म भीष्म धिमाल

देवविक्रम राई

म भीष्म धिमाल
म लौरो/म भर्याङ
म हली/म गोठालो
मलाई प्रिय लाग्छ गन्ध– गोबरको ।

म उनीहरूकै हुँ
जसले मलाई टेकेर तरे राजनीतिको खतरा भेल
म तिनीहरूको नै थिएँ
जसले मलाई टेकेर टपे राजनीतिको विकट भीर
मैले जोतें/मैले मलें
उनीहरूको तकदीरको बाँझो खेत
र, फलाएँ उनीहरूका लागि
सत्ताविलासको गुलियो फल ।

मैजस्तो टायरका चप्पल त लाउँथे नि उनीहरू
मेरै छाप्रोको ढिँडो–गुन्द्रुकमा नै त
आत्मतुष्टिका साथ जिब्रा फट्कार्थे उनीहरू
दुःखी दुःखीलाल सतारका लागि
आकाशका तारा नै झारेर दिने कुरो गर्थे
स्वर्गका फूल नै टिपेर दिने कुरो गर्थे ।

थियौं सँगै हामी
थिए साथमा
आदिवासी गाउँको एउटा सुन्दर फूल– मणिलाल राई
हिँड्दाहिँड्दै म हराएँ
मणिलाल पनि कतै ओइलाए
सतिसालजस्तै टिक्नलाई त
सयौं बिगाहा मौजा हुनुपर्दोरहेछ– पुर्खाको
घरै दाइजो हुनुपर्दोरहेछ– श्रीमतीको
फाँड्न सक्नुपर्दोरहेछ सिन्दुरबारी– साथी सहिदको
वा, घरुवा थापेर
ढडियामा कोच्न सक्नुपर्दोरहेछ आफ्नो सहयात्रीलाई ।

सुन्छु आज पनि उही सारङ्गी पेट– दुःखीलालको
सम्झन्छु बारम्बार उही ओइलाएका मणिलाल
देख्छु उही सनातन आँसुनदी प्यारो देशको
अनि रुन्छु मायामा, खुब रुन्छु ।

म भीष्म धिमाल
आफू त दुःखी ग्वाला
म आजकाल सिंहदरबारदेखि अलिक पर
ठेचो, ललितपुरमा गाई पाल्छु
मलाई सबैभन्दा प्रिय लाग्छ गन्ध– गोबरको ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार