चिटिक्क चिन्डो

चन्द्रकुमार हतुवाली

चिन्डो लहरा जातको एकप्रकारको बिरुवा हो । यसको फर्सीजस्तै लहराको बीच भागमा फल लाग्छ । यो लौका जातसँग मिल्दोजुल्दो हुन्छ । बोट त लौकासँग ठ्याक्कै नै मिल्दोे हुन्छ, सहजले छुट्याउन सकिँदैन । चिन्डो वा लौकाको बोट के हो त ? भनेर छुट्याउनका लागि पात वा डाँठ चिमोट्नुपर्छ । यदि चिन्डोको बोट भएमा नमीठो गन्ध आउँछ, जुन गन्ध लौकाको बोट र पातबाट आउँदैन । त्यसरी नै लौकाको तरकारी खान मिल्छ भने चिन्डोको तरकारी खान मिल्दैन । बरु चिन्डोलाई छिप्पिएपछि भेट्नो भएतिर काटेर मुख निकालेर आवश्यकताअनुसार पानी वा अन्न जातको चीजबिज राख्ने भाँडाका रूपमा प्रयोग गरिएको पाइन्छ । नेपालको सुदूरपश्चिमवासीले भने कम्मरमा चिन्डो बाँधेर बर्खामास खोला तथा नदी तर्न प्रयोग गर्ने गरेकोे समाचार टेलिभिजन प्रसारण हुने गरेको छ ।
किरात राई जातिमा भने चिन्डोको विशेष स्थान रहेको हुन्छ । चिन्डो दुईप्रकारको पाइन्छ । पहिलो प्रकारको चिन्डोको तल्लो भाग निकै फराकिलो र डल्लो हुन्छ । बिस्तारै माथि जानेक्रममा धेरै नै सानो हुँदै बीचमा केही फुकिएर फेरि सुलुत्त चुच्चोजस्तै परेको हुन्छ । यही भागमा काटेर मुख बनाइन्छ । यस्तो चिन्डोलाई राई बान्तावा भाषामा वाबुव वा फुब्चित नामले बोलाइन्छ । दोस्रो प्रकारको चिन्डो भने तल्लो भाग फुकेको र डल्लो हुन्छ । यो चिन्डो माथिल्लो भागतिर जाँदा पूर्णतः साँघुरो भई सुलुत्त भएर गएको हुन्छ । यसलाई राई बान्तावा भाषामा सोलोन्वा भनिन्छ । यी चिन्डोलाई भिन्न भाषी राईले भिन्न नामले बोलाउने गरिएको पाइन्छ ।
पारुहाङ र सुम्निमालाई किरात राई जातिले आफ्ना सृष्टिकर्ता भएको विश्वास गर्छन् । उनीहरू सृष्टिकर्ता पारुहाङ र सुम्निमाप्रति अगाध आस्था राख्छन् । सृष्टिकर्ता पारुहाङ र सुम्निमाको समयबाटै चिन्डोको प्रयोग किरात राई जातिमा हुँदै आएको कथन रहेको छ । तत्कालीन समयमा यसलाई पानी जम्मा गर्ने भाँडा, पानी उघाउने वस्तुका साथै विभिन्न चीजबिज राख्ने काममा प्रयोग हुँदै आएको थियो भन्ने भनाइ छ । आफ्नो सृष्टिकर्ताले नै प्रयोगमा ल्याएका थिए भन्ने विश्वासमा किरात राई जातिले चिन्डोलाई भिन्न र विशेष महत्व दिएका हुन् ।
चिन्डोलाई प्रयोगमा ल्याउन सर्वप्रथम छिप्पिएको चिन्डो हुनुपर्छ । छिप्पिएको चिन्डोको भेट्नोतिरको भागभन्दा एक वा दुई इन्च तल काटेर मुख निकालिन्छ । भित्रको कमलो भाग कुहिएर सफा हुन सकोस् र सजिलै बियाँ पनि बाहिर निस्कन पाओस् भनेर पानी हालेर महिना दिनजति राखिन्छ । पानी राखेको महिना दिनपछि त्यहाँभित्रको पानी र बियाँ निकालेर सफा गरिन्छ । यसपछि पनि त्यहाँबाट निस्कने गन्धलाई पूर्णतः हटाउन पुनः पानी राखेर केही दिनपछि फालिन्छ जसलाई राई बान्तावा भाषामा सेक्मा भनिन्छ । सेक्मा गरेपछि घाममा सुकाएर सुख्खा बनाई चिन्डोलाई प्रयोगमा ल्याइन्छ ।
यो जातिले चिन्डोको प्रयोग गर्ने कामलाई सामान्य र विशेष गरेर दुई भागमा विभाजन गर्न सकिन्छ । सामान्य कार्यअन्तर्गत पानी जम्मा गर्ने भाँडा, अन्न तथा अन्नको बीउलाई मुसा र कीरा लाग्नबाट बचाउन सुरक्षित राख्ने भाँडाका रूपमा प्रयोग गरेको पाइन्छ । चिन्डोको डल्लो र फुकेको एकातिरको भागमा गोलो वा वर्गकारमा काटेर मुख बनाई पानी उघाउनका लागि प्रयोग गरिन्छ । पानी उघाउनका लागि चिन्डोबाट बनाइएको मुखलाई राई बान्तावा भाषामा एवाक भनिन्छ । त्यसरी नै रक्सी कोसेली बोक्न र खेतालापात आदि कामका लागि जाँड बोक्नका लागि समेत चिन्डो प्रयोग गरिन्छ ।

चिन्डोको विशेष उपयोगअन्तर्गत माङ अर्थात् पितृ पूजा गर्दा प्रयोग गरिने चिन्डो र पितृ अर्थात् विवाह कार्यमा प्रयोग गरिने चिन्डो भनेर दुई भागमा विभाजन गरिन्छ । राईहरू पितृपूजा गर्दा सोलोन्वा चलाउने गर्छन् । सोलोन्वामा मर्चापानी वा पितृपूजा गर्नका लागि विशेष रूपमा बनाइएको कोदोको जाँड राखेर पितृलाई चढाउने गरिन्छ । यस्तो जाँड बनाउन र चिन्डोमा मर्चापानी वा जाँड राख्न घरको मुली महिलाले मात्र मिल्छ, अरूले मिल्दैन । मर्चापानी, जाँड वा रक्सी किरात राई जातिको पूजादिका लागि पवित्र वस्तु हुन् । निश्चित पूजाआजाका लागि निश्चित सोलोन्वा हुन्छ । एउटै सोलोन्वा सबै पूजामा चल्दैन । पूजाआजा सकिनेबित्तिकै सोलान्वा थन्क्याइन्छ । अर्कोपटक त्यहीँ पूजा गर्दा मात्र सो सोलोन्वा निकालेर चलाइन्छ ।
चिन्डोमध्येकै वाबुव वा फुब्चितलाई भने प्रीति कार्य अर्थात् केटी माग्ने कार्यमा प्रयोग गरिन्छ । विवाहका लागि कुरा मिलाउने मध्यस्थकर्ता कोङ्पी अर्थात् लमी केटी मगनी गर्न जाँदादेखि नै वाबुव वा फुब्चित चलाइन्छ । वाबुवमा रक्सी राखेर लगिन्छ । केटी माग्न पहिलोपटक कोङपीले एक वाबुव रक्सी लिएर गई केटीको बुवाआमालाई दिएर विवाहका लागि छोरी माग्न आएको जानकारी दिन्छन् । वाबुवको रक्सी केटीका बुवाआमाले स्वीकार गरेमा केटी दिन मञ्जुर भएको मानिन्छ । त्यसपछि बिहे समाप्त हुन्जेल गरिने हरेक रीत बुझाउन रक्सी राख्नका लागि वाबुव अनिवार्य हुन्छ । अन्य साधन वा भाँडाबाट रीतको रक्सी लान वर्जित हुन्छ । कसैले लगिहालेमा यसलाई मानमर्दन गरेको, हेपी काम वा अपमान गरेको मानिन्छ । यस्तो कार्यलाई राम्रो मानिँदैन र केटी दिने कार्य पनि असम्भव हुनपुग्छ । यदि केटीका बुवाआमाले कोङ्पीले लगेको वाबुवको रक्सी अस्वीकार गरेमा केटी दिन तयार नभएको पक्का मानिन्छ ।
किरात राई जातिले कुनै पनि काममा प्रयोग गर्ने चिन्डोलाई अन्य जातिले छुन मिल्दैन । पितृकार्यमा प्रयोग गर्ने चिन्डो सोलोन्वालाई घरको मुली मान्छे आमाबुवा र आमाबुवादेखि माथिका वृद्धवृद्धा बाजेबज्यै र माङ्पा (पितृ पुजारी) ले मात्र छुन मिल्छ ।
यदि घरको मुली महिला अन्य जातको परेमा वा घरको मुली महिला राई नै भए पनि अन्य जातको परपुरुषसँग लसपस परेपछि बिहे गरेर ल्याएको भएमा पनि छुन मनाही हुन्छ । त्यसरी नै घरका छोराबुहारी साथै केटाकेटीले पनि छुन मिल्दैन तर पितृकार्यमा प्रयोग हुने चिन्डो वाबुव भने किरात धर्मबाट अन्य धर्म परिवर्तन गरेको किरात राईबाहेकका अन्य राई जाति सबैले छुन मिल्छ ।
छुन निषेध गरिएको चिन्डो जथाभावी कसैले छोएमा पितृहरू बिटुलो हुने अनुभव किरात राई जातिमा रहेको छ । पितृहरू बिटुलो भएमा बिटुलो परिवार र बिटुलो बनाउनेको परिवारमा अशुभ र अफाप हुन्छ भन्ने विश्वास छ । यस्ता अशुभ तथा अफाप कार्यमा अन्न, लक्ष्मी र बस्तुभाउ कुनै निहुँमा नोक्सान हुने हुन्छ भने परिवारको सदस्यमा विभिन्न रोग लागेर बिरामी हुने, घाउचोट लाग्नेदेखि ज्यानै जान सक्ने विश्वास रहेको छ । त्यसैले राई गाउँमा बसोबास गर्ने गैरकिरात राई जातिले उनीहरूले चलाउने चिन्डो छुन हुँदैन, राईको देवता लाग्छ भन्ने गर्छन् । यदि गैरकिरात राईले थाहा नपाएर छुन लागेमा राईहरू आफू अघि सरेर छुन दिँदैनन् । घरका छोराबुहारी र केटाकेटीलाई अग्रिम जानकारी दिइने भएकाले छुने आँट नै गर्दैनन् ।

यो जातिको सबैभन्दा ठूलो देवता भनेको नै पितृ हुन् । पितृहरू चुलामा रहन्छन् भन्ने विश्वास छ । त्यसैले हरेक कार्य गर्दा चुलामा आफ्ना पितृलाई पुज्ने चलन छ । छुनु हुँदैन भन्ने जानकारी हुँदाहुँदै छोएमा मात्र होइन अन्जानमा छोइदिएमा पनि पितृले क्षमा दिँदैनन् भन्ने मान्यता रहेको छ । त्यसैले जानअन्जानमा यस्तो घटना हुन पुगेमा विपत्ति तथा दैवी घनाबाट बच्न तुरुन्तै पितृलाई चोख्याउँदै माफी माग्ने काम गर्नुपर्छ । पितृलाई चोख्याउन चिन्डोमा राखिएको मर्चापानी वा विशेष जाँँड अर्पण गर्दै भाले वा चल्लाको भोग दिनुपर्छ । यसपछि भने पितृ खुसी भई सन्तति तथा बिटुलो बनाउने मानिसलाई हानि गर्ने काम गर्दैनन् बरु रक्षा गर्न हरदम तयार रहन्छन् भन्ने विश्वास छ ।
किरात राई जाति विभिन्न थरमा विभाजित छन् । थरअनुसार भिन्न भाषा र भिन्न किसिमका अन्य संस्कार र संस्कृति रहेका छन् । यी संस्कार र संस्कृति कतिपय मिल्दा छन् भने कतिपय अमिल्दा छन् तर पितृपूजा, चुला, अदुवा र चिन्डो भने सबै किरात राई जातिमा समान रूपले पुजिने र चलाउने गरिन्छ । यस अर्थमा किरात राई जातिका यी मुख्य विशेषता हुन् भन्दा फरक पर्दैन । संस्कृतिका धनी किरात राई जातिका संस्कृतिको क्रमशः खोजी तथा अनुसन्धान गर्दै जानु आजको आवश्यकता हो । यस कामले राष्ट्रको गरिमामय सांस्कृतिक सम्पदामा खुड्किलो थप्ने काम गर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार