खोटाङको स्वीट्जरल्यान्ड कदुवा

झनक कार्की

जन्मभूमिको माया कसलाई लाग्दैन ? त्यसमध्येको एक म । अनि मेरो मायाको टुक्रा कदुवा । जसलाई सम्झँदा हृदयदेखि नै भावनात्मक आँधीबेहरी चलिरहन्छ । चेक गरिदिनुस् न डाक्टर साप भन्ने हो भने मेरो मुटुको धड्कन छामेर उहाँले आराम गर्नुपर्छ भन्ने सल्लाह दिन्थे सायद । आज म मनको आँधीबेहरी र भावुकतालाई यो आलेखमार्फत तपाईंसमक्ष पेस गर्दै छु । भनिन्छ, ‘निल्नुभन्दा ओकल्न गाह्रो हुन्छ ।’ तर, यो आलेख लेखिरहँदा मलाई यो आहानभन्दा ठीक विपरीत लागिरहेको छ ।
कदुवा मेरो प्यारो जन्मभूमि । जहाँ मेरो सालनाल गाडिएको छ । त्यसैले मलाई कदुवाको असाध्यै माया लाग्छ । जहाँ मैले सम्बत् ०४३ माघ १९ मा आँखा खोलेँ । नेपाललाई एसियाको स्वीट्जरल्यान्ड भनिएजस्तै मलाई खोटाङ जिल्लाको स्वीट्जरल्यान्डजस्तै लाग्छ मेरो कदुवा । यहाँ विभिन्न जात–जाति बसोबास गर्छन् । भौलिक दृष्टिले नेपाललाई हिमाली, पहाडी र तराई प्रदेशमा विभाजन गरिएको छ । सोअनुसार कदुवा पहाडी प्रदेशमा पर्छ । खोटाङ सदरमुकाम दिक्तेलबाट पश्चिमी क्षेत्रमा पर्ने कदुवाको सुन्दरता शब्दमा व्यक्त गर्न जोकोहीलाई गाह्रो पर्ला । यहाँको प्रत्येक वनपाखा, खोलानाला, वन–जंगलमा मैले टेकेकै छु । घुमेकै छु । घाँस, गोठालो, मेला पर्म गरेको छु । मेरो शरीरमा यहाँको हावापानी छँदै छ ।
यो आलेख लेख्दै गर्दा मैले साउँ अक्षर छिचोलेको विद्यालयसमेत सम्झिरहेको छ । मालिकादेवी माध्यमिक विद्यालय नभएको भए सायदै मैले लेखपढ गर्न सक्थेँ । अनि भन्न मन लाग्छ– धन्य मालिकादेवी मावि तिमीलाई । तिम्रै देनले गर्दा आज मलाई यो देशको सचेत नागरिक झनक कार्की बनायौ । परिवारप्रति जिम्मेवार बनायौ । अनि मलाई झनक कार्की बनाउने आदरणीय अभिभावक जसले मालिका मावि स्थापना गर्नुुभयो उहाँहरूप्रति सधैँ ऋणी छु । यो आलेखमार्फत तपाईहरूलाई अभिवादन गर्छु । अनि मलाई कखरादेखि कक्षा सातसम्म पढाउनुहुने मालिकाका आदरणीय गुरुहरूलाई प्रमाण । तपाईंहरूले मलाई आजन्म गुन लगाउनुभएको छ । एक असल विद्यार्थी बनाउनुभएको छ । आजीवन अनुशासित विद्यार्थी रहिरहन पाऊँ ।
०४९ सालतिरको कुरा हो– म त्यतिबेला पाँच वर्षको हुँदो हुँ । त्यसताका हामी कदुवा बेँसी बस्थ्यौँ । हामी जहाँ बस्थ्यौँ त्यो ठाउँलाई पिप्ले भनिन्छ । पिप्लेबाट विद्यालय पुग्न लगभग ३० मिनेट लाग्थ्यो । मालिकाबाट मैले सात कक्षासम्मको अध्ययन पार लगाएँ । त्यसबेला दस कक्षासम्म पढाइ हुने विद्यालयलाई हाइस्कुल भनिन्थ्यो । मालिकादेवीमा हाइस्कुलसम्मको पढाइ हुँदैनथ्यो । तर, मलाई लाग्थ्यो– हाइस्कुल पढ्न पाए कस्तो हुन्थ्यो होला । अहिले सजिलै अनुमान गर्न सकिन्छ कि मैले र मेरा पुस्ताका विद्यार्थीले कस्तो शिक्षा हासिल गरेका रहेछौँ । म अहिले पनि बेलाबेला सम्झन्छु– मालिकादेवीमा हाइस्कुलसम्मको पढाइ भइदिएको भए मेरा पुस्ताका विद्यार्थीले बीचमै पढाइ छाड्नु पर्दैनथ्यो । पछिल्लो समय मालिकादेवीमा कक्षा दससम्मकै पढाइ हुन्छ । मालिकादेवीलाई माध्यमिक विद्यालय बनाउन ज–जसले योगदान पु¥याउनुभएको छ उहाँहरूप्रति नतमस्तक छु । मालिकादेवी माविमा दस जोड दुईको पठनपाठन सञ्चालन गर्न आवश्यक प्रक्रिया थालिएको छ । यस अभियानमा लाग्नुहुने बाहुनीडाँडा गाउँ विकास समितिका अभिभावकलाई सलाम गर्छु । तपाईंहरूको यो अभियानमा बाहुनीडाँडा गाविसबाट काठमाडौंमा बसोबास गर्नेहरूको साथ सहयोग रहने नै छ ।
मालिकादेवीमा माध्यमिक तहको पठनपाठन भइदिएको भए म पनि च्यास्मिटारसम्म पुगेर पढ्नु पर्दैनथ्यो । मैले आठदेखि दस कक्षासम्मको पढाइ च्यास्मिटार माविबाट पूरा गरेको हुँ । कदुवादेखि च्यास्मिटार मावि पुग्न कस्सेर हिँड्दा दुई घन्टा लाग्छ । स्कुल पुग्न दुई घन्टा र फर्कंदा दुई घन्टा गरी दैनिक चार–चार घन्टा समय खर्चनु भनेको चानचुने कुरा होइन । पथ्र्यो । सायद त्यही भएर हो कि मेरा पुस्ताका विद्यार्थीले बीचमै पढाइ छाडेका । तर, मलाई जस्तोसुकै परिस्थितिमा पनि त्यति टाढाको बाटोमा पर्ने विद्यालय पठाएर पढाइको महत्व सिकाउनुहने मेरा जन्मदाता बुवाआमाप्रति कम्ती खुसी छुइन । माध्यमिक तहका गुरुहरूलाई नि कहिल्यै बिर्सने छैन ।
मालिकादेवी र च्यास्मिटार माविका गुरुहरूले गर्दा नै उच्च शिक्षा हासिल गर्ने ढोका खुल्यो । त्यही भएर मैले दस जोड दुईको पढाइ सिटी उच्चमाध्यमिक विद्यालय विराटनगर मोरङबाट पार लगाएँ । सो उच्चमाविका गुरुहरूलाई पनि बिर्सेको छैन । यसैगरी, मैले सिंगापुरबाट हस्पिटालिटी एन्ड टुरिजमा स्नातक तहको अध्ययन पूरा गरेँ भने नेपाल कमर्स क्याम्पस मीनभवन काठमाडौंबाट बीबीएस गर्दै रहेको छु । मलाई यहाँसम्म ल्याइपु¥याउने पहिलो खुड्किलो मालिकादेवी मावि नै हो । मालिकादेवी तिमीले गर्दा मैले यहाँसम्मको विद्यार्थी जीवन यात्रा गर्दै रहेको छु । तिमीले गर्दा नै आज पनि म काठमाडौंमा गर्वसाथ बस्न सकेको छु । परिआएको दुःख–कष्टलाई सहजै पार लगाउन तिमीले नै सिकायौ । आपतविपतलाई सहजै पचाउने कदुवाको हावापानीले गुन लगाएको छ । मलाई ऋण लगाउने सबैसबैप्रति आभारी छु । त्यो प्रत्यक्ष अप्रत्य रूपमा ब्याजसहित तिर्नेछु । यो मेरो कर्तव्य हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार