मुख्यमन्त्री शेरधन राईलाई कृषिविद् मदन राईको सुझाव

मदन राई

१. मुख्यमन्त्री बन्ननुभएकोमा हार्दिक बधाइ । कार्यसफलताको शुभकामना ।

२. संघीय गणतन्त्र नेपालको ७ प्रदेशमध्ये १ नम्बर प्रदेश साह्रै सन्तुलित भूगोल हो । सबै प्रदेश यस्तो हुनुपथ्र्याे । हुन नसकेकोमा खिन्न लाग्छ । तपार्ईंं भाग्यमानी । यस्तो सन्तुलित र स्रोतले भरिपूर्ण प्रदेशको मुख्य निर्णायक तहमा बस्न पाउनुभएकोमा ।

३. तपार्ईंं प्रदेशको माननीय, ठूलो मान्छे होइन । तपार्ईंं जनताको प्रमुख सेवक र ठूलो काम गर्न जिम्मा पाएको मान्छे हो । राणा र शाहकालमा जस्तै माननीय र ठूलो मानिस भएर बस्ने रहर गर्नुभयो भने काम केही नहुन सक्छ । पाँच वर्ष केवल खादामाला, सम्मान–अपमान, भाषणभुषण, भोजभतेर, बिहे–मलामी, अस्पताल धाउँदै फुस्स बित्नेछ । हगेर दैलो देख्नेजस्तै नहोस् । मानिसको प्रत्येक दिन खास काम गर्ने समय केवल आठ घन्टामात्र हुन्छ भन्ने समयको हेक्का राख्नुहोला । यतिमा प्रत्येक दिन राम्रो कामको कल्पना, योजना र ठोस काम गर्नुभए तपाईं इतिहास मानव हुनुहुनेछ ।

नत्र…

४. गरिब देश र समाजको काम अनन्त र अनगिन्ती हुन्छन् । जादुगरै आए पनि गर्न असम्भव छ, मानिसको इच्छा पूरा गर्न । यो चार वर्षमा म तपाईं भएको भए निम्न कुरा गर्ने थिएँ ।

क. मोटरबाटोमा कुल बजेटको ३० देखि ४० प्रतिशत खर्च गरेर किसान –एग्रिकल्चर(, उद्योगी (इन्डस्ट्री), व्यापारी (ट्रेड), सेवाप्रदायक (सर्भिस) र पर्यटक आदि अर्थतन्त्रको मूल आधारहरूमा पहुँच पुर्याउने थिएँ ।

ख. उत्पादनमुखी, काममुखी र जीवनमुखी शिक्षाविना अर्थतन्त्र बलियो हुन असम्भव रहेछ भनेर हामीले भोगिसक्यौं । चार पर्खालभित्र ९० लाख विद्यार्थीलाई दैनिक ६ घन्टा किताब घोकाएर देश खाडलमा गएको हामीले भोगिरहेकै छौं । अब शिक्षामा जनआन्दोलन जनयुद्धभन्दा ठूलो क्रान्ति आवश्यक छ । म तपाईं भए यसमा लाग्नेथें र इतिहास मानिस बन्नेथें । के तपाईं हिम्मत गर्न सक्नुहुन्छ ? अहिलेको सरकारी स्कुल खाडी, मलेसिया र अन्य देशमा शारीरिक मजदुरी गर्ने जनशक्ति उत्पादन गर्ने संस्था हुन् र निजी स्कुल धनी देशका लागि अंग्रेजी बोल्दै मजदुरी र केही दिमागको काम गर्ने जनशक्ति उत्पदन गर्ने केन्द्रमात्र हुन् । तपाईंलाई थाहा भएकै कुरा हो । हामीले शिक्षालाई उत्पादनमा नजोडी देशको अर्थतन्त्र एकछेउ पनि उँभो लाग्नेवाला छैन । हामीले खोटाङमा नमुना सफल परीक्षण गरिसकेका छौं । अवलोकन गर्न, अनुशरण गर्न तपाईंलाई हार्दिक स्वागत छ ।

ग. अर्थतन्त्रको आधार कृषि भएको र पर्यकट भनेको बजार भएकाले कृषि पर्यटनलाई सँगै जोडेर नीति, योजना र कार्यक्रम बनाई काम गर्नेथें । किसानले उब्जाएको वस्तु बजार लैजानुभन्दा बजारै (पर्यटक) किसानको घरबारीमा पुर्याउन सके किसान धनी र बजार अति खुसी हुने थिए । यसमा अर्गानिक जोड्नुपर्छ । म आफैं अर्गानिकको अभ्यासकर्ता भएकाले म त नेपाललाई अर्गानिक कृषि पर्यटनको देश बनाइछाड्ने थिएँ । १ नम्बर प्रदेश सबैभन्दा सजिलो छ अर्गानिक बनाउनमा । कृषिमा तीन भूगोल हिमाली, पहाडी र तराई–मधेसको चिसो र न्यानो हावापानीमा हुने बाली उत्पादनमा बढोत्तरी ल्याउन जरूरी छ ।
पर्यटनका लागि सगरमाथा, कञ्चनजंघा, हलेसी–तुवाचुङ (धर्मको त्रिवेणी संसारको दोस्रो), पाथिभरा, वराहक्षेत्र, कोसी टप्पु आदि स्थानमा करोडौं आन्तरिक र विदेशी पर्यटक रमाउने ठाउँका रूपमा विकास गर्न गुरूयोजना तयार गर्न अति जरूरी छ । करिब साढे तीन दशकअघि तयार भएको लुम्बिनी गुरूयोजनाले बिस्तारै काम गरेको देखिन्छ । म केही समय अघिमात्र पुगेर खुसी भएर फर्केको हुँ । तपाईं हालसालै जानुभएको छैन भने माथिका भूगोलको प्रमुख उपप्रमुखलाई लिएर दिनभरि बसेर अवलोकन गर्नेगरी गएर योजना बनाउन लाग्नेथें । विकासका लागि योजनामा सही गुरूयोजना अति नै महत्वपूर्ण छ । पर्यटकलाई खाने, बस्ने र रमाउने ठाउँ किसानको खेतबारीमा हुन सबैभन्दा नौलो र राम्रो हुनेछ । सबैसजो किसानलाई होटल व्यवसायमा प्रेरित गर्नेथें । उत्पादन क्षेत्रमा बाटो बाह्रै महिना पुगोस्, जहाँ पर्यटक सहजै पुगून् र किसानले उब्जाएको अर्गानिक ताजा खानेकुरा र स्वच्छ हावापानीमा ढुक्कले रमाउन पाऊन् ।

घ. भूमि नीति जोत्नेलाई जमिन भन्ने कुरा उहिलेको कुरा खुइले भइसक्यो । खेतीलाई यन्त्रीकरण नगरी उत्पादन लागत घटाउन असम्भव छ । यन्त्रीकरणका लागि जग्गाको चक्लाबन्दी नगरी सुखै छैन । धरानमा यन्त्र प्रदर्शनीको उत्घाटन तपाईं आफैंले भर्खरै गर्नुभएकोमा खुसी छु । खेती गर्नेलाई अनुदान र नगर्नेलाई कडा कर लगाउने नीति लिनेथें । किनबेचको सहजीकरण गर्नेथें । सके रिन सुविधा पनि दिनेथें । हालको जग्गा हदबन्दी घातक छ, धनी देश बनाउनलाई । हदबन्दी उत्पादन गर्न सक्नेजति दिनुपर्छ । अब अधिकतमभन्दा न्यूनतमको व्यवस्था हुनुपर्छ, खेतीको जमिनको स्वामित्व र अनुदानमा । खेती जमिनमा बस्ती आकाशमा भन्ने नीति मैले धेरै अघिदेखि प्रचार गर्दै आएको विषय हो । लागू गर्न सके कति सजिलो छ विकास ।

ङ. स्वास्थ्यमा विषालु ओखति बाँड्नेभन्दा खानै नपर्ने उपाय व्यापक थाल्ने थिएँ । प्रत्येक स्कुलमा स्वास्थ्य शिक्षा व्यावहारिक रूपमा लागू गर्ने थिएँ । स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीलाई स्कुल–स्कुल, टोलटोलमा खटाई बिरामी नहुने उपाय सिकाउन लाउनेथें ।

५. प्रदेशको नामबारे चर्चा हुनु र आफूले भनेजस्तो हुन सबै चाहन्छन्, हामीजस्तो बहुवादी समाजमा । म भए प्राथमिकताअनुसार किरात, चोमोलुङ्मा, सगरमाथा, कोसी आदि एक्लाएक्लै वा जोडेर राख्न प्रस्ताव गर्नेथें । सबैको मत वा बहुमतलाई मान्न जरूरी छ ।

६. प्रदेशको राजधानी सबैको बीचमा भइदिए त असल हुने थियो । तर, नेपाली भूगोल यो मामलामा त्यति सजिलो छैन । म भए हाल भएको कृषि अनुसन्धान केन्द्र तरहरालाई स्थापित गर्ने प्रस्ताव राख्थें । यो स्थान विराटनगर, इटहरी, धरान, इनरूवा घनाबस्ती भएको सहरबाट नजिक छ । यसमा सरकारी जमिन १०५ हेक्टर ९१६० बिघा रहेको छ । हाललाई सरकारी संरचना पनि काम चलाउन मिल्नेछ । यो स्थान बोर्डरबाट ३० किलोमिटरको दूरीमा पर्छ । यसमा संसद् भवन, मन्त्रिपरिषद् र निवासहरू पनि राम्रो गुरूयोजना बनाई निर्माण गर्न सकिनेछ । जनताको सेवाका लागि एकै स्थानमा सबै सुविधा उपलब्ध हुँदा कालान्तरमा ठूलो लाभ हुनेछ । छरिएर रहेको सरकारी सेवाकेन्द्रहरूको लागत निकालिएको छैन । निकालियो भने यो अति खर्चालु छ । हामीसँग पैसा भनेजति छैन । थोरैबाट धेरै बनाउन जुक्ति जरूरी छ । तरहरामा भएको कृषि अनुसन्धानको कामलाई केही झुम्का र केही झापाको कृषि फार्महरूमा स्थानान्तर गर्न सकिनेछ ।

७. प्रान्तलाई एउटा अन्तर्राष्ट्रियस्तरको विमानस्थल अनिवार्य चाहिन्छ । विराटनगरको विमानस्थल हाल त्यति ठूलो छैन । यसकोवरिपरि अझै जमिन किन्न सकिने देखिन्छ । कम्तीमा १०० बिघा थप किनेर विमानस्थल निर्माण गुरूयोजना बनाउन राम्रो हुनेछ । विदेशी पर्यटकका लागि यो अपरिहार्य कुरा हो ।

८. उत्तर–दक्षिण राजमार्ग मोटरबाटोको पहिलो प्राथमिकतामा पर्नुपर्छ । भारत र चीनको बजारमा यो प्रदेशको सबै जनताले सहज रूपमा व्यापार व्यवसाय गर्न पाउनुपर्छ ।

मदन राई

९. नागरिकता प्रमाणपत्र र अनेक सिफारिसको झमेला जनतालाई बोकाएर नेपाली कानुनले धेरै दुःख दिएको छ । यो झमेला हटाउने जिम्मा तपाईंहरूको हो । इलेक्ट्रोनिक आईडी अथवा विद्युतीय परिचयपत्रको तयारी गरेर जनतालाई नागरिकताका लागि पाँच दिन र अरू सिफारिसका लागि दिनहुँ धाउने झन्झटबाट मुक्त गरिदिनुस् । म भए नागरिकता घरघरमै पुर्याउने व्यवस्था गर्थें । मेसिन नभई आजको समाज चल्दैन । यातायातको मेसिन मोटरसाइकल, मोटर र ट्याक्टरविना अर्थतन्त्र उँभो लाग्दैन । अहिले ड्राइभिङ लाइसेन्स घुसविना पाउन असम्भव छ । घुस दिएन भने महिनौं होइन, वर्षाैंमा पनि पाउन असम्भव छ । चलाउन सिकाउने कम्पनीहरू थुप्रै खडा गरेर १८ वर्ष पुगेका सबै नेपालीलाई ड्राइभिङ लाइसेन्स दिने प्रबन्ध गर्नुहोस् ।

१०. नेपाल बन्ने र बनाउने नेपालीले हो । बनाउने नेपाली जनताले हो । तर, सघाउने तपाईंहरूजस्ता निर्वाचित सेवकहरूले हो । तपाईंहरू सघाउन सफल हुनुभएन भने नेपाली विकासमा अहिलेजस्तै असफल हुनेछौं । तपाईंलगायत प्रान्तीय र स्थानीय तहमा निर्वाचित सबैलाई मेरो हार्दिक शुभकामना छ । सम्मान, आसन होइन, काम खोजीखोजी नेपाल र प्रान्त विकसित बनाउने काममा लाग्नुहोस् । हामी साथमा हुनेछौं । हामीले गुनासो, उजुरी र विरोधमा उत्रन नपरोस् ।

११. स्वास्थ्य शरीर स्वास्थ्य प्रान्त अनिवार्य कुरा हो । तपाईंको चाहना, जनताको आकांक्षाको कारणले तपाईंको स्वास्थ्य बिग्रने सम्भावना धेरै रहन्छ । हामी धेरैको यस्तो भएको छ । आफ्नो स्वास्थ्यका लागि खाने पिउने कुरा, शारीरिक व्यायाम र सुत्ने समयको ख्याल राख्नुहोला । मेरो शुभकामना र आशिक पुगोस् ।

नेपाल स्वाभिमान होस् । नेपालीको जय होस् ।

प्रदेश १ सधैं एक नम्बर बनोस् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार