गाडीभन्दा घोडाको भर

प्रकाश धौलाकोटी

छथर गाउँपालिकाका सबै वडा सडक सञ्जालसँग जोडिएका छन् । हरेक वडाका गाउँ–गाउँसम्म सडक पुगेको छ । एक ठाउँबाट अर्काे ठाउँसम्म पुग्न सवारीसाधन अभाव छ तर सडकको अभाव भने छैन ।
गाउँलेले आफैँ लगानी गरेर भए पनि सडक खनेका छन् । जिल्लामा अहिले पनि गाडी चढेरै धेरै वडा कार्यालयसम्म पुग्न सकिन्छ । उत्पादन गरेको कृषि उपज बजारसम्म पुर्याउन छथर गाउँपालिका–१, आङ्दिमका राजकुमार पन्त घोडा प्रयोग गर्छन् । व्यावसायिक गाई फार्म सञ्चालन गरी दैनिक दूध बिक्री गर्दै आएका पन्तले आवश्यक पर्ने सामान आयात र दूध ढुवानीका लागि घोडा प्रयोग गर्दै आएका हुन् । उनले अहिले तीन घोडा पालेका छन् । ढुवानीका लागि घोडा पालेको उनको भनाइ छ । सडकको पहुँच भए पनि गाडीभन्दा घोडा नै भरपर्दाे भएको उनी भन्छन्, ‘गाडीभन्दा घोडा सस्तो र भरपर्दाे छ ।’
पन्तले घोडामार्फत सामान र दूध ढुवानी गरेरै मासिक ४५ हजारभन्दा बढी आम्दानी गरिरहेका छन् । छथर गाउँपालिकामा उनीजस्तै अरू धेरैले उत्पादन गरेको दूध ढुवानी गर्न घोडाको प्रयोग हुँदै आएको छ । किसानले ढुवानीका लागि सवारीसाधनभन्दा भरपर्दाे भएकाले घोडा खरिद गरेका हुन् । उनीहरूले दूध ढुवानीकै लागि सहकारी संस्थामार्फत घोडा खरिद गरेका छन् ।
‘कच्ची सडक छन्, घोडा नै सबैभन्दा उत्तम छ,’ पन्तले भने । घोडा प्रभावकारी साधन बनेको मार्गदेवी दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष टीकाराम बस्नेत बताउँछन् । सो सहकारीले गत वर्ष दूध ढुवानीकै लागि घोडा खरिद गरेको थियो । ‘सवारीसाधन पर्याप्त छैनने,’ उनले भने, ‘वर्षात्का बेला त सवारीसाधन नै चल्दैनन् ।’ हैरानी खेप्दै आएका किसानका लागि घोडा नै उत्तम विकल्प हो ।
सुदापका काजीमान आँखेवा पनि दूध ढुवानी घोडामार्फत गर्छन् । उक्त क्षेत्रका प्रायः किसानले व्यावसायिक रूपमा गाई–भैँसीपालन गर्दै आएका छन् । दूध ढुवानीका लागि उनीहरूले घोडा पाल्ने गरेका हुन् । मच्छिन्द्र पशुपालन सहकारी संस्थाका अध्यक्षसमेत रहेका आँखेवाले स्थानीय कृषि उत्पादन शुक्रबारे बजारसम्म ढुवानी गर्न घोडाको प्रयोग गर्दै आएका छन् ।
जिल्ला दुग्ध उत्पादन संघका अध्यक्ष बुद्धिमान खुलालले वैदेशिक रोजगारबाट फर्किएका युवा गाई फार्म सञ्चालनमा लागेका बताउनुभयो । अहिलेसम्म छजनाले गाई फार्म दर्ता गरेका् जिल्ला पशुसेवा कार्यालयले जनाएको छ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार