‘२० हजारको सेयर हालेर १ लाख ऋण लिन चाहनेलाई निरुत्साहित गर्छौं’


बुइपा, खोटाङका इन्द्रकुमार राई सहकारी क्षेत्रमा क्रियाशील छन् । राई काठमाडौंको भीमसेनगोलामा रहेको ‘महानगर सहकारी संस्था’ कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् । तीन वर्ष दुबईमा काम गरेका उनी वैदेशिक रोजगारीक्रममा सिकेको ज्ञान, सीप र अनुभवबाट खारिएर नेपालमा आफैंले व्यवसाय सञ्चालन गरेका हुन् । केही वर्ष पत्रकारितासमेत गरेका राईले ‘राज्य’ मासिक, ‘किराती मिसन’ मासिक र ‘थुम्को’ साहित्यिक पत्रिकामा काम गरेका थिए । प्रस्तुत छ– इन्द्रकुमार राईसँग गरिएको कुराकानी :

महानगर सहकारीबारे केही बताइदिनुहोस् न ।

यस संस्थाकोे दर्ता संवत् २०५५ सालमा गरिएको हो । तर, हामी नयाँ समूहले नयाँ उद्देश्यले सञ्चालन गरेको भने धेरै भएको छैन । स्वेदश र विदेशमा काम गर्ने तीन सयजनाभन्दा बढी सेयर सदस्य रहेका छन् ।

हामी क्षणिक स्वार्थका लागि २० हजार रुपैयाँ सेयर लगानी गरेर १ लाख ऋण लिन चाहने सेयर सदस्यलाई निरुत्साहित गर्छौं । सहकारीको सिद्धान्त आत्मसात् गर्ने, दिगो विकास र स्वरोजगारमूलक कार्यक्रमका लागि सहकार्य गर्न चाहने धैर्यशील सदस्यलाई प्रोत्साहन गर्छौं ।
यो संस्था निम्न र मध्यमवर्गकै सेयर सदस्यबाट सञ्चालित छ । हामी राष्ट्रले के दिन्छ भनेर होइन, राष्ट्रलाई के दिन सकिन्छ भनेर प्रयासरत छौं । मुख्यतः विभिन्न देशमा दैनिक १६ घन्टासम्म मजदुरी गर्ने नेपाली संस्थाको सेयर सदस्य रहेका छन् । उनीहरूले विदेशमा बगाएको पसिनाको थोपाथोपा समृद्ध नेपाल निर्माण गर्न सिञ्चाइको मुहानका रूपमा महानगरलाई संरक्षित बनाउँदै आएका छन् ।

अहिलेसम्म उल्लेखनीय काम के–के गर्नुभयो ?

सहकारीको सिद्धान्त भनेकै एउटा निश्चित उद्देश्य पूरा गराउन जनमानसमा छरिएर रहेको स–साना पुँजीलाई एकीकृत गरी लगानीको माध्यमबाट सदस्यको आर्थिक, सामाजिक, शैक्षिकस्तर विकास गर्नु हो । नेपालका करिब ८० प्रतिशतले सहकारीलाई सदस्यबाट रकम जम्मा गर्ने, ऋण लगाउने र मागिखाने भाँडाका रूपमा मात्र प्रयोग गरेका छन् । नेपालमा कमै सहकारीले त्यस्ता काम गरेका छन्, जुन काम महानगरले गर्दै छ । जस्तै, निम्न आर्थिक स्थितिका सेयर सदस्यका परिवारलाई अध्ययनका लागि छात्रावृत्ति उपलब्ध गराउने, कुनै सेयर सदस्यको विदेशमा कार्यारत रहेको अवस्थामा मृत्यु भएमा करिब १ लाख रुपैयाँससम्म क्षतिपूर्ति दिने व्यवस्था गरेका छौं ।

सहकारीको भीडमा महानगर नै किन रोज्ने ?

नेपालमा हाल २७ हजार विभिन्नखाले सहकारी दर्ता छन् भने १८ हजार सहकारी सञ्चालनमा छन् । जसमध्ये करिब १२ हजार बचत तथा ऋण सहकारी सञ्चालनमा छन् । तीमध्ये करिब ३५ सय सहकारी उपत्यकाभित्रै सञ्चालित छन् ।
सहकारीको भीडमा महानगर एउटा निश्चित, स्पष्ट, नितान्त उद्देश्यसाथ सञ्चालित छ । बचत गर्ने र ऋण दिनेमा मात्रै सीमित नभएर सदस्यलाई स्वाबलम्बी बनाउने अभियानमा हामी अग्रसर छौं । एउटै सदस्यका कारण पनि सिंगो संस्था बदनाम हुन सक्छ भन्नेमा सचेत र संवेदनशील छौं ।

संस्थाको आगामी लक्ष्य के छ ?

रोजगारमूलक व्यवसाय गरी सदस्यलाई स्वरोजगार बनाउन चाँडै उद्योग सञ्चालन गर्दै छौं । यसबाट सदस्यहरू आत्मनिर्भरमात्र नबनी आर्थिक क्रान्तिको माध्यमबाट राष्ट्रकै आर्थिक उन्नतिका लागि महत्वपूर्ण योगदान पुग्ने विश्वास लिएका छौं । उत्पादनशील कम्पनीहरूको सञ्चालनमा जोड दिने र आगामी दुईण् वर्षभित्रमा अन्तर्राष्ट्रिस्तरको सुपरमार्केट सञ्चालन गर्दै छौं ।

राष्ट्रको आर्थिक समृद्धिमा सहकारीको कस्तो भूमिका रहन्छ ?

सहकारीको सिद्धान्तलाई सही ढंगले आत्मसात् गरी सञ्चालन गरिएको सहकारीबाट निश्चित रूपमा राष्ट्रको आर्थिक समृद्धिका लागि महत्वपूर्ण भूमिका पुग्छ । नेपालजस्तो भर्खर–भर्खर राजनीतिक क्रान्ति भएको मुलुकमा आर्थिक क्रान्ति गर्न सहकारीको भूमिका अझ महत्वपूर्ण रहन्छ । १८औं शताब्दीमा बेलायतको औद्योगिक क्रान्तिबाट सुरु भएको सहकारी आन्दोलन युरोपलगायतका जापान, चीन, कोरियाजस्ता राष्ट्रमा फैलियो । हाल विश्वका विकसित राष्ट्रमा सहकारी अत्यन्त व्यवस्थित ढंगमा सञ्चालित हुँदै आइराखेको छ ।

नेपालमा सहकारीको समस्या के–के छन् ?

राज्यबाट सही अनुगमन हुन सकेको छैन । त्यसो हुँदा दलाल र पुँजीपतिले सर्वसाधारणको रकम संकलन गरी आफ्नो व्यापार व्यवसायमा लगानी गर्छन् । सर्वसाधारणबाट संकलन गरिएको रकम संस्थागत हितमा खर्च नगरी व्यक्तिगत हितमा लगानी गर्ने नकारात्मक काम हुँदै आएको छ । धेरै सहकारीको अवस्था अत्यन्त नाजुक छ । सहकारीको सिद्धान्तअनुसार धेरै सहकारी चलेका छैनन् । यो सबैभन्दा गम्भीर समस्या हो ।

समाधानका लागि के गर्नुपर्छ ?

राज्यले सहकारीको गतिविधिमाथि निरन्तर निगरानी राख्नुपर्छ । नीति नियमलाई कडाइसाथ लागू गरिनुपर्छ । सहकारी सञ्चालकलाई उचित तालिम व्यवस्था गरिनुपर्छ । योग्य र सक्षम व्यक्तिलाई मात्र सहकारी सञ्चालनको अनुमति दिइनुपर्छ ।

नेपालका सहकारी उत्पादन मुलक हुन सकिरहेका छैनन् किन ?

नेपालमा सहकारी गठन भएको करिब ६० वर्षको इतिहासमा खासै उल्लेखनीय काम नभएकै हो । किनभने सहकारी क्षेत्र सीमित टाठाबाठा भनाउँदाको कब्जामा रहेको छ । तिनीहरूको सेवा–सुविधामा सहकारी दुरुप्रयोग हुँदै आएको छ । धेरै सदस्यलाई आजसम्म सहकारीको गतिविधि र मुनाफाजस्तो सामान्य कुरासमेत जानकारी हुँदैन ।

तपाईंले विदेशमा पनि नोकरी गर्नुभयो । स्वेदशमा व्यवसाय गर्न कसरी प्रेरित हुनुभयो ?

असीमित चाहनालाई सीमित स्रोत–साधनले धान्न नसकिँदोरहेछ । ६ महिना खान पुग्ने र ६ महिना साहुबाट ऋण काढेर खानुपर्ने पारिवारिक अवस्था थियो मेरो । छिमेकी र केही आफन्तले सहयोग गर्नुको साटो खुट्टा तान्ने गर्थे । त्यस्तो अवस्थामा राम्रो पढ्ने, रमाइलो गर्ने चाहना थाती राख्नुको विकल्प थिएन । काठमाडौं आइयो । त्योबेला अहिलेजस्तो प्राइभेट जागिर पाइँदैनथ्यो । बिदेसिन बाध्य भएँ । यसरी मजस्तै आफ्नै देशमा केही गर्न चाहने तर टिक्न नसक्ने अवस्थाका युवालाई सक्दो सहयोग गर्नुपर्छ भनेर व्यवसायी बनेको हुँ ।
अहिले म २ वटा सहकारीको सञ्चालक रहेको छु । चाँडै एउटा कृषि सहकारी र मेनपावर कम्पनी खोल्ने तयारी हुँदै छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार