउँमा पेन्सनरहरूको बेहाल देखेका थिए । सबैभन्दा धेरै ऋण पेन्सनकै कारणले हुन्थ्यो । त्यसैले बुवाले भर्ती नजाऊ भन्दै गल्ला नाप्नु दिएनन् । तर, गाउँको दाइ र काका पर्नेले नापेकालाई लगे भनेपछि म पनि साथीहरू गएको बाटो पछ्याउँदै गएँ । आमासँग ४० रुपैयाँ मागेको थिएँ । मैले सान्थाक्रा बस्ने गल्लावाल चिनेको थिएँ । बाटोमा भेटें । सँगै धरान पुगें । धरानमा त्यो गल्लाको ग्रुपमा एउटा आठराईका इन्डियाको लाहुरे पनि रहेछन् । त्यतिखेर उनीहरूलाई लैजानुहुँदैनथ्यो, गल्लाको जागिर जान्थ्यो । त्यसैले उसलाई फिर्ता गरेर म उसको ठाउँमा लागें ।
त्यतिखेर भर्ती लाग्नु अहिलेको जस्तो गाह्रो थिएन । गेटभित्र प्रवेश गरेपछि दगुर्ने र हिँडेमात्र हुन्थ्यो । उनीहरूले हातखुट्टा बांगो छ छैन हेर्ने रहेछ । त्यसपछि मेडिकल चेक गरेर सकिन्थ्यो । म छनोटमा परें । छातीमा नम्बर लेख्यो । त्यसपछि लुगा कपडा दिए । त्यहाँ जुत्ता, पाइन्ट फिट गरेर मिस्टिन, काँटा र चम्चा दिए । त्यतिखेर आमाले मलाई खोज्न मामा पठाएकी थिइन् । म टम्बुमा बसेको बेला टम्बुमै मामा आइपुगे । म सरकारी पोसाकमा थिएँ । म भर्ती भएकाले मैले घरबाट लगाएर आएको सबै दिई मामालाई दिइपठाएँ ।
घोपा क्याम्पमा करिब एक महिना बस्यौं । हामी पानीजहाजमा जानुपर्ने भएकाले धेरै समय बस्यौं । हामी अक्टोबर १८ मा भर्ती भयौं । त्यसपछि कलकत्ताको ब्यारेकपुर भन्ने ठाउँमा फेरि करिब एक महिना बस्यौं । डिसेम्बर अन्तिमतिर सिर्जना भन्ने पानीजहाजबाट अहिलेको मलेसिया पुग्यौं । करिब सात दिनमा पुगेका थियौं । मलायाको पेनाङमा पानीजहाजले ओराल्यो । त्यहाँदेखि गाडीमा सुँगाई पटानी गयौं । नौलो ठाउँ विरक्त लाग्यो । करिब १५ दिनको ओरिएन्टेसन भयो । गुरुजीहरूले सबै सिकाएपछि हाम्रो तालिम सुरु भयो । त्यहाँको नौमहिने तालिमपछि म क्युजीई (क्वीन गोर्खा इन्जिनियर) मै भर्ती भएकाले त्यहीं गएँ । २०३८ चैतमा लायन्स कर्पोरल भएर पेन्सन आउँदा पनि युकेमै थिएँ ।
भर्ती जाँदा मलाया तीन वर्ष बसियो । त्यसपछि हङकङ १३ वर्ष बसें । युके दुई वर्ष र फक्ल्यान्डमा ६ महिना बसेर युके फर्किएपछि एकैपटक पेन्सन आएँ । सर्भिसको दौरानमै सिंगापुर, बु्रनाई, फ्रान्स पनि घुमें ।

फक्ल्यान्डमा युद्धपछिको अवस्थामा हामी सफाइका लागि गएको बेला हाम्रै साथी कृष्णकुमार राई माइन्डमा परेर बितेका थिए । फक्ल्यान्ड जाडो ठाउँमा अर्जेन्टिनासँग त्रास हुन्थ्यो । कुनै पनि बेला उसको लडाकु हवाईजहाज आउला भनेर सजग हुनुपथ्र्यो ।
पेन्सन आउँदा सेकेन्ड करिअरका लागि जाने मन थिएन । धरानमै खेती लिएँ । धरान नै बस्ने विचारमा थिएँ । तर, पछि जीआरयुमा नोकरी पाइन्छ भन्ने थाहा पाएपछि एप्लाई गरें । पेन्सन आएको दुई वर्षपछि जीआरयु गएँ । त्यहाँ १० वर्ष काम गरेर पाँच वर्ष कान्छा सरकारको रोयल स्टाफका रूपमा काम गरें । त्यसपछि नेपाल आएँ । जीआरयुमा १५ वर्ष बसेर फर्कंदा मेरो उमेर ५३ वर्ष पुगिसकेको थियो ।
पहाडमा भएको घर व्यवहार, तराईको खेती सबै आफैं हेर्छु । पहाड, तराई र काठमाडौं गर्दै जीवन बिताउँछु भन्ने थियो । तर, सामाजिक क्षेत्रमा सक्रिय भएपछि त्यस्तो भएन । काठमाडौंमात्र बसाइ भयो । म २०३९ देखि धरान बसें । त्यसको १० वर्षपछि काठमाडौंमा घर बनाएर बस्न थालें ।
मेरी श्रीमतीको नाम धनमाया लिम्बू हो । हाम्रो मागीविवाह भएको हो । हाम्रो छोरी छैन । तीन छोरामात्र छन् । ठूलो छोरा सफ्टवेयर इन्जिनियर हो भने माइला छोरा डाक्टर र कान्छोले सीए गरेर जागिर खाँदै छन् । सबै छोरा जागिरे छन् ।
गेसो आन्दोलन सही छ । म तीन कार्यकाल गेसो काठमाडौं अध्यक्ष थिएँ । ब्रिटिस गोर्खालाई बेलायत लैजाने र फौज बनाउने भन्ने उद्देश्यले स्थापना गरेको लाग्दैन । कमान्डर जेनरलले आफ्नो उपनिवेश नियन्त्रण गर्नका लागि मात्र स्थापना गरेको हो । तर, उसको देशमा गोर्खालीबारे केही पनि उल्लेख थिएन । पछि, गेसो आन्दोलनका कारण ब्रिटिस गोर्खाको पक्षमा पार्लियामेन्टले जितेपछि गोर्खाहरू युके बस्न पाउन थालेका हुन् । यो आन्दोलनको जित हो । नेपालले यसलाई सही ढंगले उपयोग गर्न सक्नुपर्छ ।
बेलायतमा बस्ने गोर्खालीले आर्जन गरेको सीप, कला, क्षमता र सम्पत्तिलाई नेपालमा पनि समायोजन गर्दा नेपाललाई फाइदा हुन्छ । नेपालको परम्परागत शासन पद्धतिलाई पनि आधुनिकीकरण गर्न सक्छ । त्यसैले यसबाट नेपाललाई फाइदा नै हुन्छ । घाटा देख्दिनँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार