रवीन्द्र मिश्रको पहिलो रिपोर्टिङ


सन् १९९१ को अन्त्यतिर पाकिस्तानी राजदूतावासबाट पत्रकारितामा स्नातकोत्तर गर्न छात्रवृत्ति पाएँ । त्यसपछि, म लाहोरस्थित पञ्जाव विश्वविद्यालयमा अध्ययन गर्न पाकिस्तान गएँ । म बिहान पढ्थें । दिउँसो त्यहाँबाट प्रकाशित द न्युज इन्टरनेसनलमा काम गर्थें ।
त्यसअधि मैले नेपाल टेलिभिजनमा एक वर्षजति काम गरेको थिएँ । साप्ताहिक विमर्शमा पनि फाटफुट लेख्ने गर्थें ।
म पाकिस्तानमा पढ्दै थिएँ । मनमा भने जागिरको पीर थियो । नेपालमै बसेर सञ्चार क्षेत्रमा काम गर्न मलाई रहर थियो । त्यहाँ पुगेको एक वर्षजति पछि मैले तीन ठाउँमा पत्र लेखें । त्यसमा एउटा पत्र बीबीसी नेपाली सेवाका खगेन्द्र नेपालीलाई पनि लेखेको थिएँ । उहाँ मेरो बुवाको साथी हुनुहुन्थ्यो । मैले उहाँसँगको आफ्नो बाल्यकालकोे सम्झना मिसाएर जागिरको सम्भावनाको जिज्ञासा राख्दै एउटा लामो र मीठो पत्र लेखें ।
त्यसले कुनै काम गरेन । उहाँको एउटा सद्भावपूर्ण जवाफ आयो, ‘चाहिए सम्झुँला प्रकृतिको ।’
सन् १९९३ मा पाकिस्तानमा आमचुनाव हुँदै थियो । म त्यही पत्रिकामा काम गरिरहेको थिएँ । राति नौ बजे मलाई खगेन्द्र नेपालीको फोन आयो । उहाँले सोध्नुभयो, ‘पाकिस्तानको चुनावको रिपोर्टिङ गर्न सक्छौ ?’
मैले ‘सक्छु’ भनें । उहाँले रिपोर्ट दुई मिनेटको हुनुपर्ने र चुनावको तयारीबारे विषयवस्तु समेट्नुपर्ने बताउनुभयो । र, भोलिपल्ट रिपोर्ट रेकर्डिङ गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभएको थियो, ‘रिपोर्ट राम्रो भए बजाउँला, नत्र ‘माइन्ड’ नगर्नू ।’
मैले सक्छु त भनिहालें तर त्यो कसरी गर्ने मेरो दिमागमा आइरहेको थिएन । एकातिर बीबीसीमा रिपोर्ट गर्ने अवसर, अर्काेतिर कस्तो रिपोर्ट उहाँले खोज्नुभएको हो, ठ्याक्कै थाहा भएन । त्यसैले मनमा एकप्रकारको डर थियो । दुई मिनेटको रिपोर्ट कसरी बनाउने रातभरि सोचें । त्यो रिपोर्ट जसरी पनि राम्रो गर्नुपर्छ भन्ने मलाई लागिरहेको थियो । भोलिपल्ट बिहानै म त्यो रिपोर्ट बनाउन लागें । उहाँले मलाई कस्तो रिपोर्ट बनाउने विषयमा पनि केही बताउनुभएको थिएन । खालि चुनावको तयारीबारे भन्नुभएको थियो । त्यतिबेला अहिलेको जस्तो इन्टरनेटको सुविधा थिएन, चाहिएका सूचना खोज्न । विभिन्न पत्रपत्रिकालाई आधार बनाएर मैले रिपोर्ट तयार गरें । रिपोर्ट विश्लेषणात्मक थियो । खगेन्द्र नेपालीले तीन बजेतिर फोन गर्नुभयो, ‘मैले त्यो रिपोर्ट पढें, ठ्याक्कै दुई मिनेटको थियो ।’ खगेन्द्र नेपाली मसँग साह्रै खुसी हुनुभयो । भन्नुभयो, ‘चुनावको अवधिभरि रिपोर्टिङ गर है त ।’

मैले तीन/चारवटा रिपोर्टिङ गरें । उहाँले मलाई एक सय पाँच पाउन्ड पारिश्रमिक पठाउनुभयो । त्यसपछि हाम्रो सम्पर्क लामो समयसम्म भएन ।
१९९४ को फेब्रुअरीजस्तो लाग्छ । खगेन्द्र नेपालीको फोन आयो । उहाँले मलाई ६ महिनाका लागि काम गर्न एक हप्ताभित्र लन्डन आउन सक्छौ ? भनेर सोध्नुभयो । त्यतिबेला मेरो अन्तिम परीक्षा चलिरहेको थियो । त्यसैले मैले उहाँलाई केही समय लाग्ने बताएँ । उहाँले ‘उसोभए जतिसक्दो चाँडो आउनुपर्छ तर त्योभन्दा अगाडि अंग्रेजी र नेपालीमा परीक्षा लिन्छु, तिमीले अनुवाद पनि गर्नुपर्छ,’ भन्नुभयो । मैले हुन्छ भनें । मैले अंग्रेजीमा पनि स्नातकोत्तर गरिसकेको थिएँ । त्यसैले उहाँले लिएको परीक्षा मैले राम्रो गरेछु । त्यसपछि उहाँले मेरो भिसाका लागि पत्र पठाइदिनुभयो । तर, मेरो एउटा विषयको परीक्षा स्थगित भएकाले मलाई अलि समस्या परेको थियो । बीबीसीमा ६ महिना काम गर्न जाने मौका डुब्ला भनेर मैले बाँकी परीक्षा छाडेरै लन्डन जाने निर्णय गरें । तर, पछि लन्डनबाटै सो परीक्षा दिएर मैले पत्रकारिताको स्नातकोत्तर पूरा गरें । म लन्डन गएर काम गर्न थालेपछि मेरो काम खगेन्द्र नेपालीलाई चित्त बुझेछ । त्यसैले म गएको दुई महिनापछि नै दुई वर्षको करार पत्र पाएँ ।
त्यसपछि क्रमशः वर्षहरू बित्दै गए । झन्डै १५ वर्ष लन्डनमै बिताएँ । त्यस अवधिमा मैले रिपोर्टिङ कम र डेस्क तथा अन्तर्वार्ताको काम बढी गरें । कहिलेकाहीं रिपोर्टिङ पनि गर्नुपथ्र्याे । राजकुमारी डायनाको मृत्यु हुँदा गरेको रिपोर्टिङ स्मरणीय लाग्छ । साथै बीबीसीको अंग्रेजी विभागमा काम गर्दा मैले निकै रिपोर्टिङहरू गरेको छु । तैपनि मलाई लाग्छ– पाकिस्तानबाट बीबीसी नेपाली सेवालाई गरेको त्यो पहिलो रिपोर्टिङ राम्रो नभइदिएको भए म बीबीसीमा नपुग्न सक्थें ।

नयाँ पत्रिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार