उनीहरू जान्ने, हामी भने गोज्याङ्ग्रो

एकराज चौधरी

विषयप्रवेश
कक्षा तीनमा पढ्ने बेला पहिलोपटक थारू भाषामा छापिएको किताब पढ्न पाउँदा खुसीको सीमै थिएन । किताब थियो थारू भाषाको जेठो पत्रिका गोचाली । मेरो बालमस्तिष्कलाई नेपाली खसबाहेक अन्य भाषामा पनि किताब हुन्छ भन्ने थाहै थिएन । किनकि मैले सधैँ नेपाली खस भाषामा मात्रै किताब देखेको थिएँ र त्यही नै पढ्थेँ । त्यो किताब त्यसबेलाका पढालिखा युवा मेरा भान्दाइ महेश चौधरी र उहाँका साथीहरू सगुनलाल, भगवती र लालबहादुर चौधरीले प्रकाशित गरेका हुन् ।
गोचाली पत्रिका बुवाले पढ्न थाल्दा पछाडि उभिएर हेरिराख्थेँ । बुवाले पढेर सकेपछि बल्ल मैले पढ्ने मौका पाएँ । त्यो किताब करिब २५ पटकभन्दा धेरै चोटि पढेँ हुँला । कतिपटक त अँट्वा (फुसको दुईतले घर) मै बसेर पनि पढियो । बुवा भन्नुहुन्थ्यो, ‘यो किताब लुकेर पढ्नुपर्छ । पुलिसले भेट्यो भने झ्यालखानमा हाल्छन् रे ।’ पुलिसको नामले म डरले त्राहीमाम हुन्थेँ । त्यसैले पत्रिका कपडामा बेरेर अँट्वामा राख्थँे । तर, अँट्वामा राखेको मेरो प्यारो किताबलाई मुसाले आफ्नो बच्चाको थाङ्नो पो बनाइदिने हो कि भन्ने पीर लागिरहन्थ्यो । त्यसैले समय–समयमा किताब सही सलामत छ कि छैन भनेर बाहिरैबाट छाम्ने गर्थें । पछि माटोको गारोको घर बनाएपछि मेरो किताब सुरक्षित भयो । गारोको प्वालमा राखेर माटोले सिलबन्दी गरिदिएपछि न मुसाको डर, न त पुलिसको त्रास । केही वर्षपछि हाम्रै गाउँका घोरलड्डी बगाल (घोडामा सामान बोकेर बजार जाने) ले नेपालगन्जबाट फर्कंदा माँगर, झुमरा, बरकीमार किताब ल्याए । त्यो किताब पनि महेश चौधरीले नै लेखेका रहेछन् भनेर पछि मात्रै थाहा पाएँ । नौरंगे डाँफे र मुनामदनमात्रै गुनगुनाउने मेरा ओठले बल्ल माँगर, झुमरा र बरकीमार थारू गीत गाउन पाएँ ।
रेडियो कार्यक्रममा पाइला
२०४६ मा अखिल नेपाल किसान संघ दाङ क्षेत्र नम्बर २ को क्षेत्रीय उपाध्यक्ष भएँ । बेठ बेगारीप्रथा अन्त्य र कमैया मुक्ति आन्दोलनमा लागियो । २०४८ देखि बेस संस्थामा रहेर प्रत्यक्ष रूपमा कमैया मुक्ति आन्दोलनमा होमिएँ । २०५७ साउन २ मा कमैया मुक्त भए । कमैया मुक्तिपछि मुक्त कमैया पुनस्र्थापनाका लागि बेसले रेडियो कार्यक्रम सञ्चालन गर्ने भयो । कमैया कार्यक्रम संयोजकबाट म रेडियो कार्यक्रम संयोजक भएँ । नेपालकै इतिहासमा थारू भाषामा पहिलोपटक चेतनामूलक रेडियो कार्यक्रम ख्याल हामीले नै सञ्चालन ग¥यौँ । सहकर्मी पुष्पा चौधरी र विश्वराज पछलडंग्याको अथक प्रयासले ख्याल रेडियो कार्यक्रम अति नै लोकप्रिय भयो । कम्युनिकेसन कर्नरका संस्थापक आदरणीय गुरु गोपाल गुरागाईं, मन्टेश्वरी राजभण्डारी र सोहम सुवेदीसँगको पारिवारिक वातावरणले हामी सञ्चारकर्मी बन्यौँ ।
ख्याल कार्यक्रमको अनुभव
संकटकालका बेला मध्य र सुदूरका गाउँबस्ती चहार्नु चानचुने कुरो थिएन । त्यसमा पनि जमिनदारको बर्खिलापमा बोल्नु झनै जोखिम थियो । तर, सुरक्षाकर्मीको मौखिक हप्कीदप्कीबाहेक अरू बढी भोग्नु परेन । दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर पुगेर सामग्री संकलन गरेर ल्याउने र काठमाडौँस्थित कम्युनिकेसन कर्नरमा बसेर ख्याल कार्यक्रम उत्पादन हुन्थ्यो । जुन कार्यक्रमलाई स्पुल टेपमा सारेर रेडियो नेपाल पुर्याइन्थ्यो । रेडियो नेपालले आफ्नो आन्तरिक संयन्त्रबाट क्षेत्रीय प्रसारण केन्द्र सुर्खेत पुर्याउँथ्यो र हाम्रो ख्याल कार्यक्रम रेडियो नेपालको क्षेत्रीय प्रसारण केन्द्र सुर्खेतबाट प्रसारण हुन्थ्यो ।
काठमाडौंको दुईवर्षे बसाइपछि एकल प्रयासमा मैले नेपालगन्जमा, नेपालगन्ज मिडिया सेन्टर नामक अडियो भिजुअल प्रोडक्सन हाउस खोलेँ । पाँच वर्षको दौरानमा ख्याल, हमार सैडान, लौव जुनी, जुट्याल्हा, अँख्वा, द्वन्द्वपीडित आवाज लगायत थारू भाषाको हजारभन्दा बढी कार्यक्रम उत्पादन गरियो । थारू भाषासँगै अवधी भाषाको ज्ञानय शक्ति होय र जीवनकेर जिम्मेवारी पनि उत्पादन गरियो । यी कार्यक्रम रेडियो नेपाल र नेपालगन्जका एफएमबाट प्रसारण हुन्थे । साथीहरू कृष्णराज सर्बहारी, सुशील चौधरी, श्रीराम चौधरीलगायतको प्रयासमा अग्रासन मासिक नामक पत्रिका पनि प्रकाशन सुरु गर्यौं । तर, त्यो ७ अंकमात्र प्रकाशन गर्न सकियो । अहिले सोही टिमका साथीहरू घोराहीबाट लौव अग्रासन साप्ताहिकलाई निरन्तरता दिएकोमा खुसी लागेको छ । मिडिया सेन्टर पनि राम्रो चलेको थियो । तर, नेपालगन्जमा एफएम धेरै खुलेपछि मेरो काम सकियो । म गुर्बाबा एफएम खोल्न बर्दियाको बाँसगढीतिर लागेँ ।
रेडियो गुर्बाबा एफएम स्थापना
थारू समुदायका सृष्टिकर्ता गुर्बाबा हुन् । थारू धर्मग्रन्थ गुर्बाबक् जल्मौटीको विश्लेषणात्मक अध्ययन गरेको धेरैपछि मात्रै मैले यो कुरा थाहा पाएँ । त्यसपछि २०६१ मा रेडियो बागेश्वरी एफएमबाट हमार गीत हमार संस्कृति रेडियो कार्यक्रम सञ्चालन गर्दा जय गुर्बाबाको अभिवादन मैले नै सुरु गरेको हुँ । जुन अभिवादन अहिले धेरैले गर्छन् । यही गुर्बाबाकै नामबाट एफएमको नाम राख्ने सोच बन्यो । मेरा गुरु सामुदायिक एफएमका तत्कालीन अध्यक्ष रघु मैनालीको स्कुलिङले थारू भाषामै रेडियो चलाउने र गाउँमै रेडियो राख्ने भूत सवार भएको थियो । नाम थारू, भाषा थारू अनि थारू गाउँमै रेडियो चलाउने दुस्साहस । सैद्धान्तिक तर्कका हिसाबले मेरो अवधारणा बलियो थियो । तर, सिद्धान्तलाई व्यवहारमा लागू गर्न फलामको च्युरा चपाउनुपर्ने रहेछ । पुराना सहकर्मी पुष्पा चौधरी रेडियो घोराघोरी एफएम कैलालीमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई नै स्टेसन म्यानेजर बनाउने निर्णय भयो । दुई वर्षसम्म गाउँमै घुमें । कहिले बरघरको जुट्याल्हा (भेला) कहिले गैरथारूहरूसँग बैठक त कहिले बुद्धिजीवीहरूसँग अन्तरक्रिया ।
सामुदायिक वनबाट पैसा, गाउँ–गाउँबाट अन्न संकलन गरियो । दुई वर्षमा सामुदायिक वन, क्लब र गाउँ गरेर ४७ सदस्य भए । सामुदायिक रेडियो प्रसारक संघले ट्रान्समिटर र नेफेजको सामुदायिक सहयोग केन्द्रले स्टुडियो सामग्री सहयोग गरेपछि बल्ल होश ठेगानमा आयो । गाउँका सहकारीसँग ऋण लियौँ । स्थानीय व्यापारीसँग सापटी माग्यौँ । पाँच लाख ऋण पुग्यो । अण्डा राख्ने क्यारेटलाई रंगाएर भित्तामा टाँसेर स्टुडियो बन्यो । घर–घरबाट टेबुल कुर्सी ल्याएर स्टुडियोमा राख्याँै । अनि गुन्द्री ओछ्याएर कार्यक्रम बनाउन थाल्यौँ । दुई वर्षपछि २०६५ असार १२ गते परीक्षण प्रसारण सुरु भयो ।
सञ्चालनपछिका चुनौती
सञ्चालन भइसकेपछि रेडियो चलाउन झनै गाह्रो भयो । सुरुमा नामकै बारेमा विरोध आउँथ्यो । गुर्बाबा रे ? यस्तो पनि नाम हुन्छ ? नाम फेर्नुस्, अनि मात्र सहयोग गर्छौं । थारू भाषामात्रै बोल्ने यस्तो पनि रेडियो हुन्छ ? तपार्इंलाई हामी विज्ञापन दिन्नौँ । तपार्इंको भाषा अशुद्ध छ । यस्तो रेडियो हामी सुन्दैनौँ । तपाईंको एफएममा फलानो पार्टीले ढुंगा हान्यो, चिलानो पार्टीले यस्तो भन्यो, त्यसको विरोधमा समाचार भन्नुस् । ए बाबा रे हो, बर्दियाका ५२ प्रतिशत थारू भाषी मानिस नै होइनन् र ? उनीहरूको नाम राम्रो, हाम्रोचाहिँ चाम्रो । उनीहरूको भाषा शुद्ध, हाम्रो भने अशुद्ध । उनीहरू जान्ने, हामी भने गोज्यांग्रो ।
यसरी रेडियो त सुरु भयो तर चल्नै मुस्किल । बजारबाट विज्ञापन आउँदैन । सरकारी कार्यालयले विज्ञापन दिँदैन । स्थानीय पत्रकारले त जसोतसो काम चलाइहाल्थे । तर, डेरा गरेर बसेकालाई आपत हुन्थ्यो । ६ महिना कुराएर पनि तलब खुवाइयो । दसैँ तिहार ऋण खोजेर मनाउनुपर्नेसम्मको आर्थिक समस्या झेल्नुप¥यो । समस्यामाथि समस्या थपिँदै गएपछि कर्मचारीले पेनडाउन गरे । रेडियो बन्द भयो ।
रेडियोमा नयाँ पालुवा
रेडियो दर्ता प्रक्रिया सुरु गर्दादेखि नै म अध्यक्ष थिएँ । नीति नियम बनाउने, परियोजना प्रस्ताव लेख्ने, विभिन्न निर्णय लिनुपर्ने काम हुन्थ्यो । समय–समयमा कर्मचारी कार्यकर्तासँग अन्तत्र्रिmया पनि हुन्थ्यो । तर, अध्यक्षले तलब खानुहुँदैन भनेर पूरा समय दिइँदैनथ्यो । रेडियो बन्द भएपछि पत्रकार कर्मचारीसँग पूरै समय दिन थालेँ । अवधारणा प्रतिपादन गर्नेहरू नै लागू गर्ने प्रक्रियामा समावेश भएमा त्यो राम्रो हुँदोरहेछ भन्ने सिकाइ भयो । सुरुमै हामीले भन्दै आएका थियौँ कि यो थारूकै लागि खोलिएको रेडियो हो । तर, हामीले भनेजति थारू कार्यक्रम बनाउन सकेनौँ । स्थानीय समाचारलाई प्राथमिकता दिन सकेनौं । स्थानीय निकाय र स्थानीय व्यापारीसँग समन्वय गर्न सकेनाँै । जसले गर्दा समाचार नआउने, विज्ञापन नआउने, कार्यक्रम नआउने भयो ।
अझै पनि रेडियो गुर्बाबा एफएमले आफ्नो लक्ष्यअनुसार ५० प्रतिशत थारू भाषामा कार्यक्रम पुर्याउन सकेको छैन । अहिले हप्तामा २९ कार्यक्रम छन् । जसमध्ये १३ कार्यक्रम त चेतनामूलक रेकर्डेड कार्यक्रम छन् । २०७३ नयाँ वर्षको उपलक्षमा विज्ञापनको चापले थप एक घन्टा समय थप्यौँ । यो वर्ष डेढ कट्ठा थप जग्गा पनि किन्यौँ । अब हामीसँग तीन कट्ठा जमिन छ । नयाँ ब्याट्रीसहित सोलार सिष्टम लगाइएको छ । अब रेडियोको घर बनाउने तयारी हुँदै छ ।
रेडियोका कार्यक्रम
यस अवधिमा एफएमले दैनिक सवा १० घन्टा प्रसारण गरिरहेको छ । कुल प्रसारण समयको ५६ प्रतिशत कार्यक्रम, समाचार प्रसारण हुन्छ भने ४४ प्रतिशत व्यापारिक विज्ञापन, सूचनामूलक सन्देश र गीत प्रसारण हुने गर्छन् । कार्यक्रम र समाचारमध्ये ४२ प्रतिशत समाचार, २१ प्रतिशत मनोरञ्जनात्मक कार्यक्रम, १९ प्रतिशत सूचनामूलक कार्यक्रम र १८ प्रतिशत केन्द्रीय उत्पादनका कार्यक्रम प्रसारण भइरहेका छन् ।
त्यसैगरी समाचारमा ७० प्रतिशत केन्द्रीय समाचार रहेको छ भने ३० प्रतिशत स्थानीय समाचार रहेको छ । स्थानीय समाचारमा ६७ प्रतिशत थारू भाषामा रहेको छ भने ३३ प्रतिशत नेपाली भाषामा रहेको छ । स्थानीय समाचार संकलन गर्नका लागि एफएमले स्थानीय थारू परम्परागत संगठनका अगुवालाई समाचार संकलनसम्बन्धी अभिमुखीकरण गरेको छ । स्थानीय समाचार ती अगुवाबाट टेलिफोन, चौकीदार वा आफैँ आई समाचार दिने गरेका छन् । मुख्य भाषा थारू रहेको यो एफएमले ५० प्रतिशत थारू र ५० प्रतिशत अन्य भाषामा कार्यक्रम र समाचार प्रसारण गर्ने लक्ष्य राखे पनि हाल ७८.६३ प्रतिशत नेपाली र २१.३६ प्रतिशत थारू भाषामा प्रसारण गरिरहेको छ ।
कार्यक्रमतर्फ मनोरञ्जनात्मक कार्यक्रम ५२ प्रतिशत रहेको छ भने सूचनामूलक कार्यक्रम ४८ प्रतिशत रहेको छ । चेतनामूलक कार्यक्रम थारू भाषामा ५३ प्रतिशत र नेपाली भाषामा ४७ प्रतिशत छ भने मनोरञ्जनात्मक कार्यक्रममा नेपाली भाषामा ९२ प्रतिशत छ भने थारू भाषामा जम्मा ८ प्रतिशतमात्रै रहेको छ । रेडियो कार्यक्रमलाई विषयगत रूपमा हेर्दा शिक्षासम्बन्धी केरनी नाटक र मुक्तपाइला कार्यक्रम रहेको छ ।
वन तथा वाताबरणसम्बन्धी जलवायु परिबर्तन, स्वास्थ्यसम्बन्धी जीवनका लागि स्वास्थ्य, द्वन्द्व रूपान्तरण र युवालाई लक्षित गरिएको हाम्रो सुरक्षा, हाम्रो प्रयास र सद्भाव, महिलासम्बन्धी नारी आवाज, सुशासन कायम गर्न साझेदारी, कृषकलाई सुसूचित गर्न कृषि कार्यक्रम, आयआर्जन र स्वरोजगारीका लागि श्रम र सिर्जना, बालबालिकामा सचेतना जगाउन हामी कोपिला, फुलरिया र थारू भाषा संस्कृति र इतिहासको संरक्षणका लागि बसगिट्या इतिहास कार्यक्रम रहेको छ । मनोरञ्नात्मक कार्यक्रममा लोकचौतारी, अन्ताक्षरी, फिल्मी हंगामा, साहित्यिक पाना, इन्द्रेणी, नाइ नभन्नु ल, संगीत सरगम, गजलमय रात, गुर्बाबा कलिङ, प्रतिभा अनेक, हेलो गुर्बाबा, प्रतिभाके खोजी रहेका छन् । विशेष कार्यक्रम तीज, दसैं, माघी, होली, नयाँ वर्ष, अट्वारी, अस्टिम्कीमा विशेष कार्यक्रम सञ्चालन गर्नुका साथै प्रतियोगितासमेत गरिन्छ ।
रेडियोका अन्य पक्ष
गुर्बाबा एफएम सञ्चालन गर्न गुर्बाबा सञ्चालन नियमावली २०६५ रहेको छ । नियमावलीअनुसार गुर्बाबा एफएम सञ्चालन गर्न सात सदस्यीय सञ्चालक समिति रहेको छ । दुईवर्षे पदावधि रहने समितिमा पाँच पुरुष दुई महिला रहेका छन् । जातिगत हिसाबले हेर्दा ७१.४२ प्रतिशत थारू, १४.२८ प्रतिशत क्षेत्री र १४.२८ प्रतिशत दलित रहेका छन् । त्यस्तै, गुर्बाबा एफएममा जम्मा १७ जना कर्मचारी रहेका छन् । जसमध्ये पाँचजना पूर्णकालीन र १२ जना कार्यक्रम सञ्चालक र समाचार वाचक रहेका छन् । कर्मचारीमा ५३ प्रतिशत थारू, २४ प्रतिशत ब्राह्मण, क्षेत्री, १८ प्रतिशत दलित र ९ प्रतिशत राजी समुदायका रहेका छन् । लैंगिक हिसाबमा ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला रहेका छन् ।
हामीलाई प्राप्त हुने विज्ञापनमध्ये सूचना तथा सञ्चार मन्त्रालयबाट प्राप्त हुने लोककल्याणकारी विज्ञापन, काठमाडौँबाट प्राप्त हुने विज्ञापन र स्थानीय विज्ञापन हाम्रा आम्दानीका स्रोत हुन् । यसमध्ये सरकारबाट प्राप्त हुने लोककल्याणकारी विज्ञापनले जम्मा ७ प्रतिशत र काठमाडौँबाट प्राप्त हुने व्यापारिक विज्ञापनले ७ प्रतिशत ओगटेको छ भने स्थानीय विज्ञापनले ८६ प्रतिशत ओगटेको छ ।
र, अन्त्यमा
सबैभन्दा पहिले हामी आदिवासी हौँ भन्ने कुरामा गर्व गर्नुपर्छ । हामीसँग उनीहरूभन्दा फरक भाषा छ । अरू जातिसँग नभएको ज्ञान, सीप कला, संस्कृति छ । उनीहरूले गर्न नसक्ने काम हामीले गर्न सक्छौँ । हाम्रो संस्कृतिले जैविक विविधतालाई संरक्षण गरेको छ । हाम्रो खानपान संस्कृतिले मान्छेको आयु लम्ब्याउन सक्छ । यही पक्षलाई नै हामीले सञ्चारमाध्यमको ब्रान्ड बनाएर बेच्ने हो । यसका लागि हामीले सञ्चारका विभिन्न आयामलाई प्रयोग गर्न सक्छौँ । अरू सञ्चार गृहभन्दा आफू फरक हुँ भन्ने स्थापित गर्न सकियो भने त्यसले नै सञ्चार गृहलाई टिकाउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार