ओलम्पिकमा सहभागी पहिलो नेपाली गोर्खा

काडमाडौं । केही वर्षपहिले झकिझकाउ कार्यक्रमसाथ लन्डनमा ओलम्पिक सम्पन्न भएको छ । विश्वको सबैभन्दा प्रतिष्ठित खेलमा मात्र होइन, चीन र अमेरिकाबीच भएको राजनीतिक प्रतिस्पर्धा अनि नेपालको निराशाजनक प्रदर्शनको चर्चा अझै पनि सेलाएको छैन । तर, नेपालीले थाहा पाउनैपर्ने एउटा महत्वपूर्ण तथ्य भने फेरि पनि उसैगरी छायाँमा परेको तथ्य खुलेको छ । जसरी प्रथम र दोस्रो विश्वयुद्धमा ब्रिटिस सेनामा कार्यरत गोर्खा सैनिकको दारुण कथा छायाँमा परेको छ ।
हो, आफ्नो इमानदारी र बहादुरीले विश्व थर्काउने यी वीर गोर्खाको योगदानले नेपालको धेरै क्षेत्रमा अग्रणी स्थान ओगटेझैं खेल क्षेत्रमा पनि उनीहरूको योगदान अग्रणी रहेको तथ्य अहिले छायाँमा परेको छ । गोर्खा राइफल्सअन्तर्गत ब्रिटिस सेनामा रहँदा विभिन्न देशका सिपाही बन्न पुगेका यी नेपालीको कथा ओलम्पिक इतिहाससँग पनि जोडिएको भेटिएको छ । ओलम्पिकमा सहभागी हुने पहिलो नेपालीको लाइनमा पनि गोर्खा सैनिक रहेको खुलेको हो । ओलम्पिकमा नेपालले पहिलोपटक सन् १९६० मा इटालीको राजधानी रोममा सहभागिता जनाएका थिए । तर, त्यस भेला नेपालले प्रतिस्पर्धी नभई पर्यवेक्षकका रूपमा सहभागिता जनाएको थियो भने सन् १९६४ मा जापानको राजधानी टोकियोमा भएको १८औं ओलम्पिक खेलमा नेपालले पहिलोपटक प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा चारजना गोर्खा सैनिकले सहभागिता जनाएको भेटिएको छ ।

त्यसबेला गोर्खा सैनिक नामसिंह थापा, रामप्रसाद गुरुङ, ओमप्रसाद पुन र भीमबहादुर गुरुङले बक्सिङ खेलको प्रतिस्पर्धामा सहभागिता जनाएका थिए भने नेपालका भूपेन्द्रबहादुर सिलवाल र गंगाबहादुर थापाले दौड प्रतियोगितामा सहभागिता जनाएका थिए । प्रतियोगितामा सहभागिता जनाउने नामसिंह र रामप्रसादको सहयोगी टिकेन्द्र देवानका अनुसार उनीहरू सबै ब्रिगेड अफ गोर्खाजका खेलाडी थिए ।
‘नामसिंह र रामप्रसाद साहेबको सहयोगी हुनु पाएकोमा म आफूलाई एकदमै गौरवान्वित महसुस गर्छु,’ केही वर्षअघि लन्डनबाट प्रकाशित एक पत्रिकामा देवानले लेखेका छन्, ‘उहाँहरूप्रति मेरो गहिरो सम्मान छ । बक्सिङ खेलाडी यी गोर्खाहरूको प्रमुख प्रशिक्षक लिल्ली टिङ्गल थिए, जो फार वेस्ट प्रतियोगिताको च्याम्पियन थिए भने बक्सिङ अफिसरका रूपमा मेजर ज्याक किन थिए । वास्तवमा यी दुवैको मुख्य चासो र योजनामै नेपालीको सहभागिता सुनिश्चित बनेको थियो ।’
‘ओमप्रसादले अल्जेरियाका खेलाडीसँग राम्रो प्रदर्शन गर्यो । तर, अचानक ‘गम सेट’ (खेल्दा मुखमा लगाइने एक किसिमको नक्कली दाँत) मा विपक्षी खेलाडीले प्रहार गर्यो र उनको हार भयो । भीमले त्यति राम्रो प्रदर्शन गर्न सकेन । रामप्रसाद र नामसिंहले पहिलो राउन्ड पार गरेका थिए,’ खेलपछि प्रतिक्रिया दिँदै अफिस ज्याकले भनेका थिए, ‘त्यसपछि रामप्रसादलाई गहिरो चोट लाग्यो, जस कारण युरोपियन च्याम्पियन अङ्गेरियन खेलाडीसँग उनले भिड्न पाएनन् । नामसिंह अमेरिकाको जलसैनिक खेलाडीसँग पराजित भए । जसले पछि रजत पदक जिते । यी तीनैजनाले पदक विजेतासँग भिडेका थिए ।’
देवानद्वारा लिखित आलेखमा नामसिंहले खेल सकिएपछि टोकियोबाट आफ्नो प्रतिस्पर्धामा सहभागी सबै साथीसँग एउटै जहाजमा उडेको बताएका छन् । ‘हाम्रो बस्ने, खाने ठाउँ पाकिस्तानी खेलाडीहरू बसेको ठीक छेउमा थियो,’ ओलम्पिकमा सहभागी हुँदाको रोमाञ्चक क्षणबारे सम्झँदै नामसिंहले भनेका छन्, ‘त्यसबेला ओलम्पिक भिलेज निकै रमाइलो क्षेत्र थियो । त्यहाँ ओलम्पिकको परिचयपत्र देखाउनेलाई बस, रेल, पार्क, बगैंचा, स्वीमिङ, जिमलगायत सुविधा निःशुल्क उपलब्ध थियो । थुप्रै देशले खानाको स्टल पनि राखेका थिए । जहाँ सांस्कृतिक नृत्यसमेत प्रदर्शन गरिन्थ्यो । सपिङ गर्ने क्षेत्र हाम्रो हङकङको एनएएपीआईभन्दा ठूलो थियो ।’
मनोरञ्जन गर्नका लागि पैसा हुनैपर्ने जरुरी नभएको उल्लेख गर्दै उनले भनेका छन्, ‘जतिबेला हामी ओलम्पिक भिलेजबाट बाहिर निस्कन्थ्यौं, बाहिर अटोग्राफ लिनेहरूको ठूलो भीड हुन्थ्यो । अटोग्राफ नदिईकन भाग्ने चान्स नै हुँदैनथ्यो । प्रत्येकलाई एक/एक गरेर अटोग्राफ दिँदा घन्टौं लाग्थ्यो । तर, राति आठ बजे पसल बन्द हुने भएकाले हामी फर्कन्थ्यौं ।’
नामसिंहलाई उद्धृत गर्दै देवानले उल्लेख गरेअनुसार त्यसबेला पनि ओलम्पिकमा अहिलेजस्तै उद्घाटनको बेला खेलाडीले आफ्नो देशको झन्डासहित परेडमा सहभागी भएका थिए । ‘यो साँच्चि नै रोमाञ्चक क्षण थियो,’ नामसिंहले देवानलाई भनेका छन्, ‘त्यसबेला ९३ देशले सहभागिता जनाएका थिए । यो क्षण मेरा लागि अविस्मरणीय छ । यो उत्तिकै आश्चर्यजनक र रोमाञ्चक पनि थियो ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार