वर्षमा एकपटक खुल्ने मन्दिर

रामप्रसाद धिताल

सामान्यतया मन्दिर वर्षका सबै दिन खुल्ने र सर्वसाधारणले पूजा गर्ने चलन रहेको हुन्छ । कुनै मन्दिरमा वार विशेष वा चाडविशेषमा श्रद्धालुको घुइँचो हुने गर्छ । तर, काठमाडौंमा दुई यस्ता मन्दिर छन्, जुन वर्षको एक दिनमात्र सर्वसाधारणका लागि खुला गरिन्छन् । काठमाडौं दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिर बडादसैंअन्तर्गतको महानवमी र रानीपोखरीस्थित यमलेश्वर (बालगोपाल) को मन्दिर तिहारको भाइटीकामा मात्र खुल्ने गर्छ ।

तलेजुको मन्दिर

शारदीय नवरात्रअन्तर्गत पर्ने बडादसंैमा शक्तिको उपासना गर्ने परम्पराअनुरूप मातृशक्ति भगवतीको आराधना गरिन्छ । भगवतीको आराधना गर्ने प्रक्रिया प्रत्येक दसैंघर र शक्तिपीठमा हुन्छ । उपत्यकामा रहेका प्रमुख शक्तिपीठमध्ये तलेजु वा तुलजा भवानीको मन्दिर पनि एक हो । तलेजु मन्दिर यसकारण पनि महत्वपूर्ण मानिन्छ कि यो मन्दिर वर्षको एक दिन अर्थात् नवरात्रको महानवमीको दिनमात्र खुल्छ । यसैकारण यस दिन यस शक्तिपीठमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्छ । अझ नेवार समुदायले त इष्टदेवीकै रूपमा तुलजा भवानीलाई पुज्ने गरेको पाइन्छ ।
तुलजा भवानीलाई मातृशक्ति भगवतीका रूपमा पूजा गर्ने परम्परा मल्लकालमै नेपालमा भित्रिएको पाइन्छ । तुलजा भवानीलाई नेपाल भित्र्याएका थिए– तत्कालीन सिम्रौनगढका राजा हरिहरसिंह देवले । कर्नाटवंशी राजाहरूले तुलजा भवानीलाई कुलदेवीकका रूपमा परम्परादेखि नै मान्दै आएका थिए । भारतीय मुसलमान शासक गयासुद्दीनले सिम्रौनगढमा आक्रमण गरेपछि हरिहरसिंहले तलेजु भवानीलाई साथै लिएर भक्तपुर आइपुगे । भक्तपुरमा विधिपूर्वक प्रतिस्थापन गरिएपछि काठमाडौं, ललितपुरलगायत अन्य राज्यमा पनि तुलजा भवानीलाई स्थापना गरियो । अहिले काठमाडांै हनुमानढोका दरबार क्षेत्रमा रहेको यो मन्दिरको स्थापना मल्ल राजा रत्न मल्लले गरेका हुन् । मल्लराजाहरूको इष्टदेवीका रूपमा पुज्न थालेपछि शाहवंशी राजाहरूले पनि तुलजालाई इष्टदेवीकै रूपमा श्रद्धा गर्न गन थालेको इतिहास छ ।
संवत् १६२० मा महेन्द्र मल्लले मन्दिरलाई भव्य रूपमा पुनर्निर्माण गराएका थिए । पछि प्रताप मल्ल पनि मन्दिरलाई जीर्णोद्धार गरे । प्रताप मल्लाई तलेजु भवानीले प्रत्यक्ष दर्शन दिन्थिन् भन्ने किंवदन्तीसमेत पाइन्छ । १९९० को महाभूकम्पमा परेर मन्दिरको माथिल्लो भाग क्षतिग्रस्त भएपछि ९६ सालमा जीर्णोद्धार गरिएको तथ्य भेटिन्छ । प्यागोडा शैलीमा निर्मित तीनतले तलेजु मन्दिर उच्चभागमा रहेकोले पश्चिमी भागमा रहेको सानो तर आकर्षक द्वारबाट छिरेर बाह्र सिँढी उक्लेपछि पुग्न सकिन्छ । सिँढीको परिसरमा ससाना देवल देखिन्छन् । मूलद्वार अगाडि मन्दिरको पहरा दिइरहेका मानिस तथा जनावरका मूर्ति छन् । मन्दिरभित्र तुलजा भवानीको आकर्षक मूर्ति छ । सर्वसाधारणका लागि वर्षको एक दिनमात्र खुल्ने भए पनि नित्य, विशेष र वार्षिक गरी तीनप्रकारको पूजा गरिन्छ ।
बडादसैंको महाष्टमीको दिन विशेष पूजासहित बलि चढाएर कालरात्रि गर्ने परम्परा छ । मनकामना पूरा हुने विश्वाससाथ टाढा टाढा देखिका भक्तजन बिहानैदेखि तुलजा भवानीको दर्शन गर्न आइपुग्छन् । काठमाडौं उपत्यकाका तीन सहरबाहेक नुवाकोट, बनेपा, दोलखा, नाला, आदि स्थानको साथै भारतको हैदरावाद र तिब्बतमा समेत तलेजु भवानीको मन्दिर रहेको पाइन्छ ।

यमलेश्वर मन्दिर

भाइटीकाको दिन दाजुभाइ नहुने वा दिदीबहिनी नहुनेहरूको गन्तव्य बन्ने गर्छ– रानीपोखरीस्थित यमलेश्वर मन्दिर । काठमाडौं उपत्यकामा सयौं वर्षदेखि यो परम्परा चलिरहेको छ । विभिन्न तीर्थबाट ल्याएको जलद्वारा रानीपोखरी बनाउन लगाएसँगै राजा प्रताप मल्लले बालगोपालेश्वरको मन्दिर पनि स्थापना गर्न लगाएको शिलालेखमा उल्लेख छ । सानो एकतले भए पनि सेतो रंगले रंग्याइएको मन्दिर अत्यन्तै आकर्षक देखिन्छ । मन्दिरको चारै कोणमा देवी, भैरव, शिव–पार्वती र कालीका स–साना मन्दिर छन् । मन्दिरको चारैपट्टि पोखरीमा खस्नेगरी बनाइएको कलात्मक ढुंगेधाराबाट पोखरीमा पानी झरिरहेको भए सुनमा सुगन्ध देखिन्थ्यो होला ।
मन्दिरभित्र प्रवेश गर्न सानो ढोकाबाट पसेपछि मूख्य देवताका रूपमा बालगोपालेश्वर महादेवको मूर्ति रहेको छ । यसैगरी चारै कोणमा क्रमशः गणेश, देवी (त्रिपुरेश्वरी), विष्णु र सूर्यका मूर्तिहरू छन् । जलेश्वर र यमलेश्वरको नामबाट पनि चिनिने मन्दिर गोरखा भूकम्पछि निर्माण ढिलाइ भइरहेको छ । त्यतिबेला मन्दिर पोखरीको मध्यभागमा रहेकाले त्यहाँ बनाइएको पुल हुँदै जानुपथ्र्यो । त्यतिबेला सुनको मोलम्बायुक्त गजुरले मन्दिरलाई अझ आकर्षक बनाएको छ ।
त्यस दिन विभिन्न उद्देश्य लिएर मानिस रानीपोखरी धाउँथे । कोही बालगोपालेश्वर वा यमलेश्वर महादेवको दर्शन गर्ने आकांक्षा लिएर पुग्थे । निधार खाली हुने इच्छुक मन्दिर परिसरमा रहेकासँग टीका लगाउने गर्थे । कोही यहाँको रमणीय दृश्य हेर्न आउँछन् । यसदिन विदेशी पर्यटकहरूको समेत लर्को लाग्छ यहाँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार