‘पैसा कमाउने लोभमा यात्रुको जिन्दगी धरापमा पार्नुहुँदैन’


प्रितम राईले ‘ड्राइभिङ’ गर्न थालेको २३ वर्ष भएको छ । यत्तिका वर्ष एउटै काममा लागिपर्नु भनेको सम्बन्धित कामप्रतिको लगाव हो । एउटै काममा यत्तिका वर्ष काम गर्दा सम्बन्धित काममा गहिरो ज्ञान आर्जन गर्नु त छँदै छ, सम्बन्धित व्यक्तिले गरेको कामले घर–व्यवहार चलेको छ । हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिम खोटाङनिवासी चालक राईले यही काम गरेर दुई छोरालाई बोर्डिङ स्कुल पढाइरहेका छन् । साउदी अरब जानुअघि तेस्रो आँखा डटकमका लागि विक्रम चेतनशील राईले चालक प्रितम राईसँग गरेको कुराकानीको सम्पादित अंश ।

लामो समयदेखि गाडीलाइनमा काम गर्दै हुनुहुन्छ, ठ्याक्कै कति वर्ष भयो यता लाग्नुभएको ?

गनिल्याउँदा २३ वर्ष भएछ ‘ड्राइभिङ’ गरेको ।

यही कामले गुजारा चलेको छ कि छैन ?

चलिरहेको छ । चलाएको छु । दुई छोरालाई बोर्डिङ स्कुलमै पढाएको छु । छोरीलाई पनि पढाएको थिएँ ।

त्यसो भए पेसाप्रति सन्तुष्ट हुनुहुन्छ है ?

पूर्ण सन्तुष्ट छु । आफ्नो पेसाप्रति सन्तुष्ट नहुनु भनेको कमजोरी हो । जो आफ्नो कामप्रति सन्तुष्ट हुन सक्दैन उसले तुरुन्त काम छाडिहाल्नुपर्यो नि । किन झुन्डिरहने । म आफूले गरेको काममा ‘रिल्याक्स’ गरेर काम गर्ने गर्छु ।

शृंखलाबद्धजस्तो सडक दुर्घटना भइरहेको छ । दुर्घटनाका कारण के हो ? यसको दोषी को हुन् ?

चालक भइसकेपछि आफ्नो कामप्रति सचेत हुनुपर्छ । चालकको काम यात्रुलाई गन्तव्यसम्म पुर्याउनु हो । पैसा कमाउने लोभमा यात्रुको जिन्दगी धरापमा पार्नुहुँदैन भनेर हृदयदेखि नै सोच्नुपर्छ । पैसा कमाउने लोभमा गाडीको क्षमताभन्दा बढी यात्रु कोच्नुभएन । कतिपय अवस्थामा चालकलाई दबाब दिएर गाडी चलाउन लगाइन्छ । यसो गर्न हुँदैहुँदैन ।

केही समयअघि खोटाङको साबिक दुर्छिम र बडहरे गाउँ विकास समितिको सीमाक्षेत्र गौरीभीरमा जिप दुर्घटना भयो । जिपमा १५ यात्रु रहेको समाचार आएको छ । जिपमा १५ यात्रु यात्रा गर्नु भनेको क्षमताभन्दा बढी हो । तसर्थ, सडक दुर्घटनामा सबैको त्यत्तिकै हात हुन्छ । चालक, यात्रु सबै सचेत हुनुपर्छ । गाडीमालिकले समेत चालकलाई दबाब दिएर गाडी चलाउन लगाउन हुँदैन । सडकको अवस्थामा पनि सुधारिनुपर्यो । यति कुरामा ध्यान दिएमा सडक दुर्घटनामा कमी आउँछ ।

यसमा पनि सबैभन्दा बढी जिम्मेवारी को हुन् ?

चालक, यात्रु, गाडीमालिक र सरकार सबैले आ–आफ्नो भूमिका निर्वाह गरे कसैको कमीप्रति औंला ठड्याउन पर्दैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार