सुम्निमा कलेक्सनको सांस्कृतिकमोह

तिलक चाम्लिङ

‘वाबु (चिन्डो) ले पनि तारन्तार बोलाइरहन्छ,’ जेरोन इन्फोसिस म्यानेजिङ डाइरेक्टर सुमन राईले ताल्छिखेल, ललितपुरको ‘सुम्निमा कलेक्सन’ पुगेपछि हँसाए । राई चिन्डो हेर्ने रहरले बारम्बार त्यहाँ पुग्दारहेछन् । खोटाङका रमेश राईलाई पनि जाउँजाउँ लागिरहेको रहेछ । एकै थलोमा किराती मौलिकता हेर्न र किन्न पाइने भएकाले धेरैलाई कलेक्सनले तानेकोे छ ।
कटुन्जे–४, भोजपुरका कपिल राईले निकै खोज–अनुसन्धानपछि सुम्निमा कलेक्सन खोलेका हुन् । यहाँ आउनेलाई चिन्डोले निकै ताने पनि राईका लागि यो ‘स्टोर रुम’ रहेछ । चिन्डोको गलामा यलम्बर (टुङ) बाजा जन्तरजस्तै झुन्डिएको छ । यसको गालाभरि प्वाँलो, खुर्मी, बिनायो, मुर्चुङ्गाहरू गहना भएर झुन्डिएका छन् । राईले चिन्डोको घाँटीमा बनाएको झ्यालबाट खुकुरी, कठुवा, चौंरीको पुच्छर फुतुफुतु निकाल्दै भने, ‘भित्र पनि चिन्डोले धर पाएको छैन ।’
गायिका जानुका राईका अनुसार सहरमा हुर्केका पछिल्लो पुस्तालाई आफ्नो मौलिक पहिचान गराउन कलेक्सनले निकै सहयोग गरेको छ । कम्पनी रेजिहारी, पेजुरी, कुची, सुनाखरीलाछा, शिरफूल, कल्ली, बुलाकीले मन तानेजत्तिकै छिटको गन्यू, ढाकासल, फेटा, अल्लोको कोटहरूले मन तान्दोरहेछ ।
सङ्ग्रहालयमा हेर्नमात्रै पाइन्छ तर यहाँ भने बिक्रीकै लागि स्टल बनाइएको छ । त्यसैले होला कलेक्सनका सञ्चालक कपिल राईले यसको स्लोगन ‘कल्चरल स्तुफ विद मोडानिटी’ राखेका ।
राईले किराती मौलिकताको खोजीमा सिक्किम, दार्जिलिङदेखि ताप्लेजुङ, पान्थर हुँदै ओखलढुंगा तथा सोलुका कुनाकुनासम्म पुगेको अनुभव सुनाए । धजुरा (फुर्की) देखाउँदै उनले भने, ‘यो माझकिरातीले लगाएको देखेको थिएँ । नमुनाका रूपमा ल्याएँ । आफैं बनाएर साथीहरूको कोटमा सिउँरिदिन्थें । पछि त किन्न थाले । हिजोआज यसको माग धेरै छ ।’ यो अनुभवबाट उनी व्यावसायिक भएरै मौलिक सम्पत्तिको प्रवद्र्धन गर्न सकिने ठाउँमा पुगेका रहेछन् ।
राईले धनुकाँडको मौलिक नमुना पनि सङ्कलन गरेका रहेछन् । तर, बनाउन नसकेको उनको गुनासो छ, ‘नमुना दिएर पनि कसैले बनाउन सकेन । विदेशबाट धनुकाँडको धेरै माग छ ।’
गायिका राईका अनुसार सुम्निमा कलेक्सनबाट सबैभन्दा बढी मौलिक सामान हङकङ जान्छ । अस्ट्रेलिया, अमेरिका, जापानतिर अहिले यसको नियमित ग्राहक छन् । विशेषतः किरात चाडबाडमा सुम्निका स्टाफलाई भ्याइनभ्याइ हुन्छ । मिस लिम्बू, मिस राईको प्रतियोगितामा सुम्निमा कलेक्सनबाट सामान धेरै बिक्री हुने गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार