वार्षिक १० लाख कमाउन विदेश जानै नपर्ने

शम्भु दंगाल

खोटाङका टीबी राईले संवत् २०६४ देखि सिन्धुपाल्चोक र रसुवाको सीमाक्षेत्रमा रहेको ठाडेखोलाछेउमा व्यावसायिक रूपमा रेन्बो ट्राउट माछापालन थालेका थिए । सोखका रूपमा सानो लगानीमा सुरु गरेको रेन्बो ट्राउट माछापालनबाट एकातिर उनी सफल कृषकका रूपमा स्थापित भएका छन् भने अर्कोतिर सो क्षेत्र नै अहिले पर्यटनको केन्द्रबिन्दु बन्न सफल भएका छन् । करिब पाँच हजार केजी माछा अट्ने क्षमता रहेको उनको फार्मबाट अहिले भुरा माछा पनि उत्पादन गर्न थालिएको छ ।
खोटाङको लफ्याङ गाविसमा जन्मेका राई १६ वर्षको उमेरदेखि नै विभिन्न ठेक्कापट्टा व्यवसायमा लागेका थिए । काम गर्दै जानेक्रममा उनले ठुल्ठूला ठेक्कापट्टामा सफलता पाएका थिए तर पनि उनलाई भने आफ्नो जीवन खल्लो लागिरहेको थियो । ०६१ तिर बालाजुबाट घुम्दैफिर्दै नुवाकोट पुगेका उनलाई त्यहाँ रेन्बो ट्राउट माछा पालेको देखेपछि लाग्यो– सोखकै रूपमा भए पनि किन ट्राउट नपाल्ने ? यही सोचेर उपयुक्त ठाउँ खोज्नेक्रममा उनी सिन्धुपाल्चोकको भोटेचौर गाविस र रसुवाको हैबुङ गाविसको सिमानामा पर्ने ठाडेखोला आसपासले उनको मन छोयो । र, शिवपुरी राष्ट्रिय निकुञ्जछेउमा उनले सात रोपनी जग्गा किनेर मेलम्चीबाट माछाका भुरा ल्याएर ट्राउट पालन सुरु गरे । जग्गासहित माछा पाल्ने पोखरीलगायतका संरचना निर्माण तथा व्यावसाय गर्न अहिलेसम्म साढे तीन करोड लगानी परेको उनी बताउँछन् । ट्राउट पालन सफल बन्दै गएकाले कुनै न कुनै दिन आफ्नो लगानी उठ्नेमा उनी ढुक्क छन् ।

‘ट्राउटका लागि बजारको समस्या नभए पनि काठमाडौंसम्म लैजाँदा ढुवानीमा बढी खर्च लाग्ने र धेरै ठूलो साइजको माछा कम बिक्री हुन्छ,’ उनी भन्छन्, ‘काठमाडौंमा प्रतिकेजी १५/१६ सय पर्ने ट्राउट माछा उनले फार्ममा लिन जानेलाई भने प्रतिकेजी जिउँदो एक हजार र पकाउँदा एक हजार दुई सय ५० पर्छ ।’
सुरुमा रहर र सोखका रूपमा काम सुरु गरेका राईले अहिले भने नयाँ सोचसाथ माछाको ह्याचरी विस्तारमा लगेका छन् । उनी भन्छन्, ‘अहिले भुरा ट्राउटको सर्टेज छ, त्यसलाई पूर्ति गर्न धेरै भुरा उत्पादन गरेर ट्राउट पाल्न चाहनेका लागि सहयोग पुर्याउँदै छु ।’ केही समयअघि उनले थप पाँच लाख लगानी गरेर ह्याचरी निर्माण गरेका छन् । ह्याचरीबाट उत्पादित ट्राउट माछाको भुराको मूल्य भने प्रतिगोटा पाँच रुपैयाँ राखेका छन् । अहिले उनको फार्मबाट भुरा लैजान मेलम्ची, नुवाकोट, ललितपुरदेखि पोखरासम्मका ग्राहक पुग्ने गरेका छन् ।
एकजना तालिमप्राप्त कामदारसहित अन्य चार कामदार दैनिक व्यस्त रहने उनको फार्ममा माछाका लागि दानामा मात्रै मासिक ९० हजारभन्दा माथि खर्च हुने उनी बताउँछन् । ट्राउट माछा जति महँगो हुन्छ, त्यति नै यिनीहरूको दाना पनि महँगो हुने उनी बताउँछन् । भुरा माछालाई दिने दाना प्रतिकेजी ३००, मध्यम दाललाई प्रतिकेजी २५० र ठूलो साइजकालाई १०५ रुपैयाँ प्रतिकेजी पर्छ । रेन्बो ट्राउट महँगो हुनुमा यो माछा अन्य माछाजस्तो जुनसुकै ठाउँ र वातावरणमा नहुने, पानी जम्ने पोखरीमा नहुने, दाना महँगो पर्ने एवम् अरू माछाका लागि भन्दा बढी मिहिनेत गर्नुपर्ने कारण महँगो भएको उनी बताउँछन् । अहिले उनको फार्ममा वार्षिक करिब दस लाखजति दानाका लागि खर्च हुन्छ । सबैतिरको खर्च कटाएर वार्षिक दस लाखजति फाइदा लिइरहेको उनी बताउँछन् । कृषि क्षेत्रमा लगानी गरेर पनि मनग्गे फाइदा लिन सकिन्छ भन्ने उदाहरण हुन्– टीबी राई ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार